ताजा अपडेट »

निर्माणाधिन सिद्धबाबा सुरुङमार्गको रिप पहिरोले भत्कायो

मंगलबार, ०९ साउन २०८०, १५ : २४
52 Shares

बुटवल । निर्माणाधिन सिद्धबाबा सुरुङमार्गको रिप मँगलबार वर्षासँगै झरेको पहिरोले पूर्णरुपमा भत्काएको छ । सुरुङमार्गको प्रस्थानविन्दु बुटवलतर्फको रिपलाई पहिरोले भत्काएको हो । यसैगरी पाल्पातर्फको रिपलाई समेत यसअघिको पहिरोले परेको छ ।

मृत्यु मार्गको रुपमा खराब नाम कमाएको बुटवल–पाल्पा सडकखण्डको शिद्धबाबामा अहिले बर्खाको समयमा समेत सुरुमार्ग निर्माणको काम भइरहेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत सुरूङमार्गमा अहिले टनेल पोर्टलको काम भइरहेको आयोजनाले जनाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा बन्ने सुरूङमार्गले सडक डाइर्भसन सकेर टर्नेल पोर्टलको काम जारी रहेको हो ।

सुरूङमार्गका इन्जिनियर युधिष्ट पन्थीले चौविसै घण्टा सुरूङमार्ग निर्माणको काम भइरहेको बताए । ‘केही ठाउँको डिजाइनमा कमेन्ट आएको छ’ इन्जिनीयर पन्थीले भने, ‘डिजाइन पूरा भएका क्षेत्रमा पर्खाल निर्माणका काम भइरहेका छ ।’ आयोजनाको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले काम गरिरहेको छ ।

आयोजनाका अनुसार १ हजार १२६ मिटर लामो सुरूङ पाल्पाको दोभानबाट शुरु भएर बुटवलको चिडिया खोला रामपिथेकस पार्कसम्म ल्याइने छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरोले बर्सेनि ठूलो दुर्घटना हुने गरेको छ । वर्षौंदेखि समस्या भएपछि अन्य कार्यभन्दा उत्तम ठानेर सरकारले सुरूङमार्गको निर्माण अघि बढाएको हो । यो परियोजनाको लागत १० अर्ब रूपैयाँ अनुमान गरिएको छ ।

स्विस सरकारको विकास सहयोगमार्फत सुरूङ मार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको थियो । सुरूङमार्ग ५ वर्षभित्र बन्ने गरी ठेक्का प्रदान गरिएको हो । ठेक्का लगाएको करिब १४ महिना पूरा भएको छ । रातिको समयमा बाटो बन्द गरेर काम भइरहेको आयोजनाले जनाएको छ ।

तस्विर : तोया लम्साल

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।