ताजा अपडेट »

पीएम कप : सुदुरपश्चिममाथि जित दर्ता गर्दै आर्मीले फाइनलको सम्भावना उच्च बनायो

सोमबार, १५ माघ २०८०, १६ : ५८
40 Shares

काठमाडौं । त्रिभुवन आर्मी क्लबले जारी प्रधानमन्त्री कप पुरुष कप क्रिकेट प्रतियोगिता अन्तर्गत सुदुरपश्चिम प्रदेश विरुद्ध जित हासिल गर्दै फाइनल पुग्ने सम्भावना उच्च बनाएको छ । टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा आर्मीले सुदुरपश्चिमलाई ९७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याएको सुदुर ४० दशमलव १ ओभरमा १६५ रनमा समेटियो । आर्मीका लागि तिव्र गतिका बलर जितेन्द्र मुखियाले ५ विकेट लिए । उनले ६ दशमलव १ ओभर बलिङ गरेर २ मेडनसहित १० रन खर्चिंए । सोमपाल कामीले २ विकेट लिए भने बसिर अहमद, शाहब आलम र कुशल मल्लले समान एक एक विकेट लिए । सुदुरका लागि किरन ठगुन्नाले ७४ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ६८ रन बनाए । अलराउण्डर शेर मल्लले २४ रन बनाउनु बाहेक अन्य कुनै ब्याटर चल्न सकेनन् । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आर्मी ४८ दशमलव ३ ओभरमा २६२ रनमा समेटियो । आर्मीका लागि कुशल मल्लले सर्वाधिक ७५ रन बनाए । उनी ६७ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै भोजराज भत्ताको बलमा आउट भएका थिए ।

८८ दशमलव ६ को अवस्थामा क्रिज पुगेका कुशलले सातौं विकेटका लागि बसिर अहमदसंग ११३ रनको साझेदारी गरेका थिए । बसिर ६३ बलमा ३६ रन बनाएर नरेन साउदको बलमा आउट भएका थिए । ओपनर इमरान शेखको इनिङ ९ रनको मात्र रहन पुग्यो । उनलाई पाचौं ओभरमा भोजराज भट्टले क्याच आउट गराएका थिए । भिम शार्की पनि २ रन मात्र बनाएर पेभेलियन फर्किए । कप्तान विनोद भण्डारीले २ रन मात्र बनाउन सके । भिम र विनोद दुवैलाई भोजराजले नै आउट गरेका थिए ।

त्यसपछि आउट हुने ओपनर सन्तोष कार्की थिए । २८ बलमा ५ चौकाको मद्दतमा ३० रन बनाएर उनी १०औ ओभरमा बिकास आग्रीको शिकार बने । विवेक यादव पनि ४ रन मात्र बनाएर नरेन साउदको बलमा बोल्ड आउट भए ।  मध्यक्रमका ब्याटर सन्दिप रजालीले ३७ रन बनाएर नरेनको बलमा आउट भए । उनले ४ चौका र १ छक्का प्रहार गरे ।     

शाहब आलमले २५ बलमा २१ रन बनाएर भोजराजकै बलमा क्याच आउट भए । सोमपाल कामी पनि ३४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३१ रन बनाएर उनकै बलमा आउट भए । सुदुरका लागि भोजराज भट्ट एक्लैले ६ विकेट लिए । उनले ९ दशमलव ३ ओभरमा १ मेडनसहित ६३ रन दिँदै ६ विकेट लिएका हुन् । यस्तै नरेन साउदले ९ ओभरमा ३६ रन दिँदै ३ विकेट लिए । अर्को एक विकेट बिकाश आग्रीले लिएका थिए ।   

आर्मी ८ खेलमा ६ जित सहित १२ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीको अन्तिम खेल बिहिवार गण्डकी प्रदेश विरुद्ध रहनेछ । सो खेलमा जित हासिल गरेमा आर्मीले पुलिस विरुद्ध फाइनल खेल्ने छ । पुलिस ७ खेलमा सतप्रतिसत नतिजासहित फाइनल प्रवेश गरिसकेको छ । सुदुरपश्चिम भने ७ खेलमा ४ जित सहित ८ अंक बटुल्दै पाचौं स्थानमा छ । सुदुरको पनि फाइनल सम्भावना कायम नै रहेको छ । तर सुदुर अन्य खेलका नतिजामा निर्भर रहने छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।