ताजा अपडेट »

महाशिवरात्रीका लागि सजियो सिद्धबाबा : पूजाका लागि भक्तजनलाई टोकनको व्यवस्था

विहीबार, २४ फागुन २०८०, १७ : ५०
312 Shares

बुटवल । सिद्धबाबा मन्दिर बिकास समितिले यस वर्षको महा शिवरात्रीमा भक्तजनलाई सहज व्यवस्थापनका लागि टोकनको व्यवस्था गर्ने भएको छ । महाशिवरात्रीको अवसरमा समितिले शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तनको आयोजना गर्नुका साथै विगत वर्षहरुमा जस्तो पूजाका लागि लाइन लाग्न नपर्नेगरी टोकनको व्यवस्था गरिएको अध्यक्ष सन्तोष कुमार शेरचनले बताए ।

भक्तजनको पूजा व्यवस्थापनका सिद्धबाबाको निःशुल्क बस बाहेक थप ५ वटा बसको व्यवसथापन गरिएको उनले बताए । बुटवलको योगीकुटी, राजमार्ग चौराह, मिलनचोक, ट्राफिक चोक, गोलपार्क तथा पाल्पाको झुम्सामा बसको व्यवस्था गरी दिनभर यातायात उपलब्ध गराउने उनले बताए । सिद्धबाबा मन्दीरले नियमित सञ्चालन गर्दै आएको बाहेक अन्य बसमा उक्त दिन न्युनतम शुल्क २५ रुपैयाँ भाडादर निर्धारण गरिएको समितिले जनाएको छ ।

महाशिवरात्रीका दिन शुक्रबार विहान साढे ३ बजेदेखि पूजापाठका लागि मन्दिरको मूल गेट खुला गरिने बताउँदै मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष अम्मर प्रधानले ४० हजार बढी भक्तजनले दर्शन गर्ने अपेक्षा गरिएको उल्लेख गरे । भक्तजनलाई टोकनको व्यवस्था गरी पूजा गर्ने पालो नआउँदासम्म तथा पूजापछि पनि अखण्ड हरिकिर्तनमा सहभागी भई मनोरञ्जन लिन पाउनेगरी व्यवस्था मिलाइएको उनले बताए ।

महाशिवरात्रीको दिन अन्य समयभन्दा भक्तजनको भिड बढी हुने भएका कारण प्रहरी चौकी दोभानसँग समन्वय गरी ३ दर्जन बढी सुरक्षाकर्मी, स्थानीय युवा तथा सामाजिक संघ संस्थाबाट खटिने स्वयम् सेवकबाट सुरक्षा व्यवस्था मिलाइएको सचिव अरबिन्द पाण्डेले जानकारी दिए । यसैगरी मन्दिरमा रहेका १२ वटा सीसीटिभी क्यामेराबाट यहाँको सुरक्षा अवस्थाबारे अवलोकन तथा निगरानी राखिने बताए ।

पश्चिम नेपालकै पशुपतिको रुपमा बिकास गर्ने लक्ष्य राखिएको सिद्धबाबा मन्दिरमा भक्तजनलाई पूजापाठका लागि सकेसम्म सहज हुने गरी व्यवस्था मिलाउने प्रयास भैरहेको सदस्य तोया लम्सालले जानकारी दिए । तयारी बारे जानकारी दिन विहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले महाशिवरात्रीका दिन भक्तजनका लागि प्रशाद वितरण, निशुल्क भोजन लगायतका लागि भण्डारा सञ्चालन गरिने बताए ।

महाशिवरात्रीको दिनबाहेक वार्षिक डेढ लाख बढी भक्तजनले दर्शन गर्ने सिद्धबाबा मन्दिरमा संकलित दान दक्षिणाबाट मन्दिरको भौतिक संरचना निर्माण तथा तिनाउँ गाउँपालिका भित्रका धार्मिक पर्यटकीय क्षेत्र र शैक्षिक क्षेत्रमा लगानी गर्ने गरिएको सदस्य रामबहादुर थापाले जानकारी दिए । मन्दिरमा वार्षिक करिब डेढ करोड आम्दानी हुने गरेको समितिले जनाएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।