ताजा अपडेट »

भोटको राजनीति भर्सेज समय–सापेक्ष परिवर्तन

आइतबार, २० कार्तिक २०७९, १३ : ४६
78 Shares

सामान्यतया जनताको जनताद्वारा जनताकोलागि गरिने शासन नै प्रजातन्त्र हो। तर त्यो शासनमा सत्ता संचालन र ऐन नीति नियम निर्माण कार्यमा जनता प्रत्यक्ष सहभागी हुदैनन् सम्भवनै छैन। अतःनिर्वाचनको दौरान दलिय प्रतिष्पर्धाद्वारा जनताबाट निर्वाचित भई कानून निर्माण गर्ने, सरकार गठन गर्ने थलोमा पुग्ने जनप्रतिनिधिहरूको शासन नै आजको प्रजातन्त्र हो।

आज जनताको राजनीतिक स्टाटस भोटको मालिकमा मात्र सीमित रहयो।शासनको मालिक रहेन्। निर्वाचित भएर संसद र सरकारमा पुगे पछी जनप्रतिनिधिहरू जनताको मालिक हुन्छन् र जनताले हरेक कामका लागि तिनिहरूको जीहजुर गर्नु पर्ने बाध्यात्मक अवस्था छ। यस्तो अवस्थाले आकाश छोइ सक्यो। जनता हेर्दा स्मार्ट तर, उदासीन,लाचार, लठटिएको, आँट्न नसक्ने झोले मनस्थितिको अवस्थामा छन्। निर्वाचनको बखत मतदाता निर्णायक शक्तिकारूपमा रहन्छन्।

तथापि त्यस अवस्थाको महत्व,गाम्भिर्यता, संवेदनशीलतालाई मन मस्तिष्कबाट बुझ्ने चेष्टा नगर्ने, उम्मेदवार नेताहरूको अस्वाभाविक बहुरूपी बहुरङ्गी क्षणिक आत्मीयतामा भावुक हुदै टुपीसमेत नदेखिने गरी चुर्लुम्म डुब्नु वर्षौदेखिको मतदाताहरूको कमजोरीको मूल कारण हो। मतदाताहरू नेताहरूको भावनात्मक उपयोगको जालोमा सहज फस्दै आएकाछन्। वर्तमानमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सबै व्यस्त छन्। एक थरी दल नेता उम्मेदवारहरू हरहालतमा चुनाव जीत्न भोटको राजनीति गरिरहेका छन्।कोही उम्मेदवार एउटा दलको तर्फ बाट उम्मेदवारी दर्ता गर्न जादाजादै अर्को दलको तर्फ बाट नामाङ्कन दर्ता गर्ने र एउटा दलको टिकट दिनभर खल्तीमा राखेर अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने जस्तो न्यूनतम राजनीतिक नैतिकता विहीन हरकत गर्नेहरू पनि छन्।

अर्को थरी समयसापेक्ष परिवर्तन र समृद्धिको मापदण्डमा ब्रेक्थ्रु (breakthrough)को खातिर यथार्थपरक निष्कपट ढंगमा मतदाताहरू समक्ष आग्रहसाथ प्रस्तुत भईरहेका छन्।चुनावी माहौल विगतको भन्दा फरक ढंगमा सर्वत्र तातिँदै गएको छ। तसर्थ १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताहरू बाट यस पटक फरक ढंगमा मतदान हुने जनआकलन छ। प्रतिनिधि सभा समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने गरि १ लाख ५० हजार अस्थायी मतदाताहरू थपिएका छन्।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को प्रयोजनको लागि दलहरूबाट के कस्तो घोषणापत्र जारी गरियो र नेताहरूले के कस्तो वचनबध्दता जाहेर गरे त्यसको पछी लाग्नु व्यर्थ हो।किनकी विगतमा पनि घोषणापत्र जारी गर्थे। वचनवद्धता जाहेर गर्थे। अनि हुन्थ्यो के सबैमा छर्लङ्ग छ। घोषणापत्र जारी गर्नु,वचनवद्ध हुनु एउटा परिपाटि मात्र हो। संविधानमा प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीको उल्लेख छ तापनि मङ्सिर ४,२०७९ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन दलीय प्रतिस्पर्धामा मात्र सीमित नरहने जगजाहेर छ।प्रतिनिधिसभा तर्फ ८६७ जना र प्रदेश सभा तर्फ १०९० जना स्वतन्त्र उम्मेदवारहरू चुनाव प्रतिस्पर्धामा छन्।

कतिपय स्वतन्त्र उम्मेदवारहरू दलीय पृष्ठभूमिका पनि छन्।निर्वाचन इतिहासको पाना पल्टाउदा वि.सं. २०१५ देखिन् स्वतन्त्र उम्मेदवारहरू निर्वाचन लड्दै जित्दै आएको देखिन्छ। त्यो क्रमभङ्ग भएको देखिदैन्।आगामी निर्वाचनको दौरान सम्पूर्ण मतदाताहरू एउटा चिन्तनीय सवालमा गम्भीर हुनु पर्ने अत्यावश्यक छ।आज किन अपत्यारिलो ढंगमा त्यत्तिको संख्यामा स्वतन्त्र उम्मेदवारहरू चुनावमा छन्। गत स्थानीय निर्वाचनमा विजयी केही स्वतन्त्र जनप्रतिनिधिहरू प्रति स्वतःस्फूर्त त्यत्ति ठुलो जन ताँती एवम् उल्लास किन ? वास्तवमा विकृति, विसंवादी र बिसिद्धिको शिखरमा रहेका दल र नेताहरूको बारम्बारको सत्ता रोहणको लत एवम् तिनीहरूको वंशानुगत राजनीतिक सोंच नै प्रमुख कारण हो।

आसन्न निर्वाचनको सन्दर्भमा आम मतदाताहरू एउटा अनुमान गरिरहेका छन् कि ‘निर्वाचन पश्चात् यदि ऐमाले सत्तासीन हुन्छ भने खरो राष्ट्रवाद र समृद्धि उँभो लाग्ने छ।माओवादी केन्द्र सत्तासीन हुन्छ भने कागजी राष्ट्रवाद र खुराफातसंगै अस्वाभाविक राजनीतिक चलखेल बढने छ।प्रजातन्त्रको संरक्षक,प्रजातान्त्रिक समाजवाद र लोक कल्याणकारी राज्यको पक्षधर भएतापनि गठबन्धनको अवस्थामा नेपाली कांग्रेस फेरि पनि सत्तासीन हुन्छ भने देश यथास्थितिमा रहनेछ। राप्रपा सत्तासीन हुन्छ भने असली राष्ट्रवाद जागृत हुनेछ। केही नयाँ दल र स्वतन्त्र उम्मेदवारहरू सत्तासीन हुन्छ भने समयसापेक्ष विकास र परिवर्तनमा ब्रेक्थ्रु हुनेछ ।’ अतःहामी मतदाताहरू कसलाई किन भोट हाल्ने त्यस सम्बन्धमा बुद्ध शैलीमा बुद्धि र विवेकको प्रयोग गर्दै अन्तःकरणबाट निर्णयमा पुग्नु हामी मतदाताहरूको राष्ट्रिय दायित्व हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।