ताजा अपडेट »

सडक स्तरोन्नतिले धनगढीको मुहार फेरिँदै

शनिबार, ०७ चैत्र २०७७, १३ : ०७
4 Shares

सुदूरपश्चिम । सडक सञ्जालको विकास एवं स्तरोन्नतिको काम शुरु भएसँगै सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी शहरको मुहार फेरिने भएको छ । शहरका रुपमा स्थापना भएपछि विभिन्न सडक पूर्वाधार निर्माण हुँदै गर्दा धनगढी शहरको मुहार फेरिने देखिएको हो ।

धनगढी उपमहानगरपालिकाको मोहनापुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्मको १४ दशमलव दुई किलोमिटर लामो सडकमध्ये ग्रामीण बस्तीको सडकखण्डमा ‘चार लेन’ र बाँकी खण्डमा ‘छ लेन’ सडक निर्माण हुँदै छ । छ लेन सडक आयोजना कार्यालयका इञ्जिनीयर लक्ष्मणबहादुर रावलले आगामी छ महीनाभित्र निर्माण कार्य पूरा गर्ने गरी काम भइरहेको बताए । तीन चरणमा निर्माण भइरहेको यो सडकको मोहना पुलदेखि गेटासम्मको खण्डमा कालोपत्र गर्ने काम पूरा भइसकेको छ ।

गेटादेखि अत्तरिया चोकसम्मको खण्डमा कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । पहिलो चरणअन्तर्गतको सडकखण्ड कालोपत्र भइसकेको छ । गेटा खण्डमा पर्ने सुनिखोला पुलको ठेक्का सम्झौता भइसकेको छ भने मनहरा खोला पुल निर्माणका लागि एक डेढ महीनामा सम्झौता भइसक्ने जनाइएको छ । कैलाली भन्सार कार्यालय नजिकको मोहना नदीमाथि हाल चालू अवस्थामा रहेको पुलको समानान्तर हुने गरी अर्को पुल बनाउने काम भइरहेको छ । “हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भइसकेको छ”, इञ्जिनीयर रावलले भने, “छ महीनाभित्र जसरी पनि काम पूरा गर्ने लक्ष्यमा हामी छौँ ।” यो सडकको निर्माणमा लुम्बिनी राजेन्द्र डाँफे, लामा राजेन्द्र डाँफे र शर्मा अमर नागार्जुन निर्माण कम्पनी संलग्न रहेका छन् । पहिलो चरणमा काम गर्ने निर्माण कम्पनीको निर्माण अवधि छ महीना थप भएकामा आउने जेठमा यो अवधि सकिँदै छ ।

दोस्रो र तेस्रो चरणमा काम गर्ने निर्माण कम्पनीको म्याद गएको माघ महीनामै सकिएपछि उनीहरुको निर्माण अवधिको म्याद थप गर्ने पहल भइरहेको छ । मुअब्जा वितरण र रुख कटानीको प्रक्रिया पूरा गर्दा शुरुको चरणमा काम शुरु गर्न ढिलाइ भएको थियो । पछिल्लोपटक कोरोना भाइरस सङ्क्रमणको जोखिमले निर्माणको काम रोकिएको थियो । निर्माणाधीन सडकको दायाँबायाँ रेलिङ (बार) लगाउने कार्य भइरहँदा आसपासका व्यापारीले आफ्नो पसल अगाडि बार लगाएर छेक्न नहुने भन्दै विरोध गरेका कारण समस्या उत्पन्न भइरहेको रावलले बताए । सुदूरपश्चिम प्रदेशको राजधानी शहर धनगढी प्रवेश गर्ने एकमात्र मुख्य अत्तरिया–धनगढी सडकखण्डमा दैनिक सानाठूला चार हजारभन्दा बढी यातायातका साधनको आवागमन हुने गर्छ ।

क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत पनि सडकको स्तरोन्नति हुँदै

छ लेन सडक निर्माणाधीन हुँदा धनगढी उपमहानगरपालिका क्षेत्रमा विश्व बैंकको ऋण सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत १० किमी सडकको निर्माण एवं स्तरोन्नति गर्ने काम पनि शुरु भएको छ । धनगढी उपमहानगरपालिकाको मुख्य सडक ट्राफिक चोकदेखि कैलाली खोलासम्म, शहीद गेटदेखि क्याम्पस रोडसम्म, गुल्मदेखि चर्च पुग्ने सडक र मालपोत सडकसमेत गरी झण्डै १० किलोमिटरको सडक स्तरोन्नति गर्न लागिएको हो ।

आयोजना कार्यालयका सिनियर डिभिजनल इञ्जिनीयर प्रविन शाहले पहिलो चरणको काम पूरा भएपछि धनगढीमा थप तीन दशमलव पाँच किलोमिटर सडकसमेत स्तरोन्नति गर्न लागिएको बताए । “पहिलो चरणको कामका लागि रु ६८ करोडमा ठेक्का सम्झौता भई काम शुरु भइसकेको छ”, उनले भने “आगामी दुई वर्षभित्र यो काम पूरा गर्ने लक्ष्य तोकिएको छ ।” आयोजनाअन्तर्गत नालीसहितका सडक निर्माणका साथै फोहर व्यवस्थापन र संस्थागत सुधार जस्ता काम गरिँदै छ ।

धनगढी उपमहानगरपालिकाका इञ्जिनीयर द्वीजराज भट्टले यो आयोजनाअन्तर्गत नै उपमहानगरपालिका क्षेत्रको फोहर व्यवस्थापनका लागि विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार भई वातावरणीय प्रभावको अध्ययन भइरहेको बताए । उपमहानगरपालिका–७ खुटिया नदी छेउको झण्डै २२ हेक्टर जग्गामा फोहर व्यवस्थापन गर्न नेपाल सरकारसँग जग्गाको भोगाधिकार माग गरिएको छ । “हालका सडकको चौडाइ बढाएर निर्माण तथा स्तरोन्नति गर्ने काम भइरहेको छ”, इञ्जिनीयर भट्टले भने, “सडक क्षेत्रमा पर्ने संरचनालाई सम्बन्धित घर धनीले भत्काएर सडक स्तरोन्नतिको कामलाई सघाइरहनु भएको छ ।”

क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत नै पहिलो चरणमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा रु ८७ करोडको लागतमा १४ दशमलव पाँच किलोमिटर, शुक्लाफाँटा नगरपालिकामा रु २४ करोड ७५ लाखको लागतमा चार दशमलव पाँच किलोमिटर र कैलालीको गोदावरी नगरपालिकामा रु ४८ करोडको लागतमा १६ दशमलव पाँच किलोमिटर सडकको निर्माण तथा स्तरोन्नति गरिँदै छ । यसबाहेक शुक्लाफाँटा नगरपालिका र गोदावरी नगरपालिको हकमा नगरपालिकाको भवन निर्माण भइरहेको छ । व्यवस्थित र आकर्षक शहरको विकास गर्नका लागि आयोजनाअन्तर्गत सडकको स्तरोन्नतिका साथै सडकका किनारमा नाली निर्माणका साथै फोहरमैला व्यवस्थापनलगायतका काम गर्न लागिएको हो ।

शुरुका अवस्थामा धनगढी उपमहानरपालिका क्षेत्रमा यो आयोजनाअन्तर्गत ४१ किलोमिटर सडकको स्तरोन्नति गर्ने भनिएको थियो । आयोजना कार्यान्वयनमा भएको ढिलाइसँगै स्तरोन्नति हुने भनिएका सडकको लम्बाइ घटेको छ । धनगढी क्षेत्रमा पाँच वर्षअघि गरिएको लागत अनुमान डिजाइनअनुसार ‘फिडर’ सडकसमेत जम्मा ४१ किमी सडकको स्तरोन्नति गर्ने भनिएको थियो । त्यतिबेला छुट्याइएको बजेट र सडकको गुणस्तरलाई समेत ध्यानमा राखेर उपमहानगरपालिकासँग भएको समझदारीअनुसार स्तरोन्नति हुने सडकको लम्बाइ र सङ्ख्या हाल घट्न गएको बताइएको छ ।

एशियाली विकास बैंकको आयोजना समन्वय कार्यालय र धनगढी उपमहानगर कार्यालयका बीच धनगढी उपमहानगर क्षेत्रमा शहरी पूर्वाधार निर्माण गर्नेसम्बन्धी सम्झौता गरिएको थियो । विनायोजना शहरका रुपमा विकास हुँदै गएको धनगढी उपमहानगरपालिका क्षेत्रका बस्तीमा वर्षायाममा डुबान, नदी कटानका साथै ढल निकास, फोहरमैला व्यवस्थापन, अव्यवस्थित बसोबासस्तरीय सडकको अभाव आदि मुख्य समस्या रहेका छन् ।

धनगढी आसपासका ठूला सडकको स्तरोन्नतिको काम हुनु उपलब्धि भए पनि भित्री छोटो दूरीका जीर्ण बन्दै गएका सडक मर्मतसम्भार भने हुन नसकिरहेको गुनासो नगरवासीको छ । छोटो दूरीका भित्री सडकको स्तरोन्नतिको काम नहुँदा सहज आवागमनमा समस्या हुने गरेको गुनासो स्थानीय मानबहादुर केसी गर्छन् । बसाइँसराइको चापसँगै धनगढीको जनसङ्ख्या पनि वर्षेनी बढ्दै गएको छ । दुई दशकअघिसम्मका खेती हुँदै आएका जमीन विस्तारै घर घडेरीमा बिक्री भई आवासीय क्षेत्रका रुपमा विकसित भइरहेका छन् । झण्डै एक लाख ५० हजार जनसङ्ख्या रहेको धनगढी उपमहानगरपालिकाका अधिकांश ग्रामीण वडामा समेत अझैसम्म उचित सडक र खानेपानीलगायतका शहरी पूर्वाधार जुट्न सकेका छैनन् ।

रासस
लेखकको बारेमा
रासस