ताजा अपडेट »

मोरङको रंगेलीमा भिषणआगलागी : २ घण्टामा मुसहर बस्ती जलेर सखाप, २४ परिवारको बिचल्ली

शनिबार, ०३ चैत्र २०८०, २२ : ०९
140 Shares

विराटनगर । मोरङको रंगेलीमा शनिवार आगलागी हुँदा २० घर जलेका छन् । २४ घर परिवारको बसोबास रहेको बस्ती २ घण्टाभित्रमा खरानी भएको प्रहरीले जनाएको छ । सबै हिसाबले पिछडिएको सतार र मुसहर समुदायको बसोबास रहेको बस्ती नै सखाप हुने गरी भीषण आगलागी भएको हो । प्रहरीका अनुसार अनुसार रङ्गेली नगरपालिका–३ बाबु सहायक टोलका जङ्गली मुर्मीको गाई ग्वालीबाट दिउँसो २ः३५ बजेतिर आगलागी सुरु भएको खुलेको छ ।

स्थानीय र दमकलको सहयोगमा ४ः३५ बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । पश्चिमबाट हावा चालेकाले आगो नियन्त्रणमा लिन समस्या भएको थियो । नियन्त्रणमा लिइसक्दा अति विपन्नको बसोबास रहेको बस्ती नै ध्वस्त भइसकेको थियो । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार पीडितले घरभित्र रहेका कुनै पनि सामान निकाल्न पाएनन् । सुन चाँदी, नगद, लत्ताकपडासहित सबै धनमाल जलेर ध्वस्त भएको उनले बताए । पीडितले शरीरमा लगाएका कपडा बाहेक केही बचाउन सकेनन् ।f9f4206e-1ab4-435d-9879-2e60a7f7841b

एसपी कार्कीले घरबाट मालसामान निकाल्न खोज्दा २९ बर्सिया तला बेटी मुर्मी जलेर सामान्य घाइते भएको जानकारी दिए । मुर्मीको रङ्गेली अस्पतालमा उपचार भइरहेको छ । आगोले जङ्गलीसहित तल्लु, भना, धारो, जुगल, मङ्गल, साइला, सन्चराम, गम्बु, शुकदेव, राम मुर्मी तथा चन्द्र, सुकल, वासुदेव, चट्टा किस्कु एवं मनोज, बुद्दराय, मराहाङ हेमराम र सुमन सतार, सुकल हस्दा, लुकु टुडू तथा बाबुलाल बेश्राको परिवारको बिचल्ली बनाइदिएको छ । पीडितको नामावली सङ्कलन इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले गरेको हो ।

प्रहरीका अनुसार जङ्गली मुर्मीको कर्कट पाताको छाना भएको र सेन्ट्रीबेरा गरिएको १ तले घर तथा गाई ग्वाली थियो । उनकै ग्वालीबाट आगलागी सुरु भयो भनिएको छ ।बस्तीमा प्राय एउटै प्रकृतिका र बाक्ला घर थिए । केही घरहरू इँटाको सामान्य गाह्रो लगाएर बनाइएका थिए । बाँस, सन्ठी र पराल मिलाएर सेन्ट्रीबेरा गरिएका घरबाट आगो समयमै फैलिएर नियन्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान छ । एसपी कार्कीले अनुसन्धानपछि कारण यकिन हुने बताए । स्थानीयका अनुसार आगलागी सुरु भएको ग्वाली माथि बिजुलीको तार लत्रिएको थियो । विद्युत् प्राधिकरणको लापरबाहीले सिङ्गो बस्ती ध्वस्त भएको गुनासो उनीहरूले गरेका छन् । पीडितका अनुसार १५ दिनअघि पनि त्यही ठाउँमा विद्युत् सर्ट भएर आगलागी भएको थियो । आगो स्थानीयले निभाएर तत्काल घटनाको जानकारी सम्बन्धित निकायलाई गराए । लत्रिएको तारलाई व्यवस्थित गर्नेतर्फ प्राधिकरणले चासो नदिएको उनीहरूको भनाइ छ । घटनापछि पीडितको बास गाई फार्ममा भएको छ । सबै थोक गुमाएका पीडितलाई तत्कालका लागि नजिकैको खाली गाई फार्ममा लगेर राखिएको हो । पीडितको व्यवस्थापन र राहतका लागि स्थानीयदेखि प्रदेश सरकारसँग समन्वय भइरहेको मोरङ प्रशासनले जनाएको छ ।

आगलागीपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राई, मन्त्रालयका सचिवसहित मोरङका सुरक्षा अधिकारीले स्थलगत निरीक्षण गरेर घटनाको सबै जानकारी लिएका छन् ।  आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मोरङको सक्रियतामा पीडितलाई खाद्यान्न, ओढ्ने, ओछ्याउने र खानेपानी वितरण गरिएको छ । तत्कालका लागि १ परिवारलाई २-२ वटा ओढ्ने र ओछ्याउने कपडा तथा १० किलो चामल एवं १ काट्न पानी उपलब्ध गराइएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । स्थानीय सरकारले पनि राहत दिएको उनको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।