ताजा अपडेट »

मोतिपुर औद्योगिक करिडोर : शिलान्यासमा अवरोधको चेतावनी

मंगलबार, ११ फागुन २०७७, १७ : १८
6 Shares

बुटवल । मुलुककै गौरवको आयोजनाका रुपमा रहेको रुपन्देहीको मोतिपुर क्षेत्रमा निर्माण गरिने औद्योगिक करिडोरका लागि प्रक्रिया पूरा नहुँदै शिलान्यासको तयारी भएको भन्दै बिरोध सुरु हुन थालेको छ । बुटवल उपमहानगरपालिका, सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका तथा तिलोत्तमा नगरपालिकालाई छुने गरी ८१३ विगाह क्षेत्रफलमा निर्माण गर्न लागिएको औद्योगिक करिडोरमा वातावरणीय प्रभाव प्रतिवेदन (ईआइए) तयार नहुँदै शिलान्यास गर्न हतार गरिएको हो । करिडोरको विहिबार शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

करिडोरको शिलान्यास गर्ने तयारी भइरहँदा त्यस क्षेत्रका स्थानीयहरुले भने ईआइए प्रतिवेदनमा आफूलाई समावेश नगरिएको, वर्षौदेखि भोग चलन गर्दै आएको ठाउँबाट आफूहरुलाई विस्थापन गर्न लागिएको भन्दै अबरोध गर्ने तयारी गरेका हुन् । उनीहरुले मंगलबार औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाएका हुन् । आवश्यक तयारी नै नगरी आफूहरुलाई समेत जानकारी नदिएर शिलान्यास गर्न लागेको गुनासो गरे । ज्ञापनपत्र बुझ्दै कार्यालयका प्रमुख निमेष अधिकारीले स्थानीयका मागलाई केन्द्रीय कार्यालय बालाजुमा जानकारी गराउने प्रतिवद्धता व्यक्त गरे ।

रामप्रसाद पाण्डेको अध्यक्षतामा स्थानीयहरुले संघर्ष समिति गठन गरी बिहीबार हुने शिलान्यास कार्यक्रमलाई समेत अबरोध गर्ने गरी तयारी भएको बताएका छन् । उनीहरुले जनताहरुलाई व्यवस्थापन नगरी कोरिडोरको काम अघि बढ्न नदिने बताएका हुन् । जंगबहादुर खत्री, टंक न्यौपाने, हुमराज ढकाल, दामोदर ढकाल तथा पिताम्बर लगायत स्थानीयहरु सहभागी भई ज्ञापनपत्र बुझाएका थिए ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका योजना प्रमुख सञ्जयलाल मानन्धरका अनुसार करिडोर निर्माणका लागि ईआइएको प्रतिवेदन निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ भने सोही अनुसार डिपिआर समेत परिमार्जन गर्नुपर्ने हुन सक्छ । यसैगरी करिडोर निर्माण गर्न स्रोत सुनिश्चितताका लागि मन्त्रालयमा फाइल पठाइएको तर सुनिश्चित भइनसकेको उनले बताए ।

तयार पारिएको डिपिआर अनुसार करिब १३ अर्ब लागत अनुमान गरिएको छ भने विभिन्न चरणमा काम गर्दा योजना सम्पन्न हुन ५ वर्ष लाग्ने उनले बताए । क्षेत्र व्यवस्थापन, सडक विस्तार, विद्युत तथा पानी लगायतका पूर्वाधारहरु निर्माण गर्न पञ्चवर्षिय रुपमा योजना तयार भएको मानन्धरले बताए । सरकारले लुम्बिनी प्रदेशका मोतिपुर बाँकेको नौबस्ता, हेटौडाको मयुरधाम र कन्चनपुरको डैजीमा औधोगिक क्षेत्र निर्माण गर्ने गरि गौरवको आयोजनाका रुपमा अगाडि बढाएको छ ।

२०७३ सालमा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले शंकलन गरेको तथ्याङ्क अनुसार मोतिपुरमा २ हजार ९ सय ८१ घरधुरीलाई अन्यत्र व्यवस्थापन गर्नु पर्ने हुन्छ । यसैगरि फर्साटिकरमा ४ सय २९ घरधुरी रहेका छन् । आधुनिक र व्यवस्थित ढङ्गले निर्माण गर्न लागिएको औद्योगिक क्षेत्रलाई विभिन्न सेक्टरमा विभाजन गरी निर्माण गरिने भएको हो ।

औद्योगिक क्षेत्रमा साना, मझौला र ठूला उद्योगका लागि छुट्टाछुट्टै क्लस्टर निर्माण गरिने मानन्धरले जानकारी दिए । एक वर्षअघि नै मोतिपुर औद्योगिक क्षेत्र परियोजना कार्यालयले उद्योगीहरूसँग लिखित आशयपत्र माग गरेको थियो । जसमा चार सयभन्दा बढी उद्योगले मोतिपुरमा उद्योग स्थापना गर्न चाहेको आशयपत्रको फारम भरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।