ताजा अपडेट »

‘आत्मनिर्भरता र आर्थिक सवलीकरणबाट मात्रै महिला सशक्तिकरण सम्भव’

विहीबार, २४ फागुन २०८०, २१ : ०८
32 Shares

बुटवल । महिलाहरुको क्षमता अभिबृद्धि गरि आत्मनिर्भर र आर्थिक रुपले सवल बनाउन सकेमा मात्रै महिलाहरुको उचित सम्मान हुने अधिकारकर्मीहरुले व्यक्त गरेका छन् । महिला अधिकारका बारेमा धेरै कुराहरु उठ्ने गरेको भएपनि महिला सशक्तिकरण र सवलीकरणका बारेमा उचित प्रबन्ध गर्न नसक्दा महिलाका अधिकारहरु कुन्ठित हुने गरेको उनिहरुले बताएका छन् ।

११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले विहिबार सैनामैनामा आयोजना गरेको ‘महिलाहरुका लागि प्रविधिमैत्री वित्तीय पहुँच अभिबृद्धी’ कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन । महिलाहरुको क्षमता अभिवृद्धीसँगै महिलाहरुलाई उत्पादनसँग जोडेर आत्मनिर्भरताको बाटोमा अघि बढाउनु आवश्यक भएको सहभागिहरुको भनाई थियो । सैनामैना नगरपालीकाका प्रमुख फणेन्द्र शर्माले महिलाहरुलाई उत्पादन र उद्यमशिलतासँग जोडेर आर्थिक रुपले सवललिकरण गर्नसकेमा महिलाबिरुद्ध हुने सबैखाले हिंसा अन्त्य भएर जाने बताए । महिलालाई सवल बनाई आत्मनिर्णयको अधिकार दिन आवश्यक रहेको पनि नगरप्रमुख शर्माको भनाई छ ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय समितिका सल्लाहकार गोविन्द खनालले महिला हिंसाको समुल अन्त्य र महिलाको अधिकार संरक्षण गर्न आवश्यक रहेको चर्चा गरे । महिला बलियो भए मात्र समाज बलियो हुने धारणा ब्यक्त गर्दै अध्यक्ष खनालले महिलाहरुको क्षमता अभिवृद्धि गरि आत्मनिर्भर र आर्थिक रुपले सवल बनाउनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका मानव संशाधन श्रोत प्रमुख प्रभास राई, डिजिटल बैंकिङ्ग अफिसर नारायण न्यौपाने, मुर्गिया शाखाका म्यानेजर दिपक पौडेल एवम् राजिव गौतम र एनएमबी बैंकका म्यानेजर कमल ढकाल लगायतले सहजीकरण गरेका थिए । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाका ७५ जना महिलाहरुलाई सो प्रशिक्षण प्रदान गरिएको शाखा सभापति कृष्ण भट्टराईले बताए ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।