ताजा अपडेट »

वार्षिकोत्सवमा राससकर्मी पुरस्कृत

शुक्रबार, ०७ फागुन २०७७, १४ : १९
2 Shares

काठमाण्डौं । राष्ट्रिय समाचार समिति (रासस) को ६० औँ वार्षिकोत्सव तथा हीरक वर्षको अवसरमा वर्षभर उत्कृष्ट काम गर्ने पत्रकार तथा कर्मचारी पुरस्कृत भएका छन् । रासस केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ र सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ती पुरस्कार प्रदान गरे ।

नेपाल पत्रकार महासङ्घ, रासस शाखाद्वारा स्थापित ‘रासस पत्रकारिता पुरस्कार’ वरिष्ठ सम्पादक मोहिनी मिश्र रिसाल (केन्द्रीय कार्यालय) र उपसमाचारदाता वीरेन्द्रनारायण कर्ण (रासस वीरगञ्ज कार्यालय प्रमुख)ले प्राप्त गरे । पुरस्कारको राशि जनही रु १० हजार छ । त्यसैगरी महासङ्घले मनीन्द्रलाल श्रेष्ठ (राससका पूर्व कर्मचारी) र श्री शरच्चन्द्र भण्डारी (उपप्रमुख समाचारदाता, रासस केन्द्रीय कार्यालय) विशेष सम्मान गरेको छ ।

यो वर्षको ‘उमाकान्त–गीतादेवी–चन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार’ स्थानीय समाचारदाता (स्ट्रिङ्गर) रवीन्द्र काफ्ले (पाँचथर) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु ७ हजार ५०० छ । उक्त पुरस्कार रासस कार्यालय तुलसीपुर, दाङका प्रमुख नारायणी रजौरेले आफ्ना मातापिता र भाइको स्मृतिमा स्थापना गरेका हुन् ।

कर्मचारी सङ्घ, राससले स्थापना गरेको ‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ वरिष्ठ समाचारदाता प्रभाषचन्द्र झा (रासस प्रदेश नं २ कार्यालय, जनकपुर) र कार्यालय सहयोगी खीलप्रसाद दाहाल (रासस केन्द्रीय कार्यालय) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार छ ।

त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, रासस शाखाद्वारा स्थापित ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ दीपराज सन्याल (अंग्रेजी समाचार, प्रमुख) र राजेशकुमार श्रेष्ठ (उपव्यवस्थापक, लेखा शाखा) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार ५५५ छ ।

रासस
लेखकको बारेमा
रासस