५ कार्तिक २०७८, शुक्रबार

Oct 22, 2021

लमजुङ । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै सुस्ताएको यहाँको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ । पाँच महिनादेखि बन्द भएको व्यवसाय यतिबेला कोरोना सङ्क्रमणको जोखिम कम भएकाले खुल्न थालेको हो ।

Advertisement

क्व्होलोसोथर गाउँपालिका–३ स्थित एशियाकै नमूना तथा नेपालकै पहिलो स्मार्ट भिलेजको रूपमा रहेको घलेगाउँसहित राइनास नगरपालिका–९स्थित राइनासकोट, मस्र्याङ्दी गाउँपालिका–३ सिउरुङलगायत घरबास (होमस्टे) तथा पर्यटकीयस्थलमा यतिबेला विस्तारै पर्यटक आउन थालेका हुन् ।

पर्यटकको अभावमा आम्दानी गर्न नसकी चिन्तित बनेका यहाँका व्यवसायी अहिले न्यून मात्रामा भए पनि पर्यटक आउन थालेकाले खुशी भएका छन् । लामो समयसम्म एउटै पर्यटक पनि नआउँदा सुनसान रहेका यहाँको घरबासमा केही दिनदेखि दैनिक २०/३० जना आउन थालेकाले आफूहरू हर्षित भएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव उमल विकले बताए ।

एकातिर कोभिड सङ्क्रमणको डर अर्कोतिर पर्यटक नआउँदा आम्दानी नभएर दैनिक गर्जो टार्न कठिन भइरहेकामा कोभिडको जोखिम कम भइ पर्यटक आउन थालेकाले गुजारा चलाउन सहज भएको उनले उल्लेख गरे । घलेगाउँ घरबास सञ्चालक तथा पर्यटन व्यवसायी दीर्घराज घलेले भने, “यहाँका पर्यटन व्यवसायीको मुख्य आम्दानीको स्रोत नै पर्यटक हो, कोभिड कहिले हट्ला र पर्यटकको आगमनले आम्दानी होला भनेर हामी पर्खाइमा थियौँ । अहिले पर्यटक आउन थालेसँगै दिनमा दुई/चार हजार भए पनि आम्दानी हुन थालेको छ ।”

यहाँ यतिबेला पर्यटकीय याम भएकाले अब पर्यटक बढे प्रत्येक घरबास सञ्चालकले मासिक रु ६० हजारसम्म आम्दानी गर्न सक्ने घरबास सञ्चालकको भनाइ छ । कोरोनाको सङ्क्रमण हुनुुअघिसम्म पर्यटकीय यामामा दैनिक ५००सम्म पर्यटक आउने गर्थे । विसं २०५७ देखि घरबास सञ्चालन गरिएकामा अहिले ३७ घरमा घरबासको व्यवस्था छ ।

घरबासमा पुग्ने पर्यटकको सत्कारसँगै आफ्ना कला, वेषभूषा संस्कार र संस्कृति जोगाइराख्न यहाँका बासिन्दा जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत गर्ने गर्दछ । विसं २०६२/६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रिस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटकीय गाउँका रूपमा घोषणा गरेको थियो ।

समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको घलेगाउँ प्राकृतिक सम्पदाले भरपूर हुनाका साथै आदिवासी जनजातिमध्ये गुरुङको उद्गमथलो र घले राजाले राज्य गरेको गाउँ हो । यहाँबाट आठ हजार १६३ मिटर अग्लो मनास्लु, सात हजार८३५ मिटर अग्लो ङादीचुली (डा हर्क हिमाल), सात हजार ९३५ मिटर अग्लो अन्नपूर्ण (दोस्रो), अन्नपूर्ण (चौथो), छ हजार ९६३ मिटर अग्लोे माछापुच्छ्रे, सात हजार ८९३ मिटर अग्लो हिमालचुली, छ हजार ९८६ मिटर अग्लो लमजुङ र छ हजार ६७२ मिटर अग्लो बुद्ध हिमालसहित १८ हिमाल देख्न सकिन्छ ।

घलेराजामध्ये अन्तिम ज्याल्बु रुजा क्लेको सालिकसमेत देख्न सकिने यहाँ पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जिाए प्राङ्गारिक चामल, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, स्थानीय कुखुरा, खसीबोका, भेडाको मासुलगायत परिकार खुवाउने गरिन्छ ।

यसअघि घरबासमा आएका पर्यटकलाई गुरुङसेनीको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायत लोपोन्मुख साँस्कृतिक नृत्यसमेत प्रस्तुत गर्ने गरिएकामा अहिले बन्द छ । राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्काबहादुर गुरुङले भने, “कोरोनाको सङ्क्रमणका कारण जिल्लामा जारी निषेधाज्ञासँगै पर्यटक आगमन बन्द भएको थियो । जोखिम कम हुँदै गएपछि गत भदौ २८ गतेदेखि घरबास खुला गरेकै दिनमा २० पर्यटक आएको र दैनिक वृद्धि हुँदै गइरहेको छ ।”

यहाँ स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटकलाई गाउँमा राख्न थालिएको छ । राइनासकोटमा योगस्तम्भका साथै ऐतिहासिक राइनासकोट किल्ला, थानीमाई मन्दिर, कालिका, कोटेश्वर महादेवलगायत ऐतिहासिकस्थल छन् । नेपालका बाइसेचौबिसे राज्यकालमा लमजुङका राजा यशोबह्मा शाहका कान्छा छोरा द्रव्य शाहले राज्य गरेर राइनासकोटमा बसेका थिए । रासस

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

उज्यालो लुम्बिनी प्रदेश निर्माणमा प्रयासरत : मन्त्री राना एमाले स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्दै मन मोतीपुर घटनामा मारिएकालाई क्षतिपूर्तिको माग आफ्ना र पहुँचवाला सञ्चार गृहलाई मात्रै बजेट वितरण गरेकोप्रति प्रकाशन समाजद्वारा लुम्बिनी प्रदेश सरकारलाई ध्यानाकर्षण किसानको आँशु रोक, पीडामा मल्हम लगाऊ नेपालकै तेस्रो ठूलो विद्युत सवस्टेशनको परीक्षण सफल रुपन्देहीमा लाखौँको अबैध काठ बरामद चितवन घटनाले उब्जिएका प्रश्नहरु अदालती मिलापत्रमा विश्वास घट्यो कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण सडक विस्तारः तनहुँ खण्डमा सात हजार रुख काटिने माटाका भाँडा बनाउने कुमालेलाई भ्याइनभ्याइ स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह लयमा फर्किँदै बागलुङका पर्यटन व्यवसाय जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे दसैं सकियो, गाउँ रित्तियो विकास आयोजनाको प्राविधिक परीक्षणमा कर्मचारी र बजेटको अभाव चीनले आक्रमण गरे ताइवानको रक्षा गछौंः अमेरिका