ताजा अपडेट »

भूकम्पपछि २३ हजार निजी आवास र एक हजार कक्षाकोठा पुनःनिर्माण

मंगलबार, १४ पुस २०७७, १४ : ३४
12 Shares

वाग्मती । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मकवानपुरका २२ हजार १०५ निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माणका लागि जिल्लामा पहिचान भएका ३४ हजार १८८ मध्ये ३२ हजार ८०५ अर्थात ९३ प्रतिशत लाभग्राहीसँग सम्झौता गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाइ अनुदान व्यवस्थापन कार्यालय मकवानपुरले जनाएको छ ।

सम्झौता गरेकामध्ये ७८ प्रतिशतले दोस्रो र ६५ प्रतिशतले तेस्रो किस्ता प्राप्त गरेको व्यवस्थापन कार्यालय मकवानपुरका प्रमुख विमलकिशोर केपीले जानकारी दिए ।
जोखिम वर्गका ६१ घर पुनःनिर्माण

जोखिम वर्गका ६१ घर पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पपछि असुरक्षित स्थानमा रहेका २६ मध्ये २२ लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको प्रमुख केपीले बताए । ६२७ लाभग्राही जोखिम वर्गमा परेको र पाँच हजार ५७५ जनालाई साविकै स्थानमा घर निर्माण गर्न स्वीकृत प्रदान गरिएको उलले जानकारी दिए ।

भूकम्प प्रभावित एक हजार २२६ कक्षा कोठा पुनः निर्माण

जिल्लामा हालसम्म कूल ३०४ विद्यालयको एक हजार २२६ कक्षाकोठा पुनःनिर्माण सम्पन्न भई प्रयोगमा आएको जनाइएको छ । जापान सरकारको ऋण सहयोगमा हालै ११ विद्यालयका १३२ कक्षाकोठा निर्माणका लागि बोलपत्रको प्रक्रिया अगाडि बढेको, एशियाली विकास बैंकको ऋण सहयोगमा थप तीन विद्यालय निर्माणका लागि प्रक्रिया अगाडि बढेको जिल्ला आयोजना कार्यान्वयन इकाई ९शिक्षा० का प्रमुख बद्रीबहादुर पाठकले जानकारी दिए ।

उहाँले विद्यालय व्यवस्थापन समितिमार्फत निर्माणाधीन रहेका २५२ विद्यालय भवनको ७९३ कक्षाकोठामध्ये हालसम्म २५१ भवनको ७८९ कक्षाकोठा र ७० वटा शौचालय पूर्णरुपमा निर्माण सम्पन्न भइसकेको जानकारी दिए । यसैगरी जापानी सहयोग नियोग, जाइकाको ऋण सहयोगमार्फत निर्माणहुँदै गरेकामध्ये जम्मा ४१ विद्यालयमध्ये २७ विद्यालयको २७८ कक्षाकोठा निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको र १४ विद्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा रहेको प्रमुख पाठकले बताए ।

त्यस्तै एशियाली विकास बैंकको नमूना विद्यालयतर्फ एउटा विद्यालयको ४८ कोठे भवन निर्माण कार्य सम्पन्न भई हस्तान्तरण भएको साथै तीन विद्यालयको ४८ कोठे भवन निर्माण अन्तिमचरणमा पुगेको उनले बताए । उनका अनुसार आर्थिक वर्ष २०७६/७७ को अन्तिम समयमा प्राप्त भएका ६१ विद्यालय भवनको २१७ कोठा, ७९ शौचालय र ८५ विद्यालय खानेपानी व्यवस्थापनका लागि विद्यालय व्यवस्थापन समितिमार्फत सम्झौता भई निर्माण कार्य अगाडि बढेको छ ।

विंस २०७२ गोर्खा भूकम्पपछि जिल्लामा निजी आवास, विद्यालय संरचनालगायतको पुनःनिर्माणमा उल्लेख्य प्रगति भएको जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए । शुरुका दिनमा केही समस्या देखिएको भए पनि समग्रमा सबैको सहयोग र समन्यवमा काममा उपलब्धि हासिल गर्न सकिएको उनको भनाइ छ । उनले जिल्लामा अब बाँकी रहेका पुनःनिमाणको काम सकारात्मक रुपमा लागेर समयमै सम्पन्न गर्नुपर्ने बताए ।

रासस
लेखकको बारेमा
रासस