ताजा अपडेट »

नयाँ सदस्यता विधानसम्मत गर्न चौतारीको ध्यानाकर्षण

शनिबार, १४ चैत्र २०७७, ०९ : २६
6 Shares

काठमाण्डौं । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासङ्घको नयाँ सदस्यता वितरण विधानसम्मत नभएको उल्लेख गर्दै ज्ञापनपत्र बुझाएको छ ।चौतारीका अध्यक्ष गणेश बस्नेत सहितको समूहले शनिबार महासङ्घमा पुगेर विधानसम्मत तरिकाले नयाँ सदस्यताको टुङ्गो लगाएर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्वाचन समितिका संयोजक कपिल काफ्लेलाई उक्त ज्ञापनपत्र बुझाएको हो ।

महासङ्घको विधानअनुसार नयाँ सदस्यता स्वीकृत, अनुमोदन र स्थानान्तरण गर्ने कार्य सम्बन्धित समितिको निर्वाचन हुनुभन्दा छ महिना पहिलो भइसक्नुपर्नेछ भन्ने व्यवस्था रहेको छ ।निर्वाचन समितिले प्रकाशन गरेको मतदाता नामावलीमा महासङ्घको विधानमा भएको व्यवस्थाविपरीत मनोमानी ढङ्गले पक्षधरताका आधारमा आग्रह पूर्वाग्रहका राखी अध्यक्ष र महासचिवले पठाएको नामावली जस्ताको तस्तै प्रकाशन गरेको ज्ञापन पत्रमा छ ।

चौतारीका अध्यक्ष बस्नेतले महासङ्घको विधानसम्मत ढंगले सदस्यताको टुङ्गो लगाई अन्तिम नामावली प्रकाशन र नयाँ सदस्यता प्रदान गर्न महासङ्घबाटै तोकिएको विधि टुङ्गाउन माग गरे । समितिका संयोजक काफ्लेले आफूले यसबारेमा अध्ययन गर्ने र महासङ्घको विधिबाटै नयाँ सदस्यताको टुङ्गो लगाउने प्रतिवद्धता व्यक्त गरे ।

रासस
लेखकको बारेमा
रासस