ताजा अपडेट »

छोटी भन्सार नहुँदा स्थानीयलाई सास्ती, राजस्व गुम्दै

विहीबार, १२ माघ २०७९, ११ : ०७
32 Shares


भैरहवा । द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार कार्यालय पुनः स्थापन नहुदा रुपन्देहीमा भारतबाट अवैध रुपमा आयात हुने समान बढ्दै गएको छ भने राजश्व संकलन समेत प्रभावित बनेको छ । रुपन्देहीमा रहेका ७ वटा भन्सार मध्ये १ वटा छोटी भन्सार मात्र अहिले सञ्चालनमा रहेको छ । ६ वटा छोटी भन्सारहरु अझै पनि सञ्चालनमा आउन सकेको छैन । द्धन्द्धकालमा बन्द भएका यी भन्सारहरु सञ्चालनमा नआउदा स्थानियहरुलाई मर्का परेकै छ लाखौको राजस्व समेत चुहावट भई रहेको छ ।

हाल रोहिणी गाउँपालिका वडा नम्बर २ मा रहेको तत्कालीन अमवा भन्सार कार्यालय सञ्चालन गर्नु पर्ने आवाज उदै गएको छ । यस नाकाबाट नेपाल तर्फका धकधई, खैरेनी मात्र नभई छिमेकी जिल्लाका स्थानियहरु समेत भगवानपुर बजार गर्न जाने गरेका छन । भन्सारकै अभावमा उनिहरु बेलहिया पुग्नु पर्ने बाध्यता सुनाउछन् । साविकमा भैरहवा भन्सार कार्यालय अन्र्तगत नै नवलपरासीमा रहेका ५ वटै छोटी भन्सारहरु सञ्चालनमा रहेका छन । जसमध्ये महेशपुर छोटी भन्सार कार्यालय हाल स्तरोन्नती भई मूख्य भन्सार कार्यालयमा परिणत भई सकेको छ ।

नवलपरासीमा सबै छोटी भन्सार सञ्चालन भए पनि रुपन्देहीमा लुम्बिनी छोटी भन्सार कार्यालय मात्र सञ्चालनमा रहेको छ । रोहिणी गाउपालिकामै पर्ने अर्को नाका बुची बरवा छोटी भन्सार कार्यालय पनि द्धन्द्धकालमै हटे पछि त्यहा पनि भन्सार पुर्नस्थापनाको माग उठ्दै गई रहेको छ । रुपन्देहीमा केही समय सञ्चालनमा आएको थुम्हवा पिपरहवा छोटी भन्सार पनि हाल बन्द रहेको छ । जिल्लाको बुचि बरवा, अमवा, पक्लिहवा, बेथरी, मन्झरिया, थुम्हवा पिपरहवा र लुम्बिनी छोटी भन्सार रहेको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले जानकारी गराए ।

उनले छोटी भन्सारहरु राजस्वको दृष्टिले सम्भावना नदेखिएको तथा कार्यालयमा कर्मचारीहरुका अभावको कारणले बन्द रहेको छोटी भन्सारहरु सञ्चालन गर्न नसकिएको बताए । यस बाहेक सीमामा छोटी भन्सारहरु सञ्चालनमा आउन भारतमा पनि सोही अनुसारको भन्सार कार्यालय स्थापना हुनु पर्ने बाध्यत्मक ब्यवस्था रहेको पौडेलको भनाई छ । “सुरु सुरुमा भारतबाट आउने नाकाहरुमा सहजताको लागि छोटी भन्सारहरु स्थापना गरिएका थिए ।” पौडेलले भने “अहिले भईरहेको तिव्र विकासका कारण भारतबाट आउने त्यस्तो धेरै बाटोहरु रहेको कारण छोटी भन्सारको औचित्य छैन ।” उनले छोटी भन्सार कार्यालयहरुका नाममा अहिले पनि सम्पत्ति रहेको र यी सम्पत्तिहरु क्रमशः शसस्त्र प्रहरीको बर्डर आउट पोष्ट कार्यालयहरुलाई हस्तान्तरण गरिने जानकारी दिए ।

बन्द रहेको छोटी भन्सार कार्यालयमा पुनः राख्न रोहिणी गाउँपालिकाले पटक पटक सम्बन्धीत कार्यालयमा पत्राचार गरेको थियो । पत्राचार गरेपनि सम्बन्धित निकायले वास्ता नगरेको रोहिणी गाउपालिकाका पूर्व अध्यक्ष सनोज कुमार यादवले गुनासो गरे । उनले भन्सार नहुदा स्थानियहरु मारमा परेको बताए । भन्सार नहुदा नै अमवा भन्सार रहेको सो स्थानबाट ठूलो परिमाणमा तस्करी समेत हुदै आएको उनको भनाई छ । “स्थानियहरु सरकारलाई लाग्ने राजस्व तिरेर नै माल समान नेपाल भित्रयाउन ईच्छुक छन ।” यादवले भने “भन्सारकै अभावमा बाध्यताले चोरी गर्नु परिरहेको छ ।”

२०६० सालमा बिस्थापित भएको अमवा भन्सारबाट मात्र तत्कालीन समयमा महिनाको ३ लाख बढी राजस्व उठने गरेको स्थानिय शंकर अग्रहरीको भनाई छ । भैरहवा भन्सार कार्यालय प्रमुख पौडेलले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक बर्ष २०७७/०७८ मा कार्यालयले ९९ अर्ब ६५ करोड ७६ लाख ८ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा १ खर्ब १२ अर्ब ५४ करोड ५१ लाख २४ हजार राजस्व असुल भएको थियो । यस्तै आर्थिक बर्ष ०७८/०७९ मा १ खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार राजस्व संकलनको लक्ष्य राखिएकोमा लक्ष्य भन्दा ३ प्रतिशत कम अर्थात १ खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २५ हजार मात्र राजस्व संकलन भएको थियो ।

चालु आर्थिक बर्षको पुस महिना सम्म ७३ अर्ब ५४ करोड १९ लाख ३३ हजार राजस्व असुली हुने लक्ष्य रहे पनि लक्ष्य भन्दा ४७ दशमलव २४ प्रतिशत कम अर्थात ३५ अर्ब ४४ करोड २२ लाख १२ हजार रुपैया मात्र राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले बताए । चालु आर्थिक बर्षको कुनै पनि महिनामा कार्यालयले लक्ष्य अनुसारको राजस्व असुल गर्न सकेको छैन । राजस्व असुल नहुनुको धेरै कारणहरुमा एउटा कारण बढ्दो चोरी निकासी समेत रहेको जानकारहरुको भनाई छ ।

जिल्लाका छोटी भन्सार कार्यालय निष्क्रिय रहँदा भन्सार राजश्व गुम्नुका साथै सीमामा नेपालको उपस्थिति पनि कमजोर बन्दै गएको स्थानियहरुको गुनासो छ । ती कार्यालयहरू सक्रिय नहुदा सामान लिएर आउने र जाने मानिसहरू मूल भन्सार कार्यालयहरूमा भन्सार जाँच पासका लागि जान बाध्य हुने भन्सारका अधिकारीहरु नै बताउँछन् ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा