ताजा अपडेट »

रूपन्देहीमा सञ्चालित किवानिज क्लबद्वारा विभिन्न कार्यक्रम

शुक्रबार, ०९ चैत्र २०८०, १० : ४५
66 Shares

तिलोत्तमा  । “संसारका बाल बालिकाको सेवा” भन्ने मन्त्रसहित रूपन्देहीमा सञ्चालित किवानिज क्लबले दुई छुट्टाछुट्टै कार्यक्रम एकै दिन सम्पन्न गरेको छ । गीर्वाण मा।वि।मा संस्कृत तर्फ अध्ययन गर्ने बटुकहरूका लागि स्टेशनरी तथा मसलन्द सामाग्री वितरण कार्यक्रम र  अमेरिका एवम् मलेसियाबाट आएका किवानिजका पदाधिकारीको स्वागत कार्यक्रम एकै दिन गरिएको हो । 

किवानिज क्लब अफ रूपन्देहीका अध्यक्ष मनोज आचार्यको अध्यक्षतामा गीर्वाण मा।वि।का बटुकहरू बस्ने सरस्वती पञ्चायतन मन्दिरमा आयोजित स्टेशनरी तथा मसलन्द वितरण कार्यक्रममा विदेशी पाहुनाहरूले अमेरिकी डलरमै नगद समेत मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए । 

किवानिज क्बलका सदस्य तथा पदाधिकारीले उठाएको रकमबाट ३० जना बटुकहरूका लागि कापीहरू, कलम, टुथपेष्ट, टुथब्रस, साबुन, चिउरा, सोयाबिन, दाल, पीठो, दालमोठ सहितका सामाग्री हस्तान्तरण थियो । सोही अवसरमा किवानिज अमेरिकाको न्यूयोर्क  डिष्ट्रिकका लेफ्टिनेण्ट गवर्नर स्याण्डी लिउ ले २ सय अमेरिकी डलर (नेपाली करीब २६ हजार रूपियाँ) तत्कालै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टोपनारायण भण्डारी र कोषाध्यक्ष धर्मागत पाठकलाई हस्तान्तरण गरेका थिए। 

क्लबका महासचिव किशोर पंगेनीको संयोजकत्व र सदस्य मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै बटुक निश्चल भट्टराईले वैदेशिक उत्पत्तिको अन्तर्राष्ट्रिय क्लब र अन्तर्राष्ट्रिय पाहुनाले वैदिक शिक्षामा गरेको लगानी उदाहरणीय भएको उल्लेख गरे । स्थानीय सामाजिक, प्रबुद्ध व्यक्तिहरूको उपस्थितिमा भएको कार्यक्रम पण्डित यज्ञमूर्ति भट्टराईको नेतृत्व तथा बटुकहरूको सामूहिक स्वस्ति वाचन गरी समुद्घाटन गरिएको क्बलका निवर्तमान अध्यक्ष अमनमान श्रेष्ठले जानकारी दिए । 

त्यसअघि, क्लबकै आयोजनामा किवानिज क्लब अफ मलेसियाका पूर्व डिष्ट्रिक्ट गवर्नर सेरेना क्वेक, अमेरिकाको न्यूयोर्क  डिष्ट्रिकका लेफ्टिनेण्ट गवर्नर स्याण्डी लिउ र मलेसियाका सामाजिक अभियन्ता तान आई चा लाई स्वागत गरिएको थियो । 

तिलोत्तमाको भलवारीमा आयोजित स्वागत कार्यक्रममा बोल्दै क्बलका पूर्व अध्यक्ष सुरज पंगेनी, दिपक भण्डारी, कोषाध्यक्ष रोमनाथ गैरे, अनुगमन संयोजक विष्णुप्रसाद भण्डारी, सदस्य रूस्तम कण्डेल लगायतले हालसम्म किवानिज क्लब अफ रूपन्देही सदस्यहरूकै योगदानबाट मात्र सञ्चालित हुँदै आएको बताए । साथै, आगामी दिनमा अन्तर्राष्ट्रिय सहकार्यका लागि उत्सुक रहेको समेत उल्लेख गरेका थिए । क्लबका अध्यक्ष मनोज आचार्यको अध्यक्षता तथा सदस्य मुक्तिनाथ गैह्रेको संयोजकत्वमा स्वागत कार्यक्रम सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।