ताजा अपडेट »

साम्बाले वाफ च्याम्पियनसिपको फाइनल खेलमा सहभागी हुन नपाउने

बुधबार, १६ फागुन २०८०, १३ : ११
252 Shares

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा ले वाफ महिला च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएकी छन् । फ्रान्स क्लबमा आवद्ध रहेकी साम्बाले जोर्डनविरुद्ध बिहिवार राति हुने फाइनल खेलमा सहभागी हुन नपाउने भएकी हुन् ।

क्लबसँगको सम्झौताअनुसार खेलाडीलाई फिफा विन्डो मितिहरूमा आयोजित प्रतियोगिता र टूर्नामेंटहरूमा आफ्नो देशको प्रतिनिधित्व गर्न अनुमति दिन्छ ।
फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । तर, फेब्रुअरी २९ मा हुने फाइनल फिफा विन्डो भित्र नपर्ने हुँदा साम्बाले फाइनल खेल गुमाउने छिन् ।

नेपाल फुटबल संघ (एन्फा) ले साम्बा फाइनल खेलमा उपस्थित नहुने जानकारी गराएको छ । ‘सावित्रा जोर्डनविरुद्धको फाइनलका लागि राष्ट्रिय टोलीमा छनोटका लागि उपलब्ध नहुने स्पष्ट पार्न चाहन्छौं। यसबाट हाम्रा फ्यानहरूमा निम्त्याउन सक्ने निराशालाई हामी स्वीकार गर्छौं र सावित्राको अनुपस्थिति निःसन्देह महसुस हुनेछ भनी बुझ्छौं,’ एन्फाले सामाजिक सन्जालमा लेखेको छ।

फ्रान्सेली लिगमा ग्वेंगाम्पले मार्च २ मा निकै महत्त्वपूर्ण खेल खेल्ने र वाफको फाइनल खेलेर उक्त खेलका लागि उपलब्ध हुन नसक्ने भएपछि क्लबले सेमिफाइनल पछि नै उनको माग गरेको छ । रेलिगेसन क्षेत्रमा रहेको लिलसँगको खेल ग्वेंगाम्पको लागि निकै महत्त्वपूर्ण छ । दुई क्लबबीच ४ अंकको फरक छ र यो खेल जिते साम्बा सम्मिलित टोली रेलिगेसनबाट बच्ने लगभग पक्का हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।