ताजा अपडेट »

कोभिड अस्पताललाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न निर्देशन

बुधबार, २२ बैशाख २०७८, १५ : ०२
5 Shares

कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी नेतृत्वको टोलीले धनगढीको पुरानो भन्सार रोडस्थित मालिका अक्सिजन ग्यास उद्योगको आज अनुगमन गरेको छ ।

उद्योगको अनुगमन गर्ने क्रममा मन्त्री सुवेदीले पुरा क्षमताअनुसार अक्सिजन ग्यास उत्पादन गर्न ग्यास उद्योगका सञ्चालकलाई निर्देशन दिए । उनले ग्यास सञ्चालनमा केही कठिनाइ, पेश्की रकम, जनशक्तिको अभाव, विद्युतीय समस्या लगायतका समस्या आइपरेमा मन्त्रालयमा आउन आग्रह गरे ।

विद्युत् महसुलमा प्रदेश सरकारबाट अनुदानको पहल गर्ने मन्त्री सुवेदीले प्रतिबद्धता व्यक्त गरे । साथै उनले सरकारी र कोभिड अस्पताललाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्न निर्देशन दिए । अनुगमनमा सामाजिक विकासमन्त्री सुवेदी, प्रदेशको सामाजिक विकास समितिका सभापति कुन्ति जोशी र सचिव रघुराम विष्ट लगायतको सहभागिता रहेको थियो ।

रासस
लेखकको बारेमा
रासस