ताजा अपडेट »
यात्रा संस्मरण

पूर्वखोलाको यात्रा : ढोलीमाराको जात्रा

सोमबार, २४ बैशाख २०८१, १६ : ३२
874 Shares

बुढापाकाले भन्थे-मंगल नजुट्नू, शनि नछुट्नू । तर हाम्रो टोली त मंगलवार नै जुटेर पूर्वी पाल्पाको पूर्वखोलातिर पो लाग्यो । विहान १० वजे बुटवल छाड्ने सूचना त साथीहरुको कानमा पुगेन कि मोबाईलको घडीले धोका दियो पत्तै भएन । कुरो लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीको हो । टोलीमा कार्यसमिति र सल्लाहकार गरेर २९ जना थियौं ।

११ बजेर ११ मिनेट जाँदा मोटर हुँइकियो ..
वार्षिक कार्ययोजना तर्जुमा एवम् संस्था सञ्चालन र व्यवस्थापन विषयक् तालिमका लागि टोली उतैतिर लम्केको थियो । यो कुरा २०८१ बैसाख १८ गतेको हो । भ्रमण र कार्यक्रम गरी दुई दिन समय उत्तै बिताउने संघको सल्लाह भएकै थियो । ११ बजेर ११ मिनेट जाँदा बस भानुपार्कहुँदै पाल्पातिर अघि बढ्यो । गोलपार्क, चिडियाखोला, सिद्धबाबा, दोभान, झुम्सा, केराबारीहुँदै गौंडेको पुलमा मोटर घ्याँच्च रोकियो । साथीहरुले चिसोपानी बोत्तलमा भरे । केरा किने । अर्थोक नि किने । भ्रमणको संयोजक सो संघका निवर्तमान अध्यक्ष मनीष पन्थ थिए । बेलाबेलामा उनले साथीहरुलाई लौ है ! लौ है छिटो गरौं भनिरहन्थे । आर्यभञ्ज्याङ्ग कटेपछि साथीहरुलाई भोक लाग्यो । बाटामा रोकेर भुजा, दालमोठ, चाउचाउ र बिस्कुटको व्यवस्थापन संघका प्रथम उपाध्यक्ष माधव पन्थ र महासचिव त्रिभुवन पाण्डेयले गरेका थिए ।

बसमा मसँगै बसेका मनीषको पेट बटारेपछि मोहन महतो र मसँगै भयौं । मनीष र कमलाको जोडी ढुकुरजोडी बने । उनीहरुलाई नेपाल फोटोग्राफर महासंघका केन्द्रीय संयोजक महेन्द्रप्रसाद उपाध्यायले उडाउनसम्म उडाए । मजाक पनि राम्रै चल्यो । यात्रामा एकले अर्कोलाई नउडाई मज्जा नै नआउने कुरा उनै महेन्द्रले बताउँदै थिए ।

dholimara1

हुमिन पुगियो । त्यहाँबाट देवीनगर नपुग्दै देब्रेबाटो हुँदै पूर्वखोला गाउँपालिकाको प्रशासनिक भवनतिर हुँइकियौं । कतै ग्राबेलिङ्ग हुँदै रहेछ । कतै कच्चीबाटो धूलो उठाउँदै बाइरोडको बाटोजस्तै गरी मोटर दौडिरह्यो । कहिँकतै साँघुरो बाटोले सात्तो खान्थ्यो । तर साथीहरुले ऐंशेलु टिपेर खान समेत भ्याए ।

दिउँसोका सवा दुईवजे हामी गाउँपालिकाको भवन पुग्यौं । गाउँपालिकाका प्रवक्ता मेहरसिंह थापाले हामीलाई फोनमार्फत पालिका भवनतिर आउन दिशानिर्देश गरिरहेका थिए ।

फोटोग्राफीका कुरा जनप्रतिनिधिहरुसँग..
हामी पालिकातिर पुग्दै गर्दा पालिकाका अध्यक्ष नुनबहादुर थापा र उपाध्यक्ष भागिरथी भट्टराई भने उद्बुद्द माविको वार्षिकोत्सव तथा अभिभावक दिवसमा सरिक भएका रहेछन् । केहीबेरको कुराईपछि उनीहरु आए । पालिकाको सभाहलमा पसियो र बसियो । कार्यक्रम अनौपचारिक रुपमा मैले नै सुरु गरें । संघका साथीहरुले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रवक्ता र निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद नेपाललाई खादाले सम्मान गरे । सो काममा संघकी सचिव कमला घर्तिमगरले संयोजन गरेकी थिइन् ।

संघका निवर्तमान अध्यक्ष मनीष पन्थ, वर्तमान अध्यक्ष दिनेश अर्याल र महासंघका केन्द्रीय संयोजक महेन्द्र उपाध्यायले फोटोग्राफी, यसको अवस्था, पालिकाहरुसँग यसको सम्बन्ध,सेवा र सुविधासँगै वर्तमान चुनौतीका बारेमा संक्षिप्त अभिमुखीकरण  गरेका थिए । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यमा जस्तै फोटोग्राफी शिक्षा र तालिमका लागि वजेट विनियोजन गर्न सकेमा स्थानीय युवाहरुले गाउँमै रोजागारी प्राप्त भई विदेश जाने चलन रोकिन सक्ने बारेमा तीनैजना वक्ताहरुले  जोड दिएका थिए ।

अभिमुखीकरण कार्यक्रम भइरहँदा बढो मिहिनेत र जाँगरका साथ प्रेमबहादुर अर्याल,कमला तिवारी लगायतले क्यामेराको प्रयोग गरिरहेका थिए । पछिल्लो समय मनीष पन्थ,मोहन महतो लगायतका साथीहरुले आफ्नो क्यामेराको अत्यधिक प्रयोग गरेका थिए ।

अध्यक्ष नुनबहादुर थापाले फोटोग्राफरहरुकै कुरालाई आधार बनाएर आफ्नो गाउँपालिकाभित्र भए, गरेका कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यका बारेमा भएमा व्यापक प्रचार आवश्यक भएको बताउँदै फोटोग्राफर एवम् फोटो पत्रकारहरुलाई त्यसो गर्न उनले अनुरोध समेत गरेका थिए । मनीष पन्थ र संघको प्रेस सल्लाहकार मोहन न्यौपानेले भिडियो समेत खिचेका थिए । परिचयात्मक एवम् अभिमुखीकरण कार्यक्रम,करिव दुईघण्टामा सम्पन्न भएको थियो ।

हामीलाई मिठो खाजा खुवाउने पालिकालाई हार्दिक धन्यवाद दिदैं पूर्वखोला गाउँपालिकाको वडा नं. २ को जल्पा, ढोलीमारातिर उक्लियौं । देवीनगर कटेर जल्पा नपुग्दै चौपारीमा मीना र तुलसाले व्यव्स्थापन गरेको १४ माना काफल, नून, खुर्सानीसँग खाँदाको मिठो स्वादको बयान खोइ कसरी पो गर्न सकिएला र ?  

फूलमालाले स्वागत : पञ्चेबाजामा झुम्दै..
जल्पामा बाटो बनाउने काम भएको कारण हामीले बस त्यतै छाड्यौं । करिव एक किलोमीटरको दूरीमा रहेको ढोलीमारा हिडेर जाने निधो गरियो ।
 
गाउँ नपुग्दै तिलक आले र भिमीसरा दिदीको घरमा पञ्चेबाजाले हाम्रो टोलीको भव्य सम्मान भयो । त्यहाँ त जात्रा लागेजस्तै भान भो मलाई । फूलको माला गलामा, निधारमा रातो टीका अनि पञ्चेबाजाको शूरमा टोलीका साथीहरु भव्य नाँचे । खुसी भए । ठूलो माधव पन्थ, महेन्द्र, त्रिभुवन, सानो माधव पन्थ, कमला घर्तिमगर, पत्रकार थानप्रसाद डुम्रे, दिनेश अर्याल नाँच्दा धूलो आकासतिर उडिरहेको थियो । गीता कंडेल, गीता पंगेनी, लोकहरि र जीवनले पञ्चेबाजालाई साथ दिए । साँझ झपक्कै भएको थियो ।

dholimara home stay

साझा घरतिर पुगियो । आगनभरि बेञ्चा र टेबल मिलाइएका थिए । हामीहरु बसियो । खाजा खाइयो । नाँच हेरियो । घाँटु, ठूलो नाँच, सालेजो, झ्याउरे नृत्यले सबैका मन लोभ्यायो । त्रिभुवनले ड्रोन उठाए । भैरहवाका दीपक दाइले दमदार फोटो खिचे । प्रेम, कमला तिवारी लगायतले बढो मिहिनेतका साथ फोटो खिचिरहेका थिए । स्थानीय रनवीर भाइले फेसबुकमार्फत नृत्यहरुलाई प्रत्यक्ष प्रशारण गरेका थिए । उनले बजाएरको सनाहीको के बयान गर्ने र ?

माया, सावित्रा, लालुमाया, कमला, भूमि, सीमा, मीना, भिमिसरा लगायतका दिदीबहिनीहरुले पाहुनाहरुलाई खाजा र खाना खुवाए । रुचि राख्नेहरुलाई तीनपाने पनि हल्का प्रवन्ध थियो । स्थानीय ढोलीमारा सामुदायिक होमस्टे व्यवस्थापन समितिका सदस्य एवम् शम्भु माविका प्रअ चित्र सरले सबैलाई स्वागत भाषण गरे । मनबहादुर सरले कार्यक्रम सञ्चालन गरे । महेन्द्र उपाध्यायले आफ्ना साथीका परिचयसँगै ढोलीमारामा आउँदा अत्यन्तै खुसी भएको खबर प्रवाह गरे । वडाध्यक्ष निरबहादुर सारुले भव्य सम्मान गरे । रामु भण्डारी, लेखनाथ लगायतका साथीहरुका नृत्य अत्यन्तै प्रभावकारी थिए । सबै साथीहरु झुमीझुमी नाँचेका थिए । स्थानीय कलाकार साथीहरुका नृत्यबाट हाम्रा साथीहरु बहुत खुसी भएका थिए । खानापछि सवा १० वजेतिर तोकिएको थलोतिर सुत्न लाग्यौं ।

चुलीडाँडातिर सुइँकिदा..
विहान सबै साथीहरु साझा घरमा जम्मा भयौं । होमस्टेका अध्यक्ष पहलसिं दाइ, मनबहादुर र चित्र सर पनि आइसकेका थिए । गीता कंडेल भने आइनन् । गीता पंगेनी, कमला घर्तिमगर, कमला तिवारी भने पर्यटकीय डाँडो चुलीडाँडा जाने भनेर कस्सिएर आइपुगे । हामी उकालो लाग्यौं । हाम्रो टूरगाईड पहलसिं दाइ भए । उनले केहीबेरको हिडाई पछि आफूहरुले गरेको सामुहिक किवी खेतीका बारेमा जानकारी गराए । गत वर्षदेखि किवी फल्न थालेको, केही आम्दानी प्राप्त भएको, स्थानीयहरुलाई स्वरोजगार दिएको कुरा सुनाए । साथीहरुले भिडियो समेत खिचे । आफ्नो गाउँको हावापानी किवी खेतीका लागि सुहाउँदो रहेको समेत उल्लेख गरे । त्यसैगरी गाउँमा आफूहरुले कबुलियती वनमार्फत अम्रिसो खेती गरेर आम्दानी गरेको सुनाए । गत वर्ष चार लाख ६५ हजारको अम्रिसो बेचेपनि यस वर्ष बाटो निर्माण भई गाउँमा ट्रक आउन नसकेको कारण अम्रिसो बेच्न नपाएको बताए ।

ढालावाला बोलेरो जीप चढेर हामी चुलीडाँडा उक्लियौं । त्यतिबेला घडीले पौने सातको संकेत गरिरहेकै थियो । चुलीडिाँडाको भ्यूटावरबाट उत्तरतिर हेर्दा हिमश्रृङखला देखिन्छ, तुँवालो नलाग्दा । तर हामीले तुँवालाका कारण दन्तेलहर हिमाल हेर्न पाएनौं । तराइका फाँटलाई  नियाल्न सकेनौं । टावरबाट मैदान गाउँ र बहादुरपुर जाने जोमिख बाटो हेरेर चित्त बुझाइयो । डाँडामा बनाइएका गोलघर(आदिवासी संग्रहालय), झुलाहरु, ससाना पार्कहरु र बाघको आकृति हेरेर चित्त बुझाइयो । विभिन्न थरिका बेर्नाहरु सुरक्षित तरिकाले हुकाईदै रहेछ । पानीको अभावले बेर्नाहरुले आकासका भर परिरहेका भान मलाईमात्र होइन सबैलाई भएकै हुनुपर्छ । पानीको फोहोरा निकट भविष्यमै देखिने छ । स्थानीयहरुले लिफ्टिङ्गमार्फत चुलीडाँडामा पानीको प्रवन्ध गर्दै रहेछन् भन्ने कुरा पहलसिं दाइका कुराबाट थाहा लाग्यो । साथीहरु मौवाको रुखमा चढेर कौवा बने क्षणभरका लागि ।

चुलीडाँडाको आकर्षक प्रवेशद्वारले सबैलाई एकपटक फोटो खिच्न बाध्य बनाएको थियो । करिव एक घण्टाको चुलीडाँडाको बसाईमा रनवीरको सनाही बजाएको भिडियो रेकर्डिङ्ग गरियो । उनले बाँसुरी नि मज्जाले बजाएका थिए । मन्त्रमुग्ध बनाएका थिए उनले ।

chuli danda

हिड्दै हामी ओरालो झरियो । हामीसँगै पाकापुराना फोटोग्राफरामराज शर्मा पनि लौरो टेक्दै ओरालो झरे । उनको हिम्मतलाई सलाम गर्नै पर्छ । बीच बाटोमा डिभिजन वन कार्यालय, पाल्पाको आर्थिक एवम् प्राविधिक सहयोग  र स्थानीयहरुको श्रमदानमा स्काइब्रीज बन्न लागेको कुरा पहलसिं दाइले देखाए । त्यहाँबाट ढोलीमारा गाउँमात्र होइन वरिपरि सबै गाउँहरु देख्न सकिने कुरा थाहा लाग्यो ।

साझा घरमा पसेर आकास, काशीराम, नवीन, मानबहादुर लगायतले कोदोको रोटी, चटनी र चिया हसुरियो । केही साथीहरुले ढाइरोटी डम्फ्याए छन् । मैले भने एउटो रोटीले चित्त बुझाएर बास बसेको डोलबहादुर घर्ति दाइको घरतिर नुहाइधुँवाई गर्न आइपुगें । मनीष र म सँगै सुतेका थियौं गएराति । होमस्टेमा छुट्टाछुट्टै खाने र सुत्न प्रवन्ध गर्ने चलन नयाँ भने होइन ।

शरीर थाकेपनि स्फूर्ति बेग्लै..
होमस्टेको अफिसमा सबै साथीहरु भेला भयौं । तालिम सुरु गर्दा विहानको साढे नौ बजेको थियो । अनौपचारिक रुममा कार्यक्रम सुरु भयो । संघका महासचिव त्रिभुवनले तालिम सञ्चालनका लागि फ्लोर मलाई दिएका थिए । दुई घण्टा लगातार मैले र माया रानाले सहभागीहरुलाई सहजीकरण गर्ने अवसर मिलेको थियो । साथीहरु गएरातिको नाँच, विहानको चुलीडाँडाको यात्राले केही थकित देखिन्थे तरपनि स्फूर्ति भने कम्ति देखाएनन् । विषयवस्तुमाथि छलफल र अन्तत्र्रिmया गर्दै हामीहरुले आफ्नो संघ, सञ्चालन र व्यवस्थापनका लागि चाल्नुपर्ने कदमका बारेमा वृहत् छलफल गरियो ।

दिनेश अर्यालको नेतृत्वले यो आव २०८१ र २०८२ का लागि नयाँ कार्ययोजना बनाउने तयारी गरेको थियो । समाज र संस्थाको हित हुने कार्यक्रम गर्ने, त्यसका लागि जिम्मेवारी तोक्ने, आम्दानी बढाउने खेलोको समेत खोजी भएको थियो । प्रमुख अतिथिका रुपमा महेन्द्र उपाध्यायले संघको कार्यलाई प्रभावकारी बनाउन सबै मिलेर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रम सकियो । उता भने भातले सिङ हालिसकेको थियो । कुखुरोको झोल सेलाइ सकेको थियो । तैपनि ग्वामग्वाम खाँदा पेटले भोकको गतिलै महसुस गरेकै थियो ।

dholim mara yatra

छुट्टिदा मनै चुँडेजस्तो ..
स्थानीय दिदीबहिनी र मनबहादुर जीले फूलको गुच्छाले विदाइ गरे । होमस्टे बोर्डमा फोटो खिचेर ढोलीमारालाई फेरि भेटौला भनेर हिडियो । जल्पामा वडाध्यक्ष निरबहादुर सारुलाई  भेटेर मायाको चिनो दिइयो । बस चढेर हिडियो । जोरधारा उत्तम खाजा घरमा नास्ता खाइयो । बुटवल आइपुग्दा साँझको ८ बज्दै थियो । साथीहरु आआफ्ना बाटा लागे । बिदाइका हात हल्लाउँदै मोटरबाट झर्दा त मनै चुँडिएजस्तो हुँदोरहेछ ।
घरमा आइपुग्दासम्म मोटरमा महेन्द्र, दिनेश, माधव नाँचेको आँखामा नाँचिरह्यो ।

photo grapher

 

 

 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार