ताजा अपडेट »

बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

शनिबार, १० माघ २०७७, २० : १०
2 Shares

सिन्धुली । सिन्धुलीमा आज बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ कञ्चनपुर निवासी ४१ वर्षीय वसन्त मुखिया रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । उनकाअनुसार मुखियाको उपचारका क्रममा मृत्यु भएको हो । सिन्धुली हुँदै खुर्कोटतर्फ जाँदै गरेको ज१च १३५४ नंको बलेरो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

बोलेरो चालक धनुषाका गोविन्दपुर–६ का अन्दाजी २२ वर्षीय सिजल यादव गम्भीर घाइते भएका छन् । उनको सिन्धुली अस्पताल उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बञ्चरो प्रहारबाट महिलाको मृत्यु जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीमा श्रीमान्ले श्रीमतीमाथि बन्चरो प्रहार गर्दा महिलाको मृत्यु भएको छ । चिसापानी बस्ने अन्दाजी ३६ वर्षीया रमामाया घलानलाई ४० वर्षीय शेरबहादुर भुजेलले बन्चरोले हिर्काउँदा रमामायाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी श्यामबहादुर खत्रीले दिएको जानकारीअनुसार गएराति शेरबहादुरले रमामायालाई बन्चरोको पासोले टाउकोमा हिर्काएका थिए । श्रीमान्को कुटाइबाट गम्भीर घाइते भएकी रमामायालाई उपचारका लागि जिल्ला अस्पताल हेटौँडा मकवानपुर लगिएको थियो । उनको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बन्चरो प्रहार गर्ने भुजेल घटनापछि फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

रासस
लेखकको बारेमा
रासस