ताजा अपडेट »

एकै घरका ६ टुहुरा बालिकाको अभिभावक बन्याे एसओएस बालग्राम

शुक्रबार, ०९ असोज २०७७, १४ : ४३
4 Shares

बैतडी । दशरथचन्द नगरपालिका– १० सत्पालीका एकै घरका छ टुहुरा बालिकाको एसओएस बालग्राम अभिभावक बनेको छ । तीन वर्षअघि बुबा गुमाएका र आमा पनि बेपत्ता भएपछि टुहुरा भएका ती बालिकाको जिम्मा एसओएस बालग्राम काभ्रेले लिएको हो ।

एसओएस बालग्रामका निर्देशक सुरेन्द्र अमगाईँसहितको टोली बैतडी पुगेर ती बालिकालाई जिम्मा लिएको दशरथचन्द नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताए । अढाइ वर्षदेखि ती बालिकाको खाना र बसोबास व्यवस्था नगरपालिकाले गर्दै आएको थियो ।

सत्पालीका १५ वर्षीय निलम, १३ वर्षीय इन्द्रा, १२ वर्षीय पार्वती, १० वर्षीय लक्ष्मी, सात वर्षीय विन्दु र पाँच वर्षीय माया लावडलाई पठनपाठनसहितको जिम्मा उक्त संस्थाले लिएको हो ।

बैतडीस्थित हनुमानध्वज गुल्मका सेनानी प्रवीन थापाले टुहुराको जिम्मा लिन आग्रह गरेपछि बालग्रामको टोली बैतडी पुगेर जिम्मा लिएको हो । ती बालिकालाई उनीहरुको कागजपत्रसहित दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा र प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले संयुक्तरुपमा बालग्रामका निर्देशक अमगाईँलाई हस्तान्तरण गरे ।

टुहुरा बालबालिकाको सहयोगका लागि विभिन्न ठाउँबाट रु एक लाख ३६ हजार रकम सङ्कलन भएको र त्यो रकम बैंक खातामा जम्मा गरिएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।