ताजा अपडेट »

कोरोना संक्रमितको शवलाई जंगलमा गाडियो

सोमबार, २६ जेठ २०७७, १९ : ४५
4 Shares

दाङ । भारतको दिल्लीमा मृत्यु भएर दाङको घोराहीमा कोरोना संक्रमण पुष्टि भएका एक व्यक्तिको शवलाई घोराही उपमहानगरपालिका ३ कुइरेपानीको जंगलमा व्यवस्थापन गरिएको छ । हिजो मात्रै उनको कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन समितिको निर्णय अनुसार ती कोरोना संक्रमित व्यक्तिलाई दाहा सस्कार गर्नका लागि दाङमा विद्युतीय शवदाह गृह नभएपछि उनको शवलाई जंगलमा व्यवस्थापन गरिएको हो । कोरोना संक्रमित व्यक्तिको शवलाई व्यवस्थापन गर्न बनेको कार्यविधि अनुसार शवलाई घोराहीमा रहेको रिपुमर्दन गणको तालिम प्राप्त टोलीले आइतबार राती १२ बजेतिर खाडल खनेर गाडेको श्रोतले जानकारी दिएको छ । उनको शव व्यवस्थापन गर्नका लागि स्काभेटरले खाडल खनेको थियो ।

रोजगारीको सिलसिलामा भारतको दिल्ली गएको समयमा घोराही उपमहानगरपालिका १८ अम्वापुर निवासी करिव ४० वर्षीय व्यक्तिमा कोरोनाको संक्रमणका कारण चार दिन पहिले मृत्यु भएको थियो । दिल्लीमा मृत्यु भएका ती व्यक्तिको शव आइतबार दाङ ल्याइएको थियो । ती व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको हुन सक्ने आशकामा दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परिक्षण गर्दा कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो ।

उनी मजदुरीको सिलसिलामा भारतमा पुगेको र प्रेसर तथा दमको बिरामी भएको आफन्तले बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।