ताजा अपडेट »

गृह जिल्लामा देउवाकै प्रचारमा व्यस्त गृहमन्त्री खाँण

बुधबार, ०१ मंसिर २०७८, १७ : ११
6 Shares

भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री बालकृष्ण खाँण पार्टी सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाको प्रचारप्रसारमा व्यस्त रहेका छन् । गृह जिल्लामा आयोजित कार्यक्रमहरुमा खाँणले पार्टी सभापति एवम् प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री र पार्टी सभापति एउटै भए यही सरकारले चुनाव गराउने उनले दावी गरेका छन् । खाँणले अहिले देउवालाई अन्य दलहरुले पनि रोजेको कारण उनी नै सभापति हुनुपर्ने बताए ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति रुपन्देहीले भैरहवामा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले सभापति एक व्यक्ति र प्रधानमन्त्री अर्को व्यक्ति भयो भने दुई जनाको बिचमा द्धन्द्ध बढदै जाने जिकिर गरे । उनले कांग्रेस बिनाको सरकारले कब्जाको शैलीमा चुनाव गराए त्यसको मूल्य कांग्रेसले नै चुकाउनु पर्ने बताए । खाँणले नेपाली कांग्रेस नेपालको राष्ट्रियता बलियो बनाउन चाहेको बताए । उनले जितेकाले जित्न नसकेकालाई समेटेर लैजानुपर्नेमा जोड दिए ।

गृहमन्त्री खाँणले हतियार नबुझाएका शक्तिलाई हतियार बुझाएर राष्ट्रिय राजनीतिको मूलधारमा आउन आग्रह समेत गरे । उनले मुलुकलाई हिंसाको राजनीतिबाट मुक्त गर्न र शान्तिको मार्ग सबैका लागि प्रशस्त गर्दै वर्तमान सरकारले शान्ति प्रक्रियालाई अगाडी बढाउन संकल्प लिएको बताए ।

नेपाली कांग्रेस रुपन्देहीले १३ औं महाधिवेशनबाट निर्वाचित भइ विभिन्न तह र तप्कामा रहेर आफ्नो जिम्मेवारी सफलता पुर्वक निर्वाह गर्ने तीन सय बढी नेता तथा कार्यकर्तालाई सम्मान गरेको छ । १३ औं महाधिवेशनबाट निर्वाचित भइ पार्टी तथा जनताको हितमा काम गरेको भन्दै जिल्ला कार्यसमिति, प्रदेश समिति, क्षेत्रीय समिति, वडा समिति, नगर समिति तथा साबिक गाउँ समितिका सभापतिहरुलाइ सम्मान गरिएको थियो ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा