ताजा अपडेट »

विवाहमा छुवाछुत र भेदभाव : अगुवाले दक्षिणा दिए, भोज खाएनन्

सोमबार, ०९ बैशाख २०७६, १० : ३२
12 Shares

वैशाख ९,

रूपन्देही । जातीय छुवाछुतलाई फौजदारी अपराध मानेर मुद्दा चलाइने कारबाही चलाइने काावधान भए पनि कानुनको उल्लंघन गर्दै समाजमा जातीय छुवाछुतका घटना दोहोरिरहेका छन् । त्यसैको पछिल्लो उदाहरण बनेको छ– रूपन्देही, शुद्धोदन गाउँपालिका–४ फर्साटिकरकी २२ वर्षीया आरती विकको विवाह समारोहमा उपस्थित कथित उपल्लो जाति भनिएकाहरूबाट प्रदर्शित व्यवहार ।

वैशाख ५ गते भएको सो विवाह समारोहमा सहभागी हुन आएका राजनीतिक दलका कार्यकर्ता तथा टोल विकास समितिका अगुवाहरू भोज नखाई फर्केका छन् । विवाहमा बेहुला–बेहुलीलाई आशीर्वाद दिन आएका गैरदलित भनिने समुदायका छिमेकीहरू भोजमा सहभागी नभएपछि विक परिवारले उनीहरूबाट प्राप्त दक्षिण फिर्ता गरिको थियो । रामबहादुर विककी छोरी आरतीको सुनवल असामबासी टोलका रमेश रसाइलीसँग विवाह भएको थियो ।

विवाहमा सहभागी भए पनि भोजमा सहभागी नभई दक्षिणा दिएर फर्किने २२ जनाबाट संकलित छ हजार तीन सय ५० रूपैयाँ वडा अध्यक्षमार्फत फिर्ता

विवाहको निम्तो स्वीकार गरेर आएका २२ जना भोजमा सहभागी नभई दक्षिणामात्रै बुझाएर फर्केकाले आफूहरूको अपमान भएको भन्दै आइतबार शुद्धोधन–४ का वडाअध्यक्ष राजेन्द्र कँडेललाई दक्षिणा वापतको रकम फिर्ता दिएका थिए । ‘छिमेकमा भएपछि मिलेर बस्नुपर्छ भनेर हामीले गैरदलितकै क्याटरिङ ल्याएर मेस चलाएका थियौं तर हामी दलित भएकै कारण समाजका अगुवाहरू भोजमा सहभागी हुनुभएन, त्यसैले उहाँहरूको पैसा फिर्ता दिइयो,’ रामबहादुर विकले भने ।

एउटै समाजमा बसेपछि सहकार्य गर्नुपर्छ भनेर स्थानीय कृष्ण पंगेनीलाई क्याटरिङको जिम्मा दिएर गैरदलित समुदायलाई पनि भोजमा सहभागी गराउन खोजेको रामबहादुरले बताए । तर, विभिन्न बाहाना बनाएर भोजमा सहभागी नभई दक्षिणा दिएर फर्किने २२ जनाबाट संकलित छ हजार तीन सय ५० रूपैयाँ वडा अध्यक्षमार्फत फिर्ता गरेको बेहुलीका काका होम बहादुर विकले बताए । ‘छिमेकमा विवाह हुँदा हामीलाई निम्तो हुँदैनथ्यो, हामीले बोलायौं, भोजमा सरिक हुन आग्रह पनि ग-यौं, तर उहाँहरूले खानुभएन,’ उनले भने, ‘एकैचोटी २२ जना निस्कनुभयो, त्यो पनि समाजका अगुवाहरू । यो घटनाले हामीलाई निकै मर्माहत बनाएको छ ।’

विवाहमा आएर पनि भोजमा सरिक नहुनेमा नेपाली कांग्रेस रूपन्देहीका क्षेत्रीय सदस्य केशव अधिकारी, आमा समूहकी अध्यक्ष रसमाया थापा, टोल विकास समितिका उपाध्यक्ष बालकृष्ण गैरे, आशीष केसी, डिआर कँडेल, गोकुल सुवेदी, कृष्णप्रसाद भण्डारी, गीता खनाल, चित्रबहादुर केसी, इन्दिरा डोटेललगायत छन ।

२२ जनाको नामसहित उनीहरूले दिएको दक्षिणाबापतको रकम वडा कार्यालयमा प्राप्त भएको वडाअध्यक्ष राजेन्द्र कँडेलले बताए । उनले २२ जना एकैचोटी भोजमा सहभागी नभई फर्केकाले भेदभावको आशंका गर्न सकिने बताए । अहिले पनि जातको आधारमा छुवाछुत गर्ने कार्य स्वीकार्य नहुने भन्दै यो विषयमा दुवै पक्षलाई राखेर गाउँपालिकामा छलफल गरिने पनि वडाअध्यक्ष कंडेलले बताए । ‘म पनि विवाहमा सहभागी थिए, यो विषयमा निवेदनसहित दक्षिणा पनि फिर्ता गर्नुभएको छ, हामी यसमा गम्भीर रूपमा छलफल गर्छौं,’ उनले भने ।

विवाहमा सहभागी भएर भोजमा सरिक नहुनेहरूले दिएको दक्षिणा चन्दासरह भएकाले फिर्ता गरिएको वडा कार्यालयमा दिइएको निवेदनमा उल्लेख छ । यो घटनाबाट आत्मसम्मानमा ठूलो चोट पुगेको भन्दै पीडित परिवारले न्यायको मागसमेत गरेको छ । छुवाछुतको भावनाबाट प्रेरित यो घटनाले विक्षिप्त बनाएको दलित वर्ग उत्थान जिल्ला समन्वय समितिका पूर्वउपाध्यक्ष पदम विश्वकर्मा बताउँछन् ।

उनले विवाह भोजलाई सामूहिक रूपमा बहिष्कार गर्ने काम भएकाले उनीहरूलाई कारबाही हुनुपर्ने माग पनि गरे । समाजमा कथित उपल्ला जातिहरूमा समान हुन् भन्ने भावना आउन नसक्दा जातीय छुवाछुत अन्त्य हुन नसकेको उनको भनाइ छ । मुलुकमा परिवर्तन आएको भनिए पनि बौद्धिक तहबाट दलित भनिएका समुदायबाट हुने भेदभाव र अपमानजनक व्यवहार कायमै रहेको बताउँछन् अधिकारकर्मी रेम विश्वकर्मा । मानवीय भावना जागृत नभएकै कारण शिक्षित र प्रतिष्ठित व्यक्तिबाटै जातीय रूपमा भेदभाव भएकाले दलितमाथिको भेदभाव थप डरलाग्दो रूपमा देखिएको उनको तर्क छ ।

राजनीतिक तहका नेतृत्वकर्ता र सामाजिक अगुवाहरू भोजमा सहभागी नभई फर्केको यो घटनाप्रति मानवअधिकारकर्मीले खेद व्यक्त गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोग प्रदेश ५ बुटवलका प्रमुख पवन भट्टले दलित भएकै कारण अपमानित र भेदभावमा पर्ने कुरा कानुनविपरीत भएकाले घटनामा संलग्नलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । जातीय छुवाछुत भेदभाव र कसुर सजाय ऐन २०६८ अनुसार जातकै कारण भेदभाव गर्नेलाई क्षतिपूर्ति भराउनेदेखि कैद फैसला गर्नेसम्मको व्यवस्था छ । -विनोद परियार /नागरिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।