ताजा अपडेट »

जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित, लेखाशाखाले आलटाल गरेको आरोप

शुक्रबार, १६ असोज २०७७, १५ : ४२
4 Shares

परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । जोखिम भत्ता नपाएको भन्दै आज उनीहरुले एक दिन गाउँपालिकाभर स्वास्थ्य सेवा ठप्प पारे ।

कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई क्रमशः १००, ५० र १० प्रतिशत जोखिम भत्ता दिने गाउँपालिकाको कार्यपालिका बैठकले निर्णय गरेको थियो । निर्णय भएपनि लामो समयदेखि भत्ता वितरणमा ढिलाई गरेकोले आन्दालित हुनुपरेको हरपुर स्वास्थ्य चौकीका ईन्चार्ज त्रिभुवन पटेलले बताए ।

गाउँपालिकाले आईसोलेसनमा बसेकालाई १०० प्रतिशत, क्वारेन्टिन र हेल्थ डेक्समा बस्नेलाई ५० प्रतिशत र स्वास्थ्य संस्थामा बसेकालाई दश प्रतिशतका दरले जोखिम भत्ता दिने निर्णय गरेको तर लेखा शाखाले वितरणमा आलटाल गरेको पटेलले बताए ।

लेखा अधिकृतले जोखिम भत्ता पाउने लिष्टमा आफ्नो नाम नभएको भन्दै भत्ता वितरण रोकेको पटेलको दाबी छ । लेखा अधिकृत शंकर पुरीको सरुवा भईसकेको तर कार्यपालिकाले निर्णय गरिसकेको जोखिम भत्ता वितरण नगरेको तथा अन्य हरहिसाव पनि नबुझाएकोले हिसाब नबुझाएसम्म र नयाँ लेखा अधिकृत नआएसम्म रमाना रोकिएकाको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता (दीपक)ले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने निर्णय गाउँपालिकाको कार्यपालिका बैठकबाट भईसकेको बताए । आफू सँधै स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने पक्षमा रहेको तर लेखा शाखाबाट रोकिएकोले आफूले सोमबारसम्ममा पहल गरेर भत्ता वितरण गर्ने बताए । स्वास्थ्यकर्मीहरुले भने सोमबारसम्म भत्ता नपाएमा चरणवद्ध आन्दोलन गर्ने बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।