ताजा अपडेट »

विष्णु भाइको तरकारी बारीमा पुग्दा..

सोमबार, २४ बैशाख २०८१, ०७ : ०५
802 Shares
सोमबार, २४ बैशाख २०८१
802 Shares

भुवन अर्याल

बैसाख १८ दिउँसो दुई बजेको चर्को घाम दक्षिणतिरबाट तिब्र रुपमा तातो हावा ! म तिलोत्तमा ६ कुञ्जलापुरममा रहेको बिष्णु भण्डारी कृषि फर्ममा पुगें । भाइ बिष्णु भण्डारीको कृषि फर्म दुई बिगाहा क्षेत्रफलमा फैलिएको १००% अर्गानिक कृषि फर्म हो । वहाँले आफ्नो कृषि उत्पादनमा कुनै पनि प्रकारको रासायनिक मल तथा किटनासकको प्रयोग नगरि अत्यन्तै राम्रो उत्पादन गरि रहनु भएकोले यो मौलिक र पृथक छ । मकै, गोलभेडा, फर्सी, काँक्रा, तरबुजा, लौका घिरौंला जस्ता तरकारीहरु वहाँले उत्पादन र बिक्रि वितरण गर्दै आउँनु भएको छ । म  त्यहाँ पुग्दा बिष्णु भाइ इ–रिक्सामा आफ्नो उत्पादन बेच्न बजार निस्कनु भएको, वहाँको जीवन साथी निर्मला भण्डारी कृषक भ्रमणमा चितवन जानू भएको रहेछ ।

बुटवल कालिका स्कुलमा कक्षा १२ को परीक्षा दिईरहेको छोरा निश्चल भण्डारीले  मलाई पानी पिलाए । म तरकारी लिनको कुरा बुझेपछि उनी बोरा बोकेर काक्रा, फर्सिको मुन्टा र लौका टिप्न खेततिर गए । घरमा बसेर भोलिको जाँचको तयारीमा रहेको किसानको छोरा आफ्ना बाबा आमाको पेशामा सहयोगी बने । उनले घरको काममा  हात बढाए । हजुर हामीले आफ्ना छोरा छोरीलाई यस्तो प्रकारको संस्कार दिएका छौं  ? बाबु आमाले कामका लागि खेताला खोजिरहेको तर छोरा छोरी कामको निमिक्त भौतारिरहेको आजको अवस्थालाई कृषि कर्मले मात्र सुधार गर्न सक्छ भन्ने मलाई महशुस भयो ।

kharbuja

बैंकले धोखा दिए पनि वडाको साथ
दैनिक १८ घण्टा खटेर उत्पादनमा लाग्ने कृषक परिवारलाई सरकारको कुनै प्रकारको साथ छैन । भाषणमा मात्र कृषिका कुरा उठेपनि कृषकहरु मैत्री नीति छैन राज्यको । कृषि विकास बैैंकको मंगलापुर शाखाले वहाँलाई एसआई प्यानलबाट घर बनाउँन ३० लाखको ऋण दिने कबोल गरेको तर २० लाख दिएपछि बाँकी रकम रोकिदियो । त्यति मात्र होइन भैंसी किन्न ऋण दिन्छौं भन्ने बैंकले भैंसी किनिसकेपछि के मिलेन भनेर ऋण दिएन । यहिँ कुरा पनि वहाँले डराई डराई भन्नुु भो । नामै कृषि विकास बैंक राखेर कृषकहरुलाई उत्पादनमा सहयोग नगर्ने बैंकले नाम कृषि विकास भनेर किन राखेको होला ? उपभोक्तालाई स्वस्थकर तरकारी ख्वाउँने कुनै बिषादी र रासायनिक मल प्रयोग नगर्ने किसानलाई हरतरहले प्रोत्साहान गर्नु पर्नेमा उल्टै ऋण दिने कबोल गरेर पनि ऋण नदिने बैंक रहेछ कृषि विकास बैंक । एउटा सकारात्मक पाटो चाहिँ  रहेछ तिलोत्तमा नगरपालिका वाड नं ६ का वडाध्यक्ष गणेश पाठकले वडाबाट हुन सक्ने सबै प्रकारको सहयोग र तथा व्यक्तिगत प्रोत्साहान गर्नु भएको कुरा कृषक दम्पतीले मुक्तकण्ठले प्रशंसा गर्नु भयो ।

दुष्ट सरकार उपभोक्तामा चेतनाको कमी
हामी भारतीय सीमा नजिक छौं । भारतबाट विभिन्न  प्रकारको बिषादीयुक्त तरकारी तथा फलफूलहरु सहजै बजारमा आइपुग्छन् । भारतीयहरुले नेपालमा बेच्नकै लागि भनेर अत्यधिक बिषादीयुक्त उत्पादनहरु तयार गर्छन् जुन उनिहरु खाँदैनन् । तर नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्दा पनि चेक जाँच र परीक्षण बिना नै फलफूल तथा तरकारी ल्याउँन दिने दुष्ट सरकार हाम्रो भाग्यमा छ । संसारको कुनै पनि मुलुकमा यसरी बेरोकतोक र विना परीक्षण बस्तुहरुको आयात गरिंदैन ।

हामी नागरिकहरु पनि आफैमा खराब छौं जान्दा जान्दै र बुझ्दा बुझ्दै पनि आफ्नो भान्सामा बीष हुलि रहेका छौं । भाषणमा मात्र ठूला ठूला कुरा गर्ने व्यवहारमा विदेशीहरुको तलुवा चाट्ने राजनीतिक नेतृत्व र सरकार भएको देशमा आम उपभोक्ता सचेत हुनु पर्छ । संभव भएसम्म हामी हाम्रै किसानहरुले उत्पादन गरेको फलफूल, तरकारी , माछा मासु र दुग्धजन्य पदार्थहरु प्रयोग गर्दा स्थानीय कृषकहरुलाई प्रोत्साहान मिल्ने र स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने हुन्छ भन्ने सबैले बुझौं ।

krishi

अन्तमा :  बिष्णु भण्डारी कृषि फर्म आफैमा एउटा अर्गानिक कृषिको पाठशाला हो । उक्त फर्मबाट उत्पादित फलफूल तरकारी उपभोग गर्नुका साथै आफ्नो कौसि तथा करेसाबारीमा बिषादी रहित खेती गर्ने तरिका पनि सिक्न सकिन्छ । कृषिसँग हाम्रो जीवन जोडिएको छ । कृषि पेशालाई नाफा घाटाको रुपमा मात्र नलिएर जीवन पद्दतिको रुपमा ग्रहण गरौं । संभव भएसम्म जग्गा हुनेले जति सकिन्छ जग्गामा नहुनेहरुले कौसीमै भए पनि तरकारी खेती गरेर स्वस्थ रहन प्रयत्नशील हौं ।
कृषि कर्ममा लाग्नेहरुले अरु शारीरिक व्यायाम नगरे पनि खासै फरक पर्दैन ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।