ताजा अपडेट »

रुपन्देहीमा ५१ जनाले मात्र बुझाए निर्वाचन खर्च विवरण, स्पष्टिकरण दिनेको लाईन

विहीबार, ०९ भदौ २०७९, १२ : ४७
20 Shares

भैरहवा । निर्वाचनलाई पारदर्शी एवम कम खर्चिलो बनाउन निर्वाचन आयोगले स्थानिय तह सदस्य निर्वाचनमा खर्चको सीमा तोकेको थियो । फरक फरक स्थानिय तह सदस्यहरुको लागी फरक फरक रकम तोकिए पनि रुपन्देहीका अधिकांश उम्मेदवारहरुले निर्धारित समयमा निर्वाचन आयोगमा खर्चको विवरण नै पेश गरेका छैनन् ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिन भित्र निर्वाचन खर्चको विवरण आयोगमा पेश गर्नु प्रावधान रहेको छ । रुपन्देहीमा सबै भन्दा अन्तिममा तिलोत्तमा नगरपालिकाको जेठ १३ गते घोषणा भएको थियो । सोही मितिलाई आधार मान्दा पनि असार १३ गते भित्र जिल्लाका सबै उम्मेदवारहरुले निर्वाचन खर्च विवरण पेश गर्नु पर्ने हो । तर रुपन्देहीमा रहेका ५ हजार ११ जना उम्मेदवारहरु मध्ये ५१ जनाले मात्र निर्धारित समयमा खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालयमा प्रमुख अयोध्या प्रसाद भण्डारीले जानकारी दिए । निर्धारित समय पछि कुल ६ सय ४९ जनाले खर्च फाँटवारी बुझाए पनि त्यसको कुनै औचित्य नरहेको भण्डारीको भनाई छ ।

रुपन्देहीका प्राय उम्मेदवारहरुले आफुले निर्वाचन आयोगको यो कानूनी ब्यवस्थाबारे जानकारी नरहेको प्रतिक्रिया दिएका छन् । जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुख पदमा उम्मेदवार भई बिजयी समेत भएका उमाकान्त चापाईले उक्त ब्यवस्थाकारे आफुलाई थाहा नभएको प्रतिक्रिया दिए । “जिल्ला समन्वय समितिका उम्मेदवारहरुले पनि खर्च विवरण पेश गर्नु पर्छ भनेर थाहै भएन ।” चापाईले भने “निर्वाचन कार्यालयले पनि यस बारे कुनै सूचना जारी गरेन ।”रुपन्देही मात्र हैन धेरै स्थानिय तहहरुमा निर्वाचन खर्च विवरण पेश नगरेका उम्मेदवारहरुलाई आयोगले स्पष्टिकरण सोधेको छ ।

भदौ १ गते देखी ७ गते सम्म स्पष्टिकरण बुझाउने म्याद रहेको थियो । भदौ १ गते सूचना प्रकाशित गर्दै आयोगले उम्मेदवारी दिई तोकिएको समयवधि भित्र निर्वाचन खर्चको विवरण नबुझाउने र तोकिएको अवधि समाप्त भए पछि निर्वाचन खर्चको विवरण बुझाउने उम्मेदवारलाई तोकिएको समय अवधि भित्र के कति कारणले खर्च नबुझाएको हो ? र खर्च विवरण नबुझाएकोमा किन कार्यवाही गर्नु नपर्ने हो ? त्यसको स्पष्टिकरण पेश गर्न निर्देशन दिएको थियो ।

भदौ ७ गते सम्म स्पष्टिकरण बुझाउने म्याद भएकोले जिल्ला निर्वाचन कार्यालयमा स्पष्टिकरण बुझाउनेको घुईचो लागेको थियो । स्पष्टिकरण दिने अधिकांश उम्मेदवारहरुले बिरामी भएको कारण खर्च विवरण बुझाउन नपाएको कारण खुलाएका छन् । निर्वाचना कार्यालयमा स्पष्टिकरण बुझाउदै गरेका रोहिणी गाउँपालिका अध्यक्ष बिद्या प्रसाद यादवले बिरामी भई भारतमा उपचार गराई रहेको हुदा समयर्म खर्च विवरण बुझाउन नसकेको बताए ।

निर्वाचन कार्यालय प्रमुख अयोध्या प्रसाद भण्डारीका अनुसार म्याद भित्र खर्च विवरण नबुझाउनेलाई निर्वाचन आयोगले सूचना प्रकाशित गरि कार्वाही गर्न सक्ने बताए । स्पष्टिकण गर्ने अन्तिम दिन ७ सय जनाको स्पष्टिकरण दर्ता भएको र स्पष्टिकरणको चाङ रहेको कारण यो संख्या बढ्ने निर्वाचन कार्यालयले जनाएको छ ।१ वटा उपमहानगर पालिका, ५ वटा नगरपालिका र १० वटा गाउँपालिका गरि १६ स्थानिय तह रहेको रुपन्देहीमा पराजित र विजयी समेत गरि ५ हजार ११ जनाले उम्मदवारी दिएका थिए । खर्च विवरण विजयीलाई मात्र नभए पराजय भएका उम्मेदवारहरुले पनि बुझाउनु पर्ने ब्यवस्था रहेको छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा