ताजा अपडेट »

प्रदेश सांसद मनाङे नेकपा प्रवेश गर्दै

बुधबार, १८ असार २०७६, १४ : ५४
10 Shares

असार १८,
पोखरा । गण्डकी प्रदेश सभामा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन्। नेकपा प्रवेशका लागि बिहीबारको कार्यक्रम तय भएको गुरुङका स्वविय सचिव जगदीश योगी र नेकपाले पुष्टि गरेका छन्। 

गुरुङ मनाङ ‘ख’बाट निर्वाचित भएका थिए। स्वतन्त्र उम्मेदवारी दिएका उनलाई तत्कालीन एमालेले समर्थन गरेको थियो। ज्यान मार्ने उद्योग सम्बन्धी पुरानो मुद्दाकै क्रममा पक्राउ परेपछि उनले सपथ लिन पाएका थिएनन्। अदालतको आदेशमा रिहा भएपछि २०७५ माघ १४ गते गुरुङले प्रदेश सभा सदस्यको सपथ लिएका थिए।

पुस ६ गते जेलमुक्त भएपछि १२ गते उनले सपथ लिन पाऊँ भनी गण्डकी प्रदेश सभामा निवेदन र निर्वाचन आयोगबाट दिइएको विजय उम्मेदवारको प्रमाणपत्र पेस गरेका थिए। निवेदनको महिना दिनपछि सभामुख नेत्रनाथ अधिकारीले उनलाई सपथ खुवाएका थिए।

यसैबीच समाजवादी पार्टीका प्रभावशाली नेता देवेन्द्र पराजुली र कल्पना धमला  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएका छन् । पराजुली र धमलाले बिहीबार नेकपामा प्रवेश गर्ने तयारी गरेका हुन् । बिहीबार पार्टी प्रवेश कार्यक्रम राखिएको धमला निकट स्रोतले बताएको छ ।

नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमसँग एकता गरेसँगै उनीहरु असन्तुष्ट थिए ।धमला डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा विज्ञान प्रविधि मन्त्री समेत भएकी थिइन् । धमलासँगै नेकपा प्रवेश गर्न लागेका देवेन्द्र पराजुली उनका पति हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।