ताजा अपडेट »

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेले बिहीबारदेखि अनिवार्य स्वघोषणा गर्नुपर्ने

बुधबार, ३० चैत्र २०७८, २२ : ५५
20 Shares

काठमाडौं । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिले बिहीबारदेखि स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने भएको छ ।

भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने व्यवस्था गरेको हो ।

वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने, ठगिने, सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न बाध्य पारिनेजस्ता प्रवृत्ति देखिएपछि स्वघोषणापत्र भर्नुपर्ने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगारीमा व्यक्तिगतरूपमा जाने श्रमिकले श्रम स्वीकृति लिँदा नै त्यस्तो स्वघोषणापत्र भर्नुपर्ने छ । विभागले ‘व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रियासम्बन्धी निर्देशिका–२०६९’ अनुसार सो व्यवस्था लागू गरेको हो । व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने श्रमिकले राहदानीको प्रतिलिपि, सम्बन्धित सरकारबाट जारी प्रवेशाज्ञाको प्रतिलिपि, रोजगार सेवा, शर्त, सुविधा र तलब (पारिश्रमिक) स्पष्ट उल्लेख भएको करार वा सम्झौतापत्रको प्रतिलिपि दूतावासमा पेस गर्नुपर्नेछ ।

रोजगारदाताको इजाजत दर्ता प्रमाणपत्रको प्रतिलिपि वा स्पोन्सरको परिचयपत्रको प्रतिलिपि, रोजगारदाता कम्पनीको ट्रेड लाइसेन्सको प्रतिलिपि वा निजी कामदारको हकमा रोजगारदाताको राहदानी वा परिचयपत्रको प्रतिलिपि, संस्थामा जाने कामदारका हकमा कम्पनीको संक्षिप्त विवरण र गन्तव्य मुलुकको सरकारले रोजगारादता संस्थालाई वा स्पोन्सरलाई दिएको पत्र स्वीकृतिपत्र पेस गर्नुपर्ने विभागले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।