ताजा अपडेट »

'गठबन्धन' होइन 'संयुक्त' सरकार

सोमबार, ०५ चैत्र २०८०, १५ : ५९
58 Shares

महेन्द्र बहादुर सिंह

हामीहरूसँग यस्तो प्रधानमन्त्री हुनुहन्छ जस्को बोली, शब्द छनोट र प्रयोग बेलगाम छ। वहाँ भन्नु हुन्छ ‘प्रतिक्रियावादीहरूले मलाई उपयोग गर्न खोजे भने म कुनैपनि बेला लात्ताले हानेर निक्लिन सक्छु ।’ आफ्नो फेवरबल नरहेको आशंकामा प्रधानमन्त्रीले गठबन्धनलाई लात हानेर हुर्याइ दिनु भयो । भत्काइ दिनु भयो । तर दोष कांग्रेसमाथि थोपर्दै छन्। निरन्तरको राजनीतिक घटनाक्रमले स्पष्ट देखाइ रहेको छ कि देउवा, ओली र दाहाल नेपालको राजनीतिमा तीन टिकट महा विकट जस्तै हो ।

एउटै नेता दाहालले एउटै पदका लागि चौध महीनामा तीन पटक संसदमा विश्वासको मत लिनु पर्ने, प्रतिपक्ष भएर पनि कांग्रेसले विश्वासको मतको पक्षमा मतदान गर्ने, कहिले कांग्रेसको त कहिले ऐमालेको बुई चढेर लगातार प्रधानमन्त्री बनेका वर्तमान प्रधानमन्त्री दाहाल कांग्रेसको बुई चढेको बखत ऐमाले विरूद्ध खनिने र ऐमालेको बुई चढेको बेला कांग्रेसमाथि खनिने । संसदमा कांग्रेसलाई थर्काउँदै प्रधानमन्त्री बडबडाइ रहेका थिए ‘डराउछ माओवादी केन्द्र भनठान्नू भाछ ? को राजनीतिक दल कति बेला कोसँग मिल्छ भन्ने कुरा हरेक राजनीतिक दल स्वतन्त्र छन्। आफ्नो हिसाबकिताब राख्नू ।’ विरालोले मुसा खेलाई रहेको हो वा विरालो मुसासँग खेलीरहेको हो ? वास्तवमा परस्पर दोषारोपण र खेलखेलाइमा अल्झिनुको साटो आत्मालोचना गर्नु सुमार्गी राजनीतिको लागि बेहतर हुनेछ।

एकाएक सत्ताबाट हटाइनु कांग्रेस विरूद्धको राजनीतिक षड्यन्त्र हो । कांग्रेस अदूरदर्शिताको परिणाम हो । कांग्रेसको रणनीतिक विफलता हो । किनकी महासमिती बैठकमा पारित खड्का र थापाको प्रस्ताव क्रमशः सत्तासहयात्री माओवादीको जनयुद्ध विरूद्ध र गठबन्धनको अन्त्य लक्षित थियो । त्यस प्रति सत्तासीन माओवादी निकै गम्भिर थियो । सत्ताबाट हटाइए पश्चात मात्र समर्थन फिर्ता लिएको कांग्रेसले राजनीतिक बेईमानी र प्रतिशोधको कुरो गरिरहेको छ ।

ऐमाले र माओवादी केन्द्र नेकपा ब्युँताउन उही पुरानो फाट्या ढोललाई सिलाई टालटुल गरि पुनः घन्काउने सुरसारमा देखिन्छन् । फेरिपनि राजनीति अस्थिरता मै रहने भयो । राजनीतिक घटनाक्रमले प्रष्ट गरेकोछ कि कम्युनिस्टहरूको जुट, फुट अनि फेरी जुटको ड्रामा कै कारण राजनीति अस्थिर बनीरहेको छ । हुन त गठबन्धनको निरन्तरता नै अस्थिर राजनीतिको प्रमुख कारण हो । किनकी गठबन्धनको राजनीति सुरू भए देखिन् राजनीति जता पनि बग्न थाल्यो । कांग्रेसलाई समायो, ऐमालेको साथ छोड्यो । कांग्रेसलाई हटायो, फेरी ऐमालेलाई समायो ।

गठबन्धनको विरोध सँगसँगै चुनौती दिँदै आएको ऐमालेसंग मिलेर संयुक्त सरकार बनाउनु नै गठबन्धन भत्किनु हो । स्वार्थपरक राजनीतिबाट प्रारम्भित गठबन्धन अन्ततः स्वार्थ कै कारण भत्काइयो । निर्वाचनदेखि सत्ता सहभागिता स्वरूपको गठबन्धनको अध्याय समाप्त भयो । अहिलेको सरकार गठबन्धन होईन् संयुक्त सरकार हो । त्यसैले अझैपनि गठबन्धन भनिरहनु सिनो बोकेर हिड्नु जस्तै हो । थप अस्थिर राजनीति निम्त्याउनु हो।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।