ताजा अपडेट »

तानिरहेको मन

सोमबार, १४ फागुन २०८०, १४ : ४६
238 Shares

तानसेन सुन्दर सहर हो । यसको सुन्दरता बयान नगर्ने सायदै होलान् । १४ वडाको एकीकृत स्वरुप नै तानसेन नगरपालिका हो । २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको नेतृत्वमा सरकार बन्यो । यतिबेला गठबन्धनको नेतृत्वमा सरकार बनेको छ । काङग्रेसको नगर प्रमुख छन् भने उपप्रमुख माओवादी केन्द्रले हात पारेको छ ।  यतिबेला एमालेले कमजोर संख्यामा उपस्थिति जनाइरहेको छ । त्यसो त एमालेले २०५४ सालको स्थानीय निकायको निर्वाचनमा समेत श्रेष्ठता हासिल गरेको थियो । 

गठबन्धकै कारण स्थानीय सरकार सञ्चालनको अधिकारबाट नेकपा एमाले आज बञ्चित भएकै हो त ? २०८४ सालमा हुने स्थानीय तहको निर्वाचनमा तानसेन नगरपालिकामा एमालेले सूर्य झण्डा फर्फराउला कि नाइँ ? जिल्ला सदरमुकाममा रहेको तानसेन नगरपालिकाबाट एमालेले हात धुनुपरेको पीडा कम्तिको छैन भन्ने कुरा संघीय सांसद ठाकुरप्रसाद गैरेले तानसेन नगरस्तरीय प्रशिक्षक प्रशिक्षण तालिममा आफ्ना कार्यकर्ताको मनोभाव बुझ्दै गर्दा थाहा भएको कुरा हो । आफ्ना कार्यकर्ताहरु नगरपालिकामा जानै छोडेको,जान मन नगरेको,गएर पनि आफूहरुलाई वास्ता नगर्ने प्रवृत्ति हावी भएको, नगरपालिका नेतृत्वप्रति कुनै आशा,भरोसा नै नभएपछि जानुको कुनै तुक नभएको बताउँदै थिए । आफ्नो स्थानीय सरकार नहुनुको पीडा  एमाले नेता,कार्यकर्ता,शुभचिन्तक र समर्थक सबैले बुझेकै कुरा हुन् । 

तानसेन नगर कमिटीले आफ्ना साथीहरुलाई  ‘पार्टी पढाउने ’ उद्देश्यले दुई दिवसीय प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना फागुन १२ र १३ गते सम्पन्न गरेको थियो । उनीहरुको एउटै ध्येय थियो पार्टीलाई बलियो बनाउँदै आगामी निर्वाचनमा तानसेनमा आफ्नो सरकार बनाउने । त्यस्तो लक्ष्य पूरा हुनका लागि प्रशिक्षण एउटा माध्यम बन्न सक्छ र बन्यो तर प्रशिक्षणबाट प्राप्त ज्ञानलाई व्यवहारमा रुपान्तरण गर्न सकेन भने एमालेको अवस्था आजको भन्दा सुदृढ हुने सम्भवना न्यून देखिन्छ । त्यहि भएरै होला नगर कमिटीका जोशिला,होशिला र जाँगरिला साथीहरुले सय बढी संख्याको सार्थक उपस्थितिमा भव्य र सभ्य तालिम सम्पन्न गरेको छ । तालिममा माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादका कुरामात्र भएनन् ।

1bfd6834-9809-4c27-add1-bdf2b65ee25f

बरु,त्यहाँ पार्टीका नेता,कार्यकर्ताहरुले सूचना,प्रविधिको कसरी सहीसदुयोग गर्ने विषयमा सूक्षमरुपमा वाइपी आचार्यले प्रशिक्षण गरेका थिए । उनले सूचना तथा प्रविधिको समाज तयार भएको र पार्टी पनि उक्त समाजको सदस्य हुन सकेमा राजनीतिक फड्को मार्न सक्छ भन्ने कुरा विभिन्न उदाहरण दिदै पुष्टि गरेका थिए  वाइपी आचार्य  युवा हुन् । उनमा प्रविधि सम्बन्धी ज्ञान,धारणा र व्यवहारमा लागू गर्ने कलात्मक सीप छ । उनको प्रशिक्षण कला वजनदार र रहर लाग्दो छ ।  एमालेका नेता,कार्यकर्ताहरुले सामाजिक सञ्जाल कसरी प्रयोग गरिरहेका छन्  ? प्रयोग गर्छन् र प्रभाव र असर कस्तो छ भन्ने कुरामा आफ्ना तर्क,विचार र उदाहरणसहित  प्रस्तुत गरिरहेका भेटिन्थे प्रशिक्षणमा ।

विश्वलाई सूचना र सञ्चारले साँघुरो बनाउँदै लगेको र युवाहरु सूचना प्रविधिमा तल्लीन हुँदै गइरहेको हुँदा पनि पार्टीले युवालाई समेट्ने हो भने प्रविधिमा सक्दो छिटो छिर्नुपर्नेमा जोड दिए । उनले हातको मोबाइलमा संसार रहेको तर सही सदुपयोग हुन नसक्दा पार्टीमा क्षति हुन सक्ने कुरामा सतर्क समेत गराए । त्यसैले पार्टीका कुरा थुक उछिट्याएर बोल्दैमा समर्थक भेट्न अब मुस्किल हुने उनको तर्क थियो । बरु प्रविधिमैत्री हुनुपर्नेमा उनको जोड थियो । 

पार्टीका बैठक कसरी चलाउने,बैठकका विधिहरु,तौरतरिकाहरु,माइन्यूट लेख्ने विधि र पद्धतिहरुका बारेमा घनिभूत तरिकाले सिकाउने काम युवराज घिमिरेले गरेका थिए । उनले पार्टीमा बसिने बैठक कोठे,हुक्के र हावादारी नभई नियम,कानून र विधि अनुसारको हुनुपर्नेमा जोड दिए । त्यसका लाििग पार्टीका नेता,कार्यकर्ताहरु,उक्त विषयमा जानकार हुनुपर्नेमा जोड दिए । त्यतिमात्र होइन,पार्टीका वर्तमान बैठक पद्धति र प्रणाली सुन्दर हुन नसकेको,व्यवस्थित हुन नसकेको र बैठक,बैठकजस्तो हुन नसकेकोमा बैठकसम्बन्धी ज्ञानको अभावमात्र होइन नेता,कार्यकर्तामा लापर्वाहीपना बढ्दै गएको बताएका थिए । उनले दर्शनका कुरा सिकाए । दर्शनले खोजेको कुरा सुनाए । पार्टीमा किन दर्शन पढ्नुपर्छ भनेर सोधिखोजी समेत गरे । 

प्रशिक्षणमा व्यवहारिक कुरा गरिएका थिए । पार्टीका नीति,विचार र सिद्धान्तका कुरा सुनाइएका थिए । पढाइएका थिए । दलबहादुर गुरुङले पार्टीले आफ्ना नेता,कार्यकर्ताहरुलाई गरीखाने बनाउने उद्यमशीलतासँग कसरी जोड्न सक्छ ? उद्यमशीलता भनेको के हो ? किन आवश्यक छ ? आफ्नै खुट्टामा उभिने  नेता,कार्यकर्ता बनाउने कि चन्दाका भरमा धन्दा गर्ने पार्टी नेता,कार्यकर्ता बनाउने भन्ने विषयमा सहजीकरण गरेका थिए । उनले पार्टीमा आलोचना, आत्मआलोचना गर्ने संस्कार सिद्धिदै गएको सुनाए । द्वन्द्वात्मक भौतिकवादी पार्टीमा एकतात्मक विचार हुर्किदै गएको कुरा  सुन्दा राम्रो नलागेको बताए ।  कम्युनिष्टहरु नीजि सम्पत्तिलाई त्याग्दै सर्वहाराकरण गर्ने बाटोमा हुनुपर्ने विचार आज हाँसो र ठट्टाको विषय बन्दै गएको सुनाए ।

c6a139f7-e12b-4219-9d3b-ddb84affa510

अध्ययनशील कम्युनिष्टहरु अचेल अक्षरसँग बर्खिबार्दै गरेको सुनाउँदा हलमा स्तव्धता छाएको थियो । बस्तुपरक कुराभन्दा  क्षणिक आवेशी कुराले पार्टीका नेताहरु आफ्ना विचार बदल्न थालेकोप्रति उनको चिन्ता थियो । खोज,अध्ययन र अनुसन्धानविना हचुवाको भरमा नेताले बोल्ने बानीले पार्टी र संगठनलाई क्षति हुँदै गएको उनले सुनाए । 

ब्यवस्थित तरिकाले सञ्चालन गरिएको उक्त प्रशिक्षणमा एमालेका पाल्पा जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे,नारायणी शर्माले आआफ्ना विचार प्रस्तुत गरेका थिए भने नगरको विकास कसरी सम्भव छ भन्ने कुराका बारेमा एमालेका नेता तथा संघीय सांसद ठाकुरप्रसाद गैरेले विकास मोडेल पेस गरेका थिए । उनले जनमुखी र जनपक्षीय कामका माध्यमबाट नगरको विकास सम्भव रहेको सुनाए । नगर कमिटीले पार्टीका सबै सदस्यहरुसँग पुगेर नगर विकासका खाका कोर्न आवश्यक सुझाव संकलन र सल्लाह गर्न समेत सुझाएका थिए । सबै दलहरुसँग मिलेर नगरको विकास गर्न आफूले हातेमालो गर्ने बताए । 

नगर कमिटीका अध्यक्ष,उपाध्यक्ष,सचिव लगायतका साथीहरुको सक्रियता राम्रो थियो । खाजा,खाना,बसाइ सबैको उचित प्रवन्ध थियो । सहभागीहरुलाई कुनै कठिनाइ थिएन । सार्थक सहभागीहरुलाई प्रमाणपत्रको प्रवन्ध मिलाइएको रहेछ । तालिममा सहभागी तानसेन नगर कमिटीका साथीहरुका धैर्यता,अनुशासन र शालीनताले हाम्रा मन तानिरहेछ । 


 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार