ताजा अपडेट »

विश्वकप खेल्न नपाउँदाको पीडा : सन्दीपको 'ब्याक टु ब्याक स्टाटस'

विहीबार, २० बैशाख २०८१, ०८ : २३
2.75K Shares

बुटवल । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा स्पिनर सन्दीप लामिछानेले आफू २०२४ को टी–२० विश्वकप क्रिकेट खेल्न नपाउँदाको पीडा सामाजिक सञ्जालमा व्यक्त गरेका छन् । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई निलम्बन गरेका कारण सन् २०१४ पछि नेपालले प्राप्त गरेको विश्वकप खेल्ने ठूलो अवसरबाट सन्दीप बन्चित भएका हुन् ।

क्यानले दोस्रो पटक खेल्न लागेको टी-२० विश्वकपका लागि बुधबार १५ सदस्यीय स्क्वाड घोषणा गरे लगतै सन्दीपले ब्याक टु ब्याट स्टाटस लेखेका हुन् । सन्दीपले बुधबार लामो समयपछि पहिलो पोस्टमा इमोजी मात्र पोस्ट गरे । पछिल्ला दुई वटा स्टाटसमा भने आफूलाई फसाइएको र सबै कुरा पर्दाफास हुने आसयसहितका शब्हरु लेखेका थिए । अन्तिम स्टाटस राति १२ बजे सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका थिए ।

दोस्रो स्टाटसमा आफू षड्यन्त्रको शिकार भएको बताएका छन् । ‘मैले लामो समय पोस्ट गर्नबाट आफूलाई टाढा राखें । म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशीर्वाद दिउन् । म सबै कुरा भगवानमा छोड्छु । सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ’, उनले लेखेका छन् ।

तेस्रो स्टाटसमा भने यस षड्यन्त्रको भूमिका खेल्नेको नाम छिट्टै सार्वजनिक गर्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्,‘म सम्बन्धित अदालतको कानून र आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु जो यस मुद्दामा संलग्न छन्।’

सन्दीप बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका छन् । जिल्लाको फैसलामाथि उनले गरेको पुनरावेदन उच्च अदालतमा विचाराधीन छ । ‘गौशाला २६’ नाबालिक नरहने ठहर गरे पनि जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।