ताजा अपडेट »

यात्रा संस्मरण : फेरि पनि चुलीडाँडा र ढोलीमारा

सोमबार, १२ चैत्र २०८०, ०८ : ३३
256 Shares

गणेश सामुदायिक वन उपभोक्ता समूह, तिनाउ, पाल्पाको वार्षिक कार्ययोजना अनुसारको दुई दिने अवलोकन भ्रमण चैत्र १० गते सम्पन्न भयो । टोलीले पाल्पा रामपुरको तालपोखरा (जो देशको १०० औं पर्यटकीय गन्तव्यमा परेको छ ।) नगर गौशाला (जहाँ करिव पाँच सय गाईपालन गरिएको छ । जसको सबै व्यवस्थापन रामपुर नगरपालिकाले गरेको छ ।)  बाघको ढाँड, राम्चे सामुदायिक वनले निर्माण गरेको भ्यू टावरबाट रामपुर उपत्यका दृश्यावलोकन गरेको थियो । त्यतिमात्र होइन टोलीले स्याङ्गजा र पाल्पाको संगममा रहेको केलाँदीघाट र नजिकै रहेको राधादामोदर मन्दिर, करिव ७५ वर्ष पुरानो सत्तल र कुटीहरु हेर्ने अवसर स्थानीय पत्रकार बन्दना पोखरेल र दोभानकी चेली  शान्ति पाण्डेयले मिलाइ दिएका थिए । 

मन्दिरको नाममा करिव डेढ सय रोपनी जग्गा विभिन्न स्थानहरुमा रहेछन् । मन्दिर परिसरमा करिव २५ जना वृद्धाहरुको बसोबास रहेको पाइयो । हवन गृह, मूलमन्दिर र विभिन्न संरचनाले यस क्षेत्रको धार्मिक विकासमा सहयोग गरेको देखियो ।

Rampur

रामपुरफाँट हेरेपछि आनन्द लाग्यो । राम्चे वनमा बनेको सीतारामको शालिकले सबैलाई आकर्षित गरिरहेको थियो । भ्यू टावरबाट सुन्दर देखिने रामपुर क्षेत्रको जति बयान गरेपनि कमै हुनेछ । राम्दी, रामपुर कोरिडोरको बाटोले रामपुरलाई अति नै सुगम बनाएको रहेछ । यहाँबाट काठमाडौं, पोखरा, नारायणघाट जानका लागि अति नै सजिलो भएको रहेछ । १० वटा वडामा विभाजित रामपुर नगरपालिका पूर्वीपाल्पाको संगम नै रहेछ ।

रामपुरको श्रीनगर होटलमा भान्सा गरेका थियौं । हाम्रो टोलीका केही साथीहरुले सोही होटलमा केहीबेर डेक लगाएर खाएको पचाए । रमाइलो गरे । खालीवनको बाटो हुँदै जब्कादी पुगियो । त्यतिबेला दिउँसोको चार बजिरहेको थियो । साँघुरा बाटा, ससाना घुम्ति अनि वनैवनको बाटोमा दुई साप्टे मोटर घुँइकी रह्यो । कहिलेकाँही बाटो देखेर मन झसङ्गै हुन्थ्यो ।

जब्कादी पुगेपछि साँघुरा बाटोमा विपरित दिशाबाट आएको मोटरको टायर बिग्रिएर, फेर्न नसकेको कारण दुई घण्टा ओहोरदोहोरमा समय बित्यो । बीरकोट पुग्न सकस भयो । साँझको ६ बजे हिडेका हामी, बीरकोट, ताहुँ,हुमिन, देवीनगर, जल्पा हुँदै ढोलीमारा पुग्दा रातिको ८ः३० बजिसकेको थियो । स्थानीइ ढोलीमारा सामुदायिक होमस्टेमा गाँस र बासको प्रबन्ध थियो । पञ्चेबाजा, माला र अवीरले भव्य स्वागत गरेका थिए गाउँलेहरुले ।

Chituwa

सुरुमा उनीहरुले खाजापानी खुवाए । एकछिन नचाएपछि फेरि खाना खुवाए । खाने साथीहरुलाई अर्निपानीको मेसो मिलाएका थिए । हाम्रो टोलीमा रहेका राजेश श्रेष्ठ, शन्ति पाण्डेय, दुर्गी काउचा, यादव अर्याल, विष्णु थापा र दुर्गा थापा उधुम नाँचे । गलामा माला भिरेर प्रवेश, लक्ष्मी, गीताहरु नाँचेर मनोरञ्जन गरे । स्थानीय पञ्चेबाजाको तालमा दोभाने टोली नाँच्दा सबै खुसी देखिन्थे । सबैलाई सुत्ने उचित प्रवन्ध मिलाए स्थानीय होमस्टे सञ्चालकहरुले । सुत्दा रातको ११ बज्दै थियो ।

शनिवार विहान स्थानीय कृषकहरुले खुर्सानी खेती, किवी खेतीका बारेमा जानकारी गराए । किवी खेती अति नै सफल भएको र स्थानीय बजारमा नै खोसाखोस भएको समेत सुनाए । गाउँलेहरुले कबुलियती वनमार्फत अम्रिसो खेती सुरु गरेको र अम्रिसो अमृत सावित भएको कबुलियती वनका उपभोक्ताहरुले बताउँदै थिए । उनीहरुले पाल्पा, निस्दीको झिरुबास, काउलेडाँडाबाट सो सम्बन्धी सिकेको समेत बताए ।

केही साथीहरुले चुलीडाँडा पर्यटकीय स्थल समेत हेरे । तुवाँलो लागेको कारण हिमाल देख्न भ्याएनन् । तराईका फाँटहरु हेर्न पाएनन् । तैपनि भ्यू टावर, बाघको शालिक, आइ लभ यु जल्पा देखेर मख्ख परे ।
विहानको ११ वजे खाना खाएर ढोलीमारालाई बिदा गरियो । ताहुँको रम्भादेवी मन्दिर घुमेपछि मोटरले टाप कस्यो । माथिल्लो जोरधारमा पकौडी, सेल, बटुक खाएर दोभानमा गीतको तालमा आउँदा साँझको ६ बजिसकेको थियो । साथीहरु त्यतै झरे । म भने बुटवलतिर आएँ ।

Ghara

दुई दिनको यात्रामा वन, वातावरण, पर्यटन, धार्मिक एवम् ऐतिहासिक स्थलहरुको अवलोकन सम्भव भयो । वनका उपभोक्ताहरुले ढोलीमाराको खेती र सांस्कृतिक कार्यक्रमको उच्च प्रशंसामात्र गरेनन् त्यहाँका दिदीबहिनी र दाइभाइको एकतालाई उच्च सम्मान समेत गरेका छन् । सबैले फेरि पनि चुलीडाँडालाई चुम्न र ढोलीमाराको होमस्टेमा खान र बस्न पुग्ने संकल्प गरेका छन् । पञ्चेबाजामा कम्मर मर्काएर नाँच्ने कुरा त छँदैछ नि । 






दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार