ताजा अपडेट »

पञ्जशिर प्रान्त पूर्ण नियन्त्रणमा लिएको तालिबानको दाबी

सोमबार, २१ भदौ २०७८, १२ : ५२

काठमाडौँ । अफगानिस्तानमा तालिबानले पञ्जशिर प्रान्त पूर्ण नियन्त्रणमा लिएको दाबी गरेको छ। तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले एक बयानमा भनेका छन्, ‘अफगानिस्तानको अन्तिम गढ पञ्जशिर प्रान्त, जुन अहिले हाम्रो नियन्त्रणमा आएको छ, यसमा अब पञ्जशिरका लडाकुहरुको कुनै नियन्त्रण छैन।

‘यो जीतसंगै हामीले देश पूर्ण नियन्त्रण लिएका छौँ र यो युद्धको दलदलबाट बाहिर निकालेका छौं,’ उनले भने।  तर, तालिबानविरूद्ध लडिरहेको विपक्षी दल नेशनल रेजिस्टन्स फ्रन्ट (एनआरएफ)ले यी दाबी अस्वीकार गरेको छ। एनआरएफका प्रवक्ता अली मैसामले भने ‘यो सत्य होइन, तालिबानले पञ्जशीर कब्जा गरेको छैन। म यी दाबी अस्वीकार गर्दछु।’

विपक्षी गुटको ट्विटर ह्यान्डलबाट एउटा ट्वीट गर्दै भनिएको छ, ‘एनआरएफ सुरक्षा बलहरु अझै पनि उपत्यकाका सबै रणनीतिक स्थानहरुमा उपस्थित छन् र लडिरहेका छन्। हामी अफगानिस्तानका जनतालाई आश्वासन दिन्छौं कि तालिबान र उनीहरुका सहयोगीहरुबिरुद्धको संघर्ष जारी छ र न्याय र स्वतन्त्रता नभएसम्म जारी रहनेछ।’

तर, सामाजिक सञ्जालमा देखिएका तस्वीरहरुमा तालिबान लडाकुहरु प्रान्तीय गभर्नरको कम्पाउन्ड ढोका अगाडि उभिएका देखिएका छन्। यसको स्वतन्त्र रूपमा पुष्टि भएको छैन । आइतबार विपक्षी समूहका अफगान नेता अहमद मसूदले तालिबानको सैन्य अभियान रोक्न शान्ति वार्ता गर्न इच्छुक रहेको बताएका छन् ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।