ताजा अपडेट »

बन्द रहेका ११ एयरलाइन्सलाई ३० दिन भित्र बक्यौता रकम बुझाउन अल्टिमेटम

सोमबार, २६ माघ २०७७, १२ : १५
4 Shares

काठमाडौँ । नेपाल नागरिक उड्ययन प्राधिकरणले हाल सञ्चालनमा नरहेका ११ वटा एयरलाइन्स कम्पनीहरुले बक्यौता रकम बुझाउन बाँकी रहेको भन्दै ताकेता गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले हाल बन्द अवस्थामा रहेका विभिन्न ११ एयरलाइन्स कम्पनीलाई बक्यौता रकम बुझाउन ३० दिनको अल्टिमेटम दिएको हो । प्राधिकरणका अनुसार हाल सञ्चालनमा नरहेका तर, बक्यौता रकम बुझाउन बाँकी रहेका कम्पनिहरुमा नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउण्टेन एयर, कस्मिक एयर, सांग्रिला एयर, स्काइलाइन एयरवेज, एयर काष्ठमण्डप र नेपाल एयरवेज रहेका छन् । यी कम्पनीहरुबाट ९ करोड ६८ लाख रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको बताइएको छ ।

बुझाउनुपर्ने बक्यौता रकम पटक पटक सूचना गर्दा पनि ती कम्पनीहरुले नबुझाएको उल्लेख गर्दै प्राधिकरणले उक्त समयावधि भित्र पनि रकम भुक्तानी नगरे भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारवाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिने चेतावनी दिएको छ । प्रचलित ऐनअनुसार सञ्चालक, एकाघरका परिवारका एवम् जमानी बस्नेहरुको जयजेथाबाट सरकारी बाँकी सरह असूल उपर गरिने पनि उल्लेख गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।