ताजा अपडेट »

यूरोपबाट फर्केर तरकारी व्यवसायमा २८ वर्षिय युवा

शनिबार, ११ जेठ २०७६, २० : ०४
40 Shares


तीन करोडको लागतमा ‘हरियो तरकारी’पसल

एन.बी.कंडेल/ग्लोबल आवाज
झट्ट सुन्दा र हेर्दा विश्वास नै नलाग्ने तर, नेपाली कृषि क्षेत्रमा परिवर्तनकारी प्रयास गरेका छन् एक २८ वर्षिय युवाले । यूरोपियन देशबाट कन्सट्रक्शन इञ्जिनियर अध्ययन गरी ५ वर्षपछि नेपाल फर्केका उनले ‘हरियो तरकारी’ नामक तरकारी पसल सञ्चालन गरेका छन् । करिब ३ करोडमा आधुनिक प्रविधि र फरक ढङ्गबाट उनले शहरबासीलाई ताजा र स्वस्थ तरकारी प्रदान गर्ने प्रयास गरेका छन् । सिद्धार्थ रामार्ग अन्तर्गत चौराहदेखि गोलपार्कसम्मको हाइवेपछि निकै व्यस्त रहने योगिकुटी–पुरानो बसपार्क सडकमा पर्ने तिनकुनेमा हरियो दुई तला भवन (ट्रस) मा धेरैको नजर जान्छ । हरियो रङ्गको सो भवनको माथि हरियो तरकारी लेखिएको छ । ठूलो र आकर्षक भवनमा ‘हरियो तरकारी’ लेखेको देख्दा सबैलाई भित्र कस्तो होला भन्ने जिज्ञासा लाग्छ । र, सो भवनको भित्र पसेपछि उक्त जिज्ञासा मेटिन्छ । अर्थात् भित्र सफा,सुग्घर र ताजा स्वदेशी तथा विदेशी पलफुल र तरकारी देखिन्छ । त्योपनि आकर्षक तवरले सज्जाइएको।

रुपन्देहीको तिलोत्तमा नरगपालिका योगिकुटीका २८ वर्षिय लक्ष्मण शर्मा र उनका साथी सन्दिप ज्ञवालीले संयुुक्त लगानीमा सो पसल सञ्चालन गरेका हुन् । करिब ३ करोड लागतमा सञ्चालनमा आएको हरियो तरकारी पूर्ण रुपमा भने सञ्चालन भएको छैन । पहिलो तल्लाबाट मात्र सेवा दिएको पसलमा हाल फलफुल,तरकारी र विभिन्न फलफुलका ताजा जुस बिक्री गरिएको छ । बुटवलको बढ्दो जनसंख्या र सो अनुसार तरकारीको आयात नभएको अवस्थालाई बुझेर मध्य बुटवलमा हरियो तरकारी पसल सञ्चालन गरेको सञ्चालक लक्ष्मण शर्माले बताए । ‘शहरबासीहरु आफूले चाहेजस्तो ताजा र स्वस्थ तरकारी र फलफुलको परिकार सहजरुपमा पाउन गार्हो भएको देखियो । सोही अभावलाई पूरा गर्न तरकारी पसल सञ्चालन गरेका हौं ।’ उनले तरकारी पसल सञ्चालन गरी उपभोक्तालाई ताजा र स्वस्थ फलफुल तथा तरकारी उपलब्ध गराउने र आफूले मुनाफा खाने मात्र उद्देश्य नभई किसानलाई उचित मूल्य प्रदान गरी उनीहरुलाई उत्पादनमा प्रेरणा र सहयोग प्रदान गर्ने बताए ।


वि.सं.२०६५ मा एस.एल.सी गरेका शर्मा उच्च शिक्षाका लागि काठमाण्डौं गए । त्रिनिटि इन्टरनेशनल कलेजमा दुई वर्ष अध्ययन गरेपछि प्राइम कलेजमा सि.ए. अध्ययन गरे । सोही क्रममा मोटर साइकल दुर्घटना भई खुट्टा फ्याक्चर भएका उनको एकजना विदेश जान तयारी गरेको साथीसँग भेट भयो । सोही क्रममा उनले आफ्नो लागि पनि अप्लाई गर्न भने । त्यतिबेला उनि बैसाखीको सहारामा हिड्थेँ । उनलाई सफलता मिल्यो, भिसा लाग्यो । उनको खुट्टा पूर्ण फिट नभई अध्ययनका लागि फिनल्याण्ड पुगेका उनले त्यहा जागिर अध्ययन दुबै गरे ।

एक वर्ष अघि नेपाल फर्केका उनले १० महिना पूरा पसलको तयारीमा लागे । १० महिनामा पसलको लागि जग्गा खोज्नेदेखि,पसल दर्ता, भवन निर्माण र पसल सञ्चालनमा खटिरहे । केही समय उनले गाडीमा किसानबाट फलफुल, तरकारी खरिद गरी उपभोक्ताको घर–घरमा पु¥याएको उनी सम्झन्छन् । नेपालका प्रतिष्ठित कलेजमा अध्ययन गरेका ,सिए तथा कन्सट्रक्शन इञ्जिनियर उनी यूरोपका अवसर र करिएर मेकिङ पिरिएडलाई छोडेर नेपाल फर्किई त्योपनि तरकारी व्यवसायमा लाग्नु हाम्रा लागि नौलो र अचम्म लाग्यो ।


तरकारी व्यवसाय नै किन रोज्नुु भयो भन्ने भन्ने हाम्रो जिज्ञासामा उनले भने ‘तरकारी,आधारभुत आवश्यकताहरु मध्ये नभई नहुने महत्वपूर्ण खाना हो । यदि ताजा र स्वस्थ तरकारी खाइएन भने स्वास्थ्यमा ठूलो असर पर्दछ । त्यसैगरी गाउँमा किसाने उत्पादन गरेको फलफुल तरकारी सस्तोमा पनि बिक्री नभएर फाल्नु परेको सुनिन्छ भने शहरमा बासी र महङ्गो तरकारी खान बाध्य छौं । यस्ता विषयलाई मध्यनजर गरी तरकारी व्यवसाय गर्ने सोँचका साथ सुरु गरेका हौं ।’ उनले यूरोपमा बसिरहे आफ्नो जीवन मात्र राम्रोसँग बित्ने तर, स्वदेशमा आएर केही गरे आफूलगाएत अरुलाई पनि हुने सोँच र आफ्ना बुवाले भन्ने गरेको ‘ मरेपछि कम्तिमा पनि सय जनाले राम्रो थियो भन्ने काम गरी असल बन्नुपर्दछ ।’ सम्झेर पनि नेपाल आउन मन लागेको बताए ।


ताजा र स्वस्थ तरकारी प्रदान गर्ने उद्देश्य सहित सञ्चालित हरियो तरकारी पसलमा स्थानीय,छिमेकी जिल्लाहरु , चितवन,रोल्पा,कपुरकोट,काठमाण्डौं , धादिङबाट किसानबाट सिधा खरिद गरी तरकारी ल्याउने बताए । दुई ओटा भित्री च्याम्बरमा २८ टन तरकारी अट्ने क्षमता रहेको र बाहिर ३० टन क्षमता रहेको हरियो तरकारीमा फलफुल तथा तरकारीलाई विभिन्न प्रक्रिया पु¥याएर मात्र बिक्रीका लागि राखिने उनले बताए । खरिद गरेर ल्याइएको तरकारीलाई पुडिङ गरेर (छानेर) प्रिकुुलिङ गरेर ,स्टोरेजमा राखेर मात्र बिmक्रीका लागि तयार गर्ने पद्धति रहेको उनी बताउँछन् । ‘किसान वा अन्य स्थानबाट फलफुल वा तरकारी ल्याएपछि पहिला छानिन्छ, तापक्रम मिलाइन्छ , लामो समयसम्म पनि नबिग्रने गरी फोहर र दूषित पदार्थ हटाई पूर्ण तयार गरेपछि मात्र बिmक्रीका लागि राखिन्छ ।’ उनले भने ।


हरियो तरकारीमा एउटै छानामुनी संसारका फलफुल,तरकारी, जुस, ग्यास जलाउनेदेखि पकाउनेसम्मका सामग्री उपलब्ध गराउने उनले बताए । ‘हजुरको स्वास्थ्य,हाम्रो जिम्मेवारी’ भन्ने नारा सहित सञ्चालन आएको तरकारी पसलमा उनीहरु र घरका सदस्य सहित १४ जनाले रोजगार प्राप्त भएको छ । प्रराम्भिक चरणमा रहेको तरकारी पसलले आगामी महिनादेखि आफै भोला लिएर आउने ग्राहकलाई दुई प्रतिशत छुट दिने , केही महिनापछि निरन्तर ५ पटक आउने ग्राहकलाई आफ्नै वातावरण मैत्री झोला प्रदान गर्ने , ६ महिनामा अर्को शाखा सञ्चालन गर्ने ,दुई वर्षपछि मुनाफाको १० प्रतिशत कृषि क्षेत्रमा सहयोग गर्ने लगाएतका योजना रहेको शर्माले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।