ताजा अपडेट »

प्रदेश-२ का प्रमुखद्वारा रासस निरीक्षण

मंगलबार, ३१ चैत्र २०७७, १७ : ५२
4 Shares

काठमाण्डौं । प्रदेश–२ का प्रमुख डा. राजेश अहिराज आज भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयको निरीक्षण गरे । सो अवसरमा उनले राजा जनकको भूमि प्रदेश–२ को आफ्नै किसिमका पहिचान र महत्व रहेको हुँदा त्यसलाई आम जनसमुदाय माझ उजागर गर्न जरुरी रहेको खाँचो औँल्याए । प्रदेश–२ मा रहेका थुप्रै पुरातात्विक एवं धार्मिकस्थल मात्र नभई देशको सीमा क्षेत्रमा यस प्रदेशले पहरेदारको भूमिका निर्वाह गर्दै उनको भनाइ थियो ।

प्रदेश–२ का बासिन्दाको भूमिकालाई राससजस्ता आमसञ्चारका माध्यमले यथोचित स्थान दिई प्रचारप्रसारमा ल्याउनुपर्ने विचार व्यक्त गर्दै उनले त्यस किसिमको भूमिकाको अपेक्षा आफूले राखेको बताए । जनकपुर र आसपासका ठाउँहरूको ऐतिहासिकतालाई उजिल्याउन सके त्यसले पर्यटन उद्योगका साथसाथै स्थानीय जनताको आर्थिक–सामाजिक रुपान्तरणमा सहयोग पुग्ने उनको भनाइ थियो । प्रदेश प्रमुख डा. अहिराजले आफूले कुनै बेला राससको जिल्ला समाचारदाता रुपमा काम गरेको स्मरण गर्दै आगामी दिनमा सत्यतथ्य समाचारका लागि रासस नै महत्वपूर्ण माध्यम हुने विश्वास व्यक्त गरे ।

राससका अध्यक्ष हरिहर अधिकारी (श्यामल) ले राससले मुलुकको विविध सांस्कृतिक र धार्मिक सम्पदा, कला र संस्कृतिबारे समाचार प्रवाह गर्दै आएको जानकारी दिँदै प्रदेश–२ का सन्दर्भमा प्रदेश प्रमुखबाट औँल्याइएका विषय विशेष ध्यानमा राखिने वचन दिए । त्यसैगरी, राससका महाप्रबन्धक ओपेन्द्र शर्माले राससको प्रदेश कार्यालयसँग समन्वय कायम गरी प्रदेश–२ का समाचारलाई समेटिने विश्वास दिलाए । सो अवसरमा प्रदेश प्रमुख अहिराजले राससकर्मीलाई नेपालको झण्डाको लोगो प्रदान गरेका थिए ।

रासस
लेखकको बारेमा
रासस