ताजा अपडेट »

परीक्षामा जुट्न थाले विश्वविद्यालय, घरबाटै परीक्षा लिने तयारी

मंगलबार, ०६ असोज २०७७, ०७ : ४७
8 Shares

काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित र कतिपय यसअघि स्थगित भएका परीक्षा सञ्चालनमा आउन थालेका हुन् । त्यस क्रममा स्नातक तथा स्नातकोत्तर तहको परीक्षालाई विश्वविद्यालयहरूले नियमित रूपमा सञ्चालन गर्न थालेका हुन् । विश्वविद्यालयहरूको यो तयारीसँगै विद्यार्थीले अब स्थगित परीक्षा दिने बाटो खुलेको छ ।

घरैबाट परीक्षा
यस क्रममा पूर्वाञ्चल विश्वविद्यालयले असोज दोस्रो साताबाट नियमिततर्फको स्नातक तथा स्नातकोत्तर तर्फको परीक्षा सञ्चालन गर्ने भएको छ । परीक्षा यस पटक अनलाइनबाट लिने गरी तय भएको विश्वविद्यालयका उपकुलपति प्रा।डा। यादवराज कोइरालाले जानकारी दिए । विश्वविद्यालयले यसलाई वैकल्पिक विधि अर्थात् निश्चित समयमा घरबाट दिने परीक्षाबाट लिने भएको हो । यो परीक्षा नियमिततर्फ सेमेस्टरमा अध्ययनरत विद्यार्थीका लागि मात्रै रहेको जनाइएको छ ।

विश्वविद्यालय तथा कलेजका कक्षाकोठामा पठनपाठन खोल्ने अनुमति हाल नभएकाले वैकल्पिक विधिबाट परीक्षा लिने निर्णय गरिएको जानकारी विश्वविद्यालयका अधिकारीहरूले दिएका छन् । विश्वविद्यालयले अनलाइनबाट परीक्षा लिँदा यसअघि कक्षा कोठामा दिएजतिकै समय विद्यार्थीलाई दिने जनाएको छ ।

नेसंविमा असोज १५ बाट
प्रविधिमा विद्यार्थीको पहुँच नभएपछि नेपाल संस्कृत विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिने निर्णय गरेको छ । विश्वविद्यालयले पहिलो चरणमा असोज १५ बाट आयुर्वेद स्नातक (बीएएमएस) तहको नियमित तथा पूरक तहका विद्यार्थीको परीक्षा लिने निधो गरेको छ । बीएएमएसतर्फ प्रथम, द्वितीय र तृतीय वर्षका विद्यार्थीको परीक्षा लिइने भएको हो ।

विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक माधव अधिकारीले क्याम्पस तथा विद्यार्थीसित सम्पर्क गर्दा भौतिक उपस्थितिमै सामाजिक दूरी कायम गरेर परीक्षा लिन सुझाव आएकाले त्यसअनुसार अगाडि बढ्न लागिएको जानकारी दिनुभयो । यसका साथै विश्वविद्यालयले अन्य तहका परीक्षाको तयारीसमेत अघि बढाएको जनाइएको छ । यस क्रममा मङ्सिरमा शास्त्री प्रथम, द्वितीय, तृतीयका विद्यार्थीको परीक्षा लिने निधो गरेको छ ।

काठमाडौँको वाल्मीकिमा सबैभन्दा धेरै विद्यार्थी रहेका र उपत्यकामा सङ्क्रमण बढेको अवस्थामा उक्त परीक्षा मङ्सिरमा लिने योजनामा विश्वविद्यालय पुगेको छ । शास्त्रीतर्फको विद्यार्थीको यो स्थगित परीक्षा हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।