ताजा अपडेट »

बेथितिको राजनीति

सोमबार, २४ माघ २०७८, १५ : ३१
6 Shares


थितिको राजनीति प्रजातन्त्रको आधारभूत विशेषता र अपरिहार्य आवश्यकता हो। विधिको शासन र कानून एवम् व्यवस्था प्रजातान्त्रिक थिति हो। बेथिति प्रजातन्त्रको विकृत अवस्था हो। यसबाट व्यक्तिको शासन चल्दछ । कानून एवम् व्यवस्था बत्ती बालेर खोज्नु पर्ने हुन्छ। आवरण,बोली र डकार प्रजातन्त्रको तर रक्त संचार अप्रजातान्त्रिक रहेको अवस्थामा बेथिति जताततै व्याप्त हुन्छ। यस्तै बेथितिको राजनीति हामीहरू भोगी रहेका छौँ ।

दश वर्षमा नेपाललाई कता हो कता पुर्याउँछु भन्नेहरू कति आए, कति गए कति अझै जिउँदो छन्। ट्रान्स्परेन्सी इन्टरनेशनलले विश्वकै अति भ्रष्टाचार हुने मुलुकहरूको अध्ययन क्रममा १८० मुलुकको अध्ययन गरेर प्रकाशित गरेको प्रतिवेदन २०२१ अनुसार नेपाल ११७ स्थानमा पर्दछ। भ्रष्टाचार तल्लो तहबाट मौलाउन थाल्यो भने सहज समूल निर्मूल गर्न सकिन्छ, हुन्छ पनि तर, टुप्पोबाट भ्रष्टाचार पलायो भने छिटो छिटो मौलाउँदै जान्छ र जमिनसम्म जरा गाडिन्छ। त्यो अवस्थामा पुग्नु भनेको भ्रष्टाचार संस्थागत हुनु हो। अब सगरमाथाको, वीरहरूको, भगवान बुद्ध जन्मिएको मात्र होइन । भ्रष्टाचारको देश भनेर हाम्रो थप पहिचान बनेको छ।

राजनीतिक परिवर्तनको जतिसुकै खुड्किलो पार गरेतापनि हरेक देशले आफ्नो राष्ट्र निर्माणको इतिहास र त्यसका पात्रहरूलाई गौरवसाथ सम्मान गर्दछन्। तर,हामीहरू मूलतः वामपन्थी प्रजातन्त्रवादीहरू राष्ट्र निर्माणको इतिहास र त्यसका पात्रलाई सामन्तवादी, सामन्ती र युद्ध अपराधीको आरोप लगाउदछन्। भारतीय प्रधानमन्त्री मोदी ले २५ पौष २०७८ मा “लिपुलेक तक की भी सडक बनाइ और इसपर आगे भी विस्तार कार्य चलरहा है ”भनिरहदा हाम्रा वामपन्थी प्रजातन्त्रवादीहरू कानेगुजी निकाल्न र सत्तास्वादमा व्यस्त देखिन्थे।

नेपाल भारत द्विपक्षीय सम्बन्धको भावनात्मक आधारमा सीमा सम्बन्धि विषयमा सम्बोधन गर्न सकिने’ भारतीय राजदूतले बताइरहँदा पनि भारतले सीमा स्थित लठ्ठा जंगे पिलर सारेर सीमा मिच्ने,दशगजामा निर्माण कार्य गर्ने, उच्च बाँध बनाउने लगाएतका कार्यहरू लाई निरन्तरता दिइरहेको छ। भारतलाई थाहा छ, उसले भरणपोषण गरेकाहरूले नेपालको राजनीतिमा समय समयमा नयाँ–नयाँ बेथितिहरू उब्जाइ रहेका छन्। त्यो भनेको नेपाली राजनीतिको अत्यन्त कमजोर पक्ष हो।

जनमत पार्टीका कार्यकर्ता समर्थकहरू लाठी, भाटा बोकेर विरोध प्रदर्शनमा उत्रिन्छन्। अध्यक्ष सिके राउत भन्छन् ‘लाठी, भाटा, कोदालो किसानको औजार हो। त्यसैले जता जाँदा पनि आफ्नो औजारहरू लिइ जानु स्वभाविक हो ।’ जसपाकी नेतृ तथा भौतिक पूर्वाधार मन्त्री रेणु यादवले रौटहटको गौरमा आयोजित सार्वजनिक कार्यक्रममा राउत लक्षित हिंसात्मक अभिव्यक्ति दिइन् ‘तुफानसे टकराइएगा तो आपके वही हालत होगी जो गौर के‘मे हुआ था’ २०६३ चैत्र गौर धटनामा २८ माओवादीको हत्या भएको थियो। राजनीतिलाई जता–ततैबाट बेथितिको दहमा टुपीसमेत डुब्ने गरी चुर्लुम्म डुबाइएको अवस्था छ।

गठबन्धन प्रजातन्त्रको एउटा पुर्जा हो आधार होईन्।निश्चित समयको लागि गठबन्धन उचित मानिन्छ।लामो समय सम्मको गठबन्धनले प्रजातन्त्र लाई कमजोर पार्दछ। स्वस्थ स्वच्छ प्रतिष्पर्धा प्रजातन्त्रको मुख्य पक्ष हो।प्रतिस्पर्धा बाट प्रजातन्त्र तिखारिन्छ तर गठबन्धनबाट प्रजातन्त्रमा खई लाग्दछ। गठबन्धनकारीहरू भन्छन् ‘एमाले अध्यक्ष ओलीको तथाकथित प्रजातन्त्र विरोधी प्रतिगमनकारी नीति र आचरणबाट प्रजातन्त्रलाई जोगाउन’ गठबन्धन गरिएको हो। ओलीबाट प्रजातन्त्रलाई खतरा छ भने नेकपा माओवादी प्रचण्ड, नेकपा ऐकिकृत समाजवादी माधव र नेकपा राष्ट्रीय जनमोर्चाबाट प्रजातन्त्र सुरक्षित हुन्छ भन्नु हाँस्य–ब्यङ्ग्य मात्र हो।

नेपाली कांग्रेस बाहेकका अन्य सत्तासीन गठबन्धनकारी शक्तिहरू एमसीसी संशोधनको पक्षमा छन्। नेकपा एकिकृत समाजवादीको प्रवक्ता जगन्नाथले स्पष्ट भनिसकेका छन् ‘यो सरकारलाई जनादेश नै छैन । नयाँ जनादेश प्राप्त सरकारबाट अगाडि बढाउने’ स्पष्ट भयो-गठबन्धन सरकार जनताको सरकार होइन । गठबन्धनकारी मूलतः वामपन्थी प्रजातन्त्रवादीहरूलाई सुरक्षित साथ तिनिहरूको गन्तव्यमा पुर्याउन नेपाली कांग्रेसले रथको कार्य गरिरहेको छ । तर, विडम्बना सारथि हुन सकिरहेको छैन्। प्रदेशतर्फ नजर दौडाउने हो भने बेथितिको राजनीतिको पराकाष्ठा छर्लङ्ग हुन्छ।आगामी निर्वाचन सम्म गठबन्धन रहने भएकोमा प्रफुल्लित केहि नेताहरूको कारण सिङ्गो नेपाली कांग्रेसले गठबन्धनको हिसाब बुझाउनु पर्ने छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।