ताजा अपडेट »

सरावलमा डेढ करोडको कल्भर्ट शिलान्यास

शनिबार, ०७ चैत्र २०७७, ११ : ०६
6 Shares

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाँउपालिकाको खोकरपुरामा लुम्बिनी प्रदेश सरकारको लगानीमा कल्भर्ट निर्माणको काम सुरु भएको छ । अत्रहट्टि, खोकरपुरा–सुर्यपुरा सडक खण्डमा निर्माण पर्ने सो पुल निर्माणको शुक्रबार लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले शिलन्यास गरेका हुन् ।

सो स्थानमा रहेको कल्र्भट जिर्ण भएकाले १ करोड ४० लाख रुपैयाँको लागतमा नयाँ कल्भर्ट निर्माण थालिएको हो । सो क्षेत्रमा सडक पिच भएपनि राम्रो पुल नहुँदा वर्षायाममा हिडडुल गर्न कठिनाई हुदै आएको थियो । पूर्व–पश्चिम राजमार्गमा सवारी चाप बढिरहेको समयमा भित्री सडकको प्रयोग गर्ने क्रम बढेकाले पनि सो क्षेत्रको विकासका लागि पुल अत्यावश्यक रहेको मन्त्री चौधरीले बताए । प्रदेश सरकारले पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएको बताउँदै लुम्बिनी प्रदेशका सबै जिल्लामा पुल पुलेसा र सडक निर्माणको काम धमाधम भइरहेको जानकारी दिए ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका चौधरीले छोरी र बुहारी शिक्षित नभएसम्म समाज अगाडि बढ्न नसक्ने भएकाले खोकरपुरामा निर्माण हुने पुलबाट अत्रहट्टी, खोकरपुरा, सूर्यपुरा लगायत क्षेत्रका छोरी, बुहारीहरु बर्दघाटको चिसापानी क्याम्पसमा उच्च शिक्षा पढ्न जाँन सहज हुने बताए । मन्त्री चौधरीले संघीयता कार्यन्वयनपछि लुम्बिनी प्रदेश सरकारले आदीबासी, जनजाति र मधेश केन्द्रित कार्यक्रम ल्याएर गाउँहरुलाई शहरमा रुपान्तण गर्ने काम सुरु गरेको बताए ।

सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीको अध्यक्षतामा भएको कार्याक्रममा सुनवल नगरपालिकाका उप प्रमुख दधिराम अर्याल, वडा अध्यक्ष भेषनारायण चौधरी, सड्क पूर्वाधार कार्यालय रुपन्देहीका प्रमुख ललीत वहादुर न्यौपाने, काष्ठमण्डप-जेभीका प्रतिनिधि गोपाल भट्टराई लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

काष्ठमण्डप तिरुपति जेभिले ठेक्का पाएको सो पुल एक वर्ष भित्र निर्माण सक्ने लक्ष्य लिइएको सडक पुर्वाधार कार्यालय रुपन्देहिले जनाएको छ । मन्त्री चौधरीले वर्षायाममा समस्या हुने भएकाले सो पुल सकेसम्म असार भित्रै निर्माण सक्न निर्माणकर्तालाई आग्रह गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।