ताजा अपडेट »

सैनामैनाका कृषकलाई मौरीको घार, ३० टनसम्म मह उत्पादन गर्ने लक्ष्य

शुक्रबार, ०५ मंसिर २०७७, १० : ५१
14 Shares

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा कृषलाई आधुनिक मौरीको घार वितरण गरिएको छ । नगरपालिकाले मौरी पालन व्यवसायलाई प्रवर्द्धन गर्नुकासाथै माहुरी स्रोत केन्द्र सञ्चालनका लागि विहीबार कृषकहरुलाई ३० वटा घार वितरण गरेको हो ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग तथा सेतो गुराँस वाल विकास सेवा रुपन्देहीको संयोजनमा कोभिड-१९ उद्धार र सामाजिक, आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत नगरपालिकाको कृषि विकास शाखा मार्फत नगरमा मौरीपालन गर्ने कृषकहरुलाई मौरी घार वितरण गरिएको नगरपालिकाले जनाएको छ । यस नगरपालिका क्षेत्रमा व्यवसायिक रुपमा मौरी पालन गर्ने माहुरी स्रोत केन्द्र सञ्चालनमा आबद्ध १५ जना कृषकहरुलाई दुई/दुई वटाका दरले मौरीको घार प्रदान गरिएको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिए । उनले नगरपालिकामा महको उत्पादन वृद्धि गरी कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले घारसँगै मौरी पालनका लागि आवश्यक पर्ने अन्य सामग्रीहरु कृषकका लागि उपलब्ध गराइएको प्रमुख कार्कीले बताए ।

कार्कीले कृषकहरुले मौरी पालनमा देखाएको चासो र सफलताका आधारमा नगरपालिकाले मौरी पालनका लागि जग्गा लिजमासमेत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । उनले भने -‘अहिले महको राम्रो बजार छ, प्रोत्साहन र प्राविधिक तालिमका लागि नगरपालिका सहयोग गर्न तयार छ, व्यवसायिक रुपमा मौरी पालन गर्नुहोस् ।’ मौरी पालनका लागि आवश्यक पर्ने मौरी घार, मह निकाल्न आवश्यक पर्ने महमदानी, प्लाष्टिक ज्याकेट, घुम्ती टोपी, मह काट्ने जाली, चक्कु, माहुरो ब्रस, घार स्टापड लगायतका १७ वटा सामग्रीहरु कृषकहरुलाई हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख सिर्जना खनालले जानकारी दिए ।

युएनडिपीको सहयोग र सेतो गुराँस बाल बिकास सेवा रुपन्देहीको संयोजनमा नगरपालिकाले वितरण गरेको मौरी घारले कृषकहरुलाई थप हौसला र प्रोत्साहन मिल्ने कार्यकारी निर्देशक सुमित्रा शर्माले बताइन् । शर्माले व्यवसायिक मौरी पालनका लागि आउँदो पुषमा प्राविधिक तालिम प्रदान गरी मागका आधारमा फेरी अनुदान उपलब्ध गराइने जानकारी दिइन् ।

माहुरी स्रोत केन्द्र सञ्चालनका अध्यक्ष लेखनाथ न्यौपानले नगरपालिकाले प्रदान गरेको घारले मौरी पालन व्यवसाय गर्न थप हौसला मिलेको धारण राखे । मौरी पालन कृषकसमेत रहेका वडा नं.४ का न्यौपानेले २५ वटा घारमा मौरीको व्यवसाय गर्दै आएका छन् । त्यस्तै करिब ४ वर्षदेखि ६५ वटा घारमा मौरी पालन व्यवसाय गर्दै आएका वडा नं.५ का ठाकुरप्रसाद चालिसेले नगरमा चरन क्षेत्रको अभाव रहेकोले त्यस तर्फ पनि नगरपालिकाले ध्यान दिन जरुरी रहेको औल्याए । नगरमा रहेका मौरी पालक कृषकहरुले आवश्यक प्राविधिक तालिमको समेत माग गरेका छन् । माहुरी स्रोत केन्द्र सञ्चालनले आगामी वर्ष २० टन देखि ३० टनसम्म मह उत्पादन गर्ने लक्ष्य लिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।