ताजा अपडेट »

कर्मराजको कर्म : हत्केलामा माहुरी खेलाउँदै

सोमबार, ०८ भदौ २०७७, १८ : ४६
12 Shares

बुटवल । परिश्रमको उदाहरण दिँदा प्राय मानिस माहुरीलाई उच्चारण गर्ने प्रचलन छ । माहुरी यस्तो किरा हो जसले मेहनत गरेर तयार पारेको मह साच्चै सर्वोत्तम र सर्वगुणयूक्त हुन्छ । माहुरी र परिश्रम जनजिब्रोले प्रायवाचीकै रुपमा बुझ्ने गर्दछ । यस्तै प्रायवाची बन्ने यात्रामा जुटेका छन् २२ वर्षिय युवा कर्मराज रोकाया । सुदुर-पश्चिमको बझाङ जिल्लाका कर्मराज माहुरी पाल्नकै लागि रुपन्देही आई बसेका छन् । प्रदेश ५ को अस्थाई राजधानी रहेको बुटवल उपमहानगरपालिका-१३ नयाँ गाउँमा नयाँ जोश र जाँगरका साथ रोकायाले माहुरी पालन सुरु गरेका छन्।

विश्वव्यापी कोरोना महामारीका बीच लकडाउन र संक्रमण त्रासका कारण मुलुक आक्रान्त र अस्तव्यस्त भइरहेका बेला उनि भने दैनिक माहुरीसँगै दिन काट्ने गर्दछन् । हत्केलामा माहुरी खेलाउँदै गर्दा उनको जीवन रेखालाई माहुरीले पनि साँच्चै सर्वगुणयूक्त बनाउने गरी कोर्ने गरेका छन् । सुदुर-पश्चिमको विकट गाउँमा जन्मिएका कर्मराज उच्च शिक्षाका लागि संघीय राजधानी काठमाण्डौंमा २ वर्षबढी विताए । कर्मराजले कर्मको खोजी गर्दै कपिलवस्तुमा केही वर्ष माहुरीसँग रमाउन सिकेका थिए ।

बझाङको मष्टा गाउँपालिका-२ मा ४ भाई मध्येका जेठो सन्तानका रुपमा जन्मिएका कर्मराज उच्च शिक्षाका लागि देशको राजधानी काठमाण्डौं शहरमा बस्न घरको आर्थिक अवस्थाले त्यती सहज थिएन । जेठो सन्तान भएका कारण उनलाई आफ्नो खर्च जुटाउन मात्र होइन परिवारको खर्च जुटाउने जिम्मेवारी समेत थपिदै गएको थियो । वि.स. २०७२ सालमा राजधानी काठमाण्डौं छिरेका कर्मराजलाई आर्थिक जिम्मेवारी थपिँदै गएपछि उनले राजधानीमै एक जब सेन्टरमा काम गर्न थाले । कपिलवस्तुका अर्जुनप्रसाद पोखरेलले सञ्चालनमा ल्याएको जव सेन्टरमा मेहनत र इमान्दारीका साथ काम गरेपछि कर्मराजलाई जीवनको नयाँ ढोका खुलेको थियो । केटो मेहनेती र इमान्दार देखेपछि अर्जुनप्रसादले उनलाई यसरी जागिरे जिवन छाडेर माहुरी पालनमा लाग्न सल्लाह दिए ।

थोरै लगानीमा व्यवसायिक बन्न सकिने अर्जुनप्रसादको उपाय कर्मराजलाई पनि मन पर्यो । माहुरी पालन गर्ने भने पनि उनलाई यस सम्बन्धी कुनै जानकारी तथा ज्ञान थिएन । अर्जुनप्रसादले नै उनलाई चितवनमा सञ्चालन भएको एक हप्ते माहुरी पालन तालिममा सहभागी बनाए । २०७३ सालमा माहुरी पालन सम्बन्धि तालिम लिएपछि उनले सीपको प्रयोग कहाँ भनी भौतारिनु परेन । तालिम पश्चात अर्जुनप्रसादले कपिलवस्तुमा सञ्चालन गरेको माहुरी फार्ममा कर्मराजलाई काम गर्ने अवसर जुट्यो । अर्जुनको माहुरी फार्ममै कर्मराजले माहुरी सम्बन्धि ज्ञान र अनुभव प्राप्त गर्न सफल भए ।

केही वर्ष अर्जुनप्रसादकै माहुरी मार्फमा काम गरेपछि कर्मराजलाई स्वरोजगार र व्यवसायिक बन्ने आँट जाग्यो । अर्जुनप्रसादको फार्ममा काम गर्दा तलब स्वरुप पाउने पैसा थोरै-थोरै गरेर जोडेका कर्मराजले व्यवसायीक माहुरी पालनका लागि बुटवलको नयाँगाउँलाई रोजे । साढे एक कट्ठा जमिन लिजमा लिएर थोरै-थोरै गरी जोडेको २ लाख ५० हजारको लगानीमा ३५/४० घार माहुरीबाट उनले व्यवसायिक बन्न सुरु गरे ।

३५/४० घारबाट व्यवसायिक मौरी पालन सुरु गरेका कर्मराजको फर्ममा हाल १ सय २० घार रहेका छन् । माहुरी पालनबाट उनले घर खर्चलगायतका सबै व्यक्तिगत खर्च कटाएर वार्षिक ७ लाख बढी आम्दानी गर्ने गरेको उनले बताए । १९ वर्षको कलिलो उमेरमै विहे गरेका कर्मराजलाई उनको घरको आर्थिक अवस्था र माहुरीले मेहनती मात्र होइन कुसल अभिभावक समेत बन्न सिकाएको छ । व्यवसायीक सफलता प्राप्त गर्दै गएका कर्मराजले आफ्नै लगानीमा मह प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने तयारी समेत गरेका छन् ।

अढाई लाखबाट व्यवसाय सुरु गरेका कर्मराजको हाल २० लाख बढी लगानी पुगेको उनले बताए । व्यवसायलाई थप व्यवस्थित र विस्तारका लागि उनले हालै अर्का साथी रमेश केसीलाई समेत सामेल गरी भक्तपुरमा ५० घार माहुरी राखी काम सुरु गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।