ताजा अपडेट »

विद्यालयको जग्गामा स्थानीयको आफूखुशी भोगचलन

शुक्रबार, ०४ असार २०७८, १० : ४०
4 Shares

झापा । विद्यालयको नाममा रहेको जग्गा स्थानीय किसानले आफूखुशी भोगचलन गर्न थालेपछि विद्यालयहरूले आपत्ति जनाएका छन् । मेचीनगर नगरपालिका–८ मा रहेको आदर्श माध्यमिक विद्यालय र मेची विद्योदय प्राथमिक विद्यालयको नाममा दर्ता कायम रहेको जग्गा वर्षौँ अघिदेखि स्थानीय किसानले भोगचलन गर्दै आएका छन् । जग्गा भोगचलन गरेवापत स्कूललाई बुभाउनुपर्ने कुतसमेत नबुझाएपछि स्कूलले आपत्ति जनाएको हो ।

स्थानीय किसानले आदर्श माविको छ बिघा र मेची विद्योदय प्राथमिक विद्यालयको ११ बिघा जग्गाको व्यवस्थापन गरेर भोगचलन गरिरहेका छन् । आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन पोखरेल र  मेची विद्योदय प्राथमिक विद्यालयका शिक्षक टङ्कप्रसाद अधिकारीले विद्यालयको जग्गा किसानले भोगचलन गरे पनि विद्यालयसँग गरेको सम्झौताअनुसार कुतवापतको रकम नबुझाएको जानकारी दिए । सो जग्गाको कुत स्कूललाई तत्काल बुझाउनका लागि नगरले सर्वदलीय भेला गरेर एनु भट्टराईको संयोजकत्वमा ११ सदस्यीय जग्गा व्यवस्थापन समिति गठन गरेको छ ।

समितिको सहसंयोजकमा मेचीनगर नगरकार्यपालिका सदस्य एवं पूर्वाधार विकास समिति संयोजक कृष्ण कनाल तथा सदस्यमा विष्णुलाल गिरी, रविन्सन थापा, अर्जुन पोखरेल, पवन मेचे, शेरबहादुर बुढाथोकी, उत्तम गिरी, अग्निमाया मेचे, महेन्द्र लावती र दीपक थापा रहेका छन् । मेचीनगर–३ का वडाध्यक्ष हर्क बस्नेत संयोजक र वडा नं ८ का वडाध्यक्ष विकेन्द्र धिमाल सहसंयोजक रहेको सात सदस्यीय सल्लाहकार समितिसमेत भेलाले गठन गरेको छ । मेचीनगर नगरप्रमुख विमल आचार्यको संयोजकत्वमा सम्पन्न भएको छलफलमा सहभागीहरुले समस्याको दीर्घकालीनरूपमा टुङ्गोमा पुग्ने निष्कर्षसहित समिति गठन भएको हो । भेलामा सबै राजनीतिक दलहरुको सहभागिता थियो ।

रासस
लेखकको बारेमा
रासस