ताजा अपडेट »

अनलाइन माध्यममा बालबालिकाको सुरक्षा कसरी गर्ने ? के गर्ने, के नगर्ने

सोमबार, ३१ बैशाख २०८१, १६ : १५
112 Shares
सोमबार, ३१ बैशाख २०८१
112 Shares

इन्टरनेटमा बालबालिकाले कलिलै उमेरमा पहुँच पाउँदा उनीहरू गम्भीर जोखिमको नजिक पुगेको विशेषज्ञहरूले बताएका छन्। अस्ट्रेलियाको वेस्टर्न सिड्नी यूनिभर्सिटीस्थित 'यङ एन्ड रिजिलिअन्ट रिसर्च सेन्टर' र गैरसरकारी संस्था 'सेभ द चिल्ड्रन'ले हालै गरेको एक अध्ययनअनुसार नचिनेका मान्छेबाट आउने अनुपयुक्त तथा अनिच्छित आग्रहलाई विशेष गरी न्यून आय भएका परिवारका बालबालिकाले 'ब्लक' गर्ने सम्भावना वयस्कको तुलनामा ३५ प्रतिशत कम हुन्छ।

यस्तो आग्रह गर्ने मानिसहरूलाई ब्लक गर्न नसक्दा वा उनीहरूबारे सम्बन्धित निकायलाई जानकारी नदिँदा बालबालिका अनिच्छित सम्पर्कको थप जोखिममा पर्ने पनि अध्ययनको निचोड छ।

यूकेमा भर्खरै बनेको अनलाइन सुरक्षा ऐनअनुसार इन्टरनेटमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न प्राविधिक कम्पनीहरूले थप काम गर्नुपर्ने छ। तर यो कानुन सन् २०२५ पछि मात्र लागु हुने भएकाले आलोचकहरूले यसको विरोध गरेका छन्। संसारका अन्य देशमा पनि यस्ता कानुन बन्ने र लागु हुने चरणमा छन्।  त्यसो भए बालबालिकाको अनलाइन सुरक्षा सुनिश्चित गर्न तपाईँ के गर्न सक्नुहुन्छ? अनि सरकार तथा कम्पनीहरूले कसरी थप सुरक्षा दिलाउन सक्छन्?

बालबालिका कति अनलाइन बस्छन्, जोखिम केके हुन्?

संयुक्त राष्ट्रसङ्घका अनुसार संसारभरमा औसतमा हरेक आधा सेकेन्डमा एक जना बालबालिका पहिलो पटक अनलाइन आइरहेका छन्। अर्थात् बालबालिकाले इन्टरनेटमा बिताउने समय अभूतपूर्व रूपमा बढ्दो छ। सन् २०२३ मा संसारभरका १५ देखि २४ वर्षका युवाहरूमध्ये ७९ प्रतिशत अनलाइन रहेको अध्ययनमा पाइएको छ। अन्य उमेर समूहमा यो अनुपात ६५ प्रतिश मात्र थियो।

"बालबालिकाहरू अनलाइन माध्यममा हुर्कँदै छन् र निरन्तर परिवर्तनशील डिजिटल ल्यान्डस्केपमा सुरक्षित रहनका लागि उनीहरूलाई सहयोग चाहिन्छ," सिड्नीस्थित यङ एन्ड रिजिलिअन्ट रिसर्च सेन्टरकी सहनिर्देशक अमान्डा थर्ड भन्छिन्। राष्ट्रसङ्घीय बालकोष यूनिसेफले गरेको एक अध्ययनअनुसार ३० देशका एक तिहाइभन्दा बढी बालबालिका 'साइबरबुलिइङ'बाट पीडित छन्। यसका कारण हरेक पाँचमध्ये एक बालबालिकाले विद्यालय छाड्ने गरेका छन्।

Odua_Images___Canva_Pro_girl_using_smartphone

बालबालिका अनलाइन बस्दा घृणाजन्य अभिव्यक्ति र हिंसात्मक सामग्रीमा पहुँच तथा अतिवादी समूहले भर्ती गर्ने जोखिमको चिन्ता पनि विद्यमान छ। साथै डिजिटल प्ल्याटफर्ममा हुने गलत सूचना र अफवाहले पनि बालबालिकालाई नराम्रो असर पार्न सक्छ। तर "सबैभन्दा चिन्ताजनक कुरा भनेको अनलाइन यौन शोषण तथा दुर्व्यवहारको जोखिम हो," यूनिसेफले भनेको छ।

यूनिसेफका अनुसार यसअघि कहिल्यै पनि बालयौन दुर्व्यवहार गर्ने व्यक्तिलाई आफ्ना सम्भाव्य पीडितसँग सम्पर्क गर्न, उनीहरूसँग तस्बिर आदानप्रदान गर्न र अरूलाई पनि दुर्व्यवहार गर्न उत्तेजित बनाउन यति सहज भएको थिएन। "पच्चीस देशका झन्डै ८० प्रतिशत बालबालिकाले आफू अनलाइन बस्दा यौन दुर्व्यवहार तथा शोषणको खतरा महसुस गरेको बताएका छन्।"

अभिभावकले नियन्त्रण गर्न सक्ने प्रविधि केके छन्?

इन्टरनेट चलाउने कम्प्यूटर र मोबाइल फोनजस्ता उपकरणमा बालबालिकाका लागि उपयुक्त नहुन सक्ने सामग्रीलाई ब्लक वा 'फिल्टर' गर्ने प्रविधि 'प्यारेन्टल कन्ट्रोल' राखिएको हुन्छ। तर अभिभावकले त्यसको व्यापक प्रयोग गर्न नसकेको विभिन्न अध्ययनमा पाइएको छ।

सन् २०१९ को 'ग्लोबल किड्स अनलाइन' सर्वेक्षणअनुसार नौदेखि १७ वर्ष उमेर समूहका बालबालिकाका आमाबुवा यस्ता प्राविधिक सुविधाभन्दा पनि मध्यस्थता गरेर तथा नियम बनाएर बालबालिकाको अनलाइन पहुँचलाई नियमन गर्न रुचाउँछन्। तर यसमा पनि सांस्कृतिक विविधता छ। सम्पन्न युरोपेली तथा दक्षिण अमेरिकी देशहरूमा मध्यस्थता रोजाइमा छ भने अफ्रिका र एशियामा नियममा आधारित मध्यस्थता।

Internet-Safety

तर बालबालिकाकै फोन तथा अन्य उपकरणमा रहेको 'प्यारेन्टल कन्ट्रोल' सुविधा भने सर्वेक्षणमा सहभागी तीन प्रतिशतभन्दा कम अभिभावकले मात्र प्रयोग गरेको पाइयो।केका ठूला इन्टरनेट कम्पनीहरूले अनलाइन सुरक्षाका लागि काम गर्न खोलेको संस्था 'इन्टरनेट म्याटर्स'ले उपलब्ध 'प्यारेन्टल कन्ट्रोल' सुविधा र तिनको प्रयोग कसरी गर्ने भनेर निर्देशिका बनाएको छ। उदाहरणका लागि, आफ्ना छोराछोरीले यूट्यूबमा अनुपयुक्त सामग्री हेर्ने सम्भावना कम गर्न चाहने अभिभावकले यूट्यूबको 'किड्स' संस्करण छनोट गर्नुपर्छ।

टिकटकसँगै यूट्यूब बालबालिकाले धेरै हेर्ने अनलाइन माध्यममा पर्छ। यूट्यूको मूल साइट नै चलाउने ठूला बालबालिकाका लागि पनि अभिभावकले 'सूपर्भाइज्ड अकाउन्ट' बनाइदिन सक्छन्। त्यसो गर्दा बालबालिकाले हेर्ने साइटको अभिभावकले जाँच गर्न सक्छन्।

फेसबुक मेसिन्जरमा यस्तो 'सुपरिवेक्षण'का लागि 'फ्यामली सेन्टर' भन्ने सुविधा हुन्छ। तर यो सबैतिर उपलब्ध भइसकेको छैन। टिकटकले पनि एउटा 'फ्यामली पेअरिङ टूल' विकास गरेको छ। यसमार्फत् अभिभावकले किशोरावस्थामा रहेका आफ्ना सन्तानको खाता 'प्राइभट' राख्ने कि नराख्ने भनेर रोज्न सक्छन्। इन्स्टाग्र्यामको 'प्यारेन्टल कन्ट्रोल' सुविधामा दैनिक समय सीमा तथा नियमित ब्रेकको व्यवस्था छ। साथै आफ्ना सन्तानले 'रिपोर्ट' गरेका खाताहरूको सूची बनाएर राख्न सकिन्छ।

मोबाइल फोनमा पनि त्यस्तो सुविधा छ?

'प्यारेन्टल कन्ट्रोल'का लागि एन्ड्रोइड तथा एपल फोन तथा ट्याब्लेट प्रयोगकर्ताले विभिन्न एप तथा सिस्टम प्रयोग गर्न सक्छन्। यस्ता एप तथा सिस्टमले छनोट गरिएका निश्चित एपमा पहुँच पूर्ण रोकिदिन वा सीमित गरिदिन सक्छन्, यौनजन्य सामग्री रोकिदिन सक्छन् र बालबालिकालाई कुनै वस्तु वा सेवा किन्नबाट पनि रोक्न सक्छन्।

साथै तिनले बालबालिकाले कसरी फोन प्रयोग गरिरहेका छन् अनुगमन पनि गरिदिन सक्छन्। यस्तो सुविधालाई एपलले 'स्क्रीन टाइम' र गूगलले 'फ्यामली लिङ्क' नाम दिएका छन्। तेस्रो पक्षले निर्माण गरेका अन्य धेरै एपहरू तपाईँको फोनमा उपलब्ध हुन सक्छन्।

नेट्फ्लिक्सजस्ता स्ट्रीमिङ प्ल्याटफर्ममा पनि सामग्री छनोट गर्न मिल्ने गरी 'प्यारेन्टल कन्ट्रोल' सुविधा छ। साथै अनलाइन गेम खेल्ने बालबालिकाले उमेर सुहाउँदो गेममा मात्र पहुँच पाऊन् भनेर गेम कन्सोलमै त्यस्तो सेटिङ गर्ने सुविधा पनि हुन्छ। अहिले धेरै देशहरूमा टेलिभिजन सेटमा समेत यस्तो सुविधा उपलब्ध छ।

अनलाइन सुरक्षाबारे बालबालिकासँग कसरी कुरा गर्ने?

प्यारेन्टल कन्ट्रोल'सँगै बालबालिकासँग अनलाइन सुरक्षाबारे कुरा गर्नु र उनीहरू अनलाइन बसेर के गर्छन् भन्ने विषयमा चासो राख्नु पनि महत्त्वपूर्ण हुने यूकेस्थित बाल च्यारिटी एनएसपीसीसीको भनाइ छ। यस संस्थाले अनलाइन सुरक्षाबारे बालबालिकासँगको कुराकानीलाई परिवारको दैनिकीकै एक अङ्ग बनाउन सुझाव दिएको छ

Leadimage_5march

जसरी अभिभावकले बालबालिकाले विद्यालयमा के भयो भनेर कुरा गर्छन्, उनीहरूको अनलाइन जीवनबारे कुरा गर्ने हो भने बालबालिकालाई आफ्ना कुरा राख्न सजिलो हुने बताइन्छ। "तर बच्चालाई 'तिमीले यो हेर्न पाउँदैनौ' भनेर भन्नु चाहिँ सबैभन्दा खराब काम हुन सक्छ," यूकेको सरी यूनिभर्सिटीका प्राध्यापक एलन वुड्वार्ड भन्छन्। "(त्यसो भन्नुभयो भने) उनीहरूले चोरबाटो भेटिहाल्छन्, भीपीएन चलाएर हुन्छ कि अरू कसैको नाममा साइन अन गरेर।"

प्राविधिक कम्पनीहरू केके गर्दै छन्?

इन्टरनेट प्रयोगकर्ताको सुरक्षा र गोपनीयताका सवालमा विश्वका ठूला सूचना प्रविधि कम्पनीमाथिको दबाव बढ्दो छ। संसारभरका अभिभावक तथा अभियानकर्मीहरूले बालबालिका तथा साना उमेरका प्रयोगकर्तालाई सुरक्षित अनलाइन प्ल्याटफर्म निर्माण गर्न वा विद्यमान प्ल्याटफर्ममा हुन सक्ने अवाञ्छित घटनाको जिम्मेवारी लिन उनीहरूलाई दबाव दिएका छन्।

गत ज्यानुअरी महिनामा अमेरिकी कङ्ग्रेसको एक बैठकमा फेसबुक सञ्चालक मेटा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जकर्बर्गले अनलाइन दुर्व्यवहारमा परेका बालबालिकाका अभिभावकसँग सार्वजनिक रूपमा माफी मागेका थिए। "तपाईँहरूमाथि जेजे भयो सबैका लागि माफी चाहन्छु," उनले भने। "तपाईँहरूको परिवारले जे भोग्यो, कसैलाई पनि त्यस्तो हुनुहुन्न।"

Untitled-1

"बालबालिकामा अनलाइन माध्यमबाट भएको यौन दुर्व्यवहारको जाँच तथा छानबिनका लागि" भएको उक्त सुनुवाइमा मेटा, स्न्याप, डिस्कर्ड, एक्स र टिकटकका प्रमुखहरूलाई बोलाइएको थियो। तर जकर्बर्ग र टिकटकका प्रमुख कार्यकारी शो चूले धेरैको ध्यान खिचे।

मेटाका एक वरिष्ठ अधिकारीले कङ्ग्रेसलाई इन्स्टाग्र्याममा किशोरकिशोरीलाई यौन दुर्व्यवहारबाट बचाउनका लागि पर्याप्त व्यवस्था नभएको बताएपछि उक्त सुनुवाइ भएको थियो। तर छलफलका क्रममा मेटा र स्न्याप्च्याटका प्रतिनिधिहरूले १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका लागि थप सुरक्षा व्यवस्था भइसकेको र अभिभावकका लागि पनि नियन्त्रणका विभिन्न साधन उपलब्ध गराइएको दाबी गरे।

"युवाहरूमाझ लोकप्रिय प्ल्याटफर्म भएका कारण सुरक्षित र सकारात्मक अनुभव गर्ने वातावरण बनाउन हामीमाथि थप दायित्व छ भन्ने हामीलाई थाहा छ," स्न्याप्च्याटका एक प्रतिनिधिले भने। साथै मेटाका प्रतिनिधिले थपे, "हिंसा भड्काउने अनि आत्महत्या, आफैँलाई घाइते बनाउने काम वा जथाभाबी खाने बानीलाई प्रोत्साहन गर्ने सामग्रीले हाम्रो नियम उल्लङ्घन गर्छन्। तिनलाई भेट्नेबित्तिकै हामी हटाउँछौँ।"

तर विभिन्न पर्यवेक्षक निकाय तथा बीबीसीलगायतका सञ्चार माध्यमले बताएअनुसार कतिपय अवस्थामा कम्पनीहरूलाई सूचित गरे पनि अनुपयुक्त वा दुर्व्यवहार गर्ने खालका सामग्री नहटाएको पाइएको छ। # बीबीसी नेपाली

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।