ताजा अपडेट »

मौसम परिवर्तनले बिरामी बढे, औषधि अभाव

मंगलबार, १० बैशाख २०७६, १२ : ०७
6 Shares

वैशाख १०,

बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । जिल्ला अस्पताल बैतडीमा दैनिक बिरामीको चाप बढ्दै गएको अस्पतालका स्वास्थ्य सहायक खेमराज भट्टले जानकारी दिनुभयो ।

मौसमी ज्वरो, रुघाखोकी, झाडापखालालगायतका बिरामीको सङ्ख्या बढेको उहाँले बताउनुभयो । यी रोगबाट अन्यको तुलनामा बालबालिका बढी प्रभावित भएको उहाँले उल्लेख गर्नुभयो । अस्पतालमा दैनिक १०० को हाराहारीमा बिरामी आउने गरेको भट्टले जानकारी दिनुभयो । यस्तै केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पनि दैनिक ७० को हाराहारीमा बिरामी आउने गरेको स्वास्थ्य सहायक मुकेशकान्त दयालले जानकारी दिनुभयो । पहिलाको तुलनामा आजभोलि ज्वरो, झाडापाखालालगायतका बिरामी बढेको तर प्राथमिक स्वास्थ्य केन्द्रमा औषधिको अभाव रहेको उहाँले बताउनुभयो ।

मेलौली नगरपालिकाले औषधिका लागि बोलपत्र आह्वान गर्न नसक्दा औषधि अभाव भएको दयालले बताउनुभयो । सरकारले प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भए पनि आधा औषधि पनि नभएको उहाँले बताउनुभयो ।केन्द्रमा औषधि नहुँदा बिरामी मर्कामा परेका छन् । मौसम परिवर्तन भएसँगै स्वास्थ्यमा विभिन्न समस्या आउनसक्ने भएकाले खानपिनमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् । यो समयमा प्रशस्त मात्रामा पानी पिउनुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।