ताजा अपडेट »

कोरोना रोकथाम तथा नियन्त्रणका बारे मुख्यमन्त्री र स्थानीय तह तथा जिल्ला प्रमुख बीच भिडियो संवाद

शुक्रबार, २१ चैत्र २०७६, १८ : ३५
6 Shares

बुटवल । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयासका बारे आज माननीय मुख्यमन्त्री शंकर पोखरेलले रुकुम पूर्वका स्थानीय तहका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग एकीकृत भिडियो संवाद गरेका छन् । मुख्यमन्त्री ज्यू र स्थानीय तहका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीबीच कोरोना रोकथाम र नियन्त्रणका लागि अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल भएको हो । छलफलमा मुख्यमन्त्रीले मापदण्ड अनुसारका क्वारेन्टाइन निमार्ण गर्न, क्वारेनटाइनमा बसेकालाई गुणस्तरीय खानपिनको व्यवस्थापन गर्न र स्थानीयस्तरबाट प्राप्त सूचना प्रदेश र संघीय सरकारलाई उपलब्ध गराउन निर्देशन दिएका छन् । उनले राहत कोष निर्माण गर्न, दैनिक ज्यालादारी मजदुर र विपन्न समुदायको तथ्याङ्क संकलन गर्न, राहत एकद्धारबाट वितरण गर्न ध्यानाकर्षण गराए ।

स्थानीय तहका प्रमुख र प्रमुख जिल्ला अधिकारीले अहिलेसम्म गरेका कामबारे जानकारी गराए । उनीले भारत लगाएत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण गर्न थालेको जानकारी मुख्यमन्त्रीलाई गराए ।मुख्यमन्त्री पोखरेलले महामारी रोकथामका लागि स्थानीय तहको सक्रियता प्रशंसनीय रहेको बताउँदै स्थानीयस्तरमा खाद्यवस्तुको अवस्थाको जानकारी लिए । संवादमा पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष ओमप्रसाद घर्तीले गाउँपालिका खाद्यान्नमा आत्मनिर्भर रहेको बताए भने भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगर र सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले तत्काल समस्या नरहेपनि केही समयपछि समस्या आउन सक्ने बारे मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । मुख्यमन्त्रीले दाङ र बाँकेबाट खाद्यान्नको आपूर्तिको लागि आवश्यक व्यवस्था मिलाउने बताएका छन् ।

प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निर्माण गरी उपचारको व्यवस्था गरेकोले कोरोनाको कोही शंकास्पद बिरामी फेला पर्ने बित्तिकै अस्पताल पठाउन र त्यसका लागि प्रत्येक पालिकाका एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्न उनले आग्रह गरे । प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालले स्वास्थ्य सामग्रीको व्यवस्थापन अझै बढाउनुपर्ने र बाग्लुङबाट भूमे गाउँमा पूर्ण रुपमा आवतजावत रोक्न आवश्यक रहेकोले गृहमन्त्रालयलाई जानकारी गराएको बताए । प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यबाट प्रभावकारी बनाई कोरोना विरुद्धको लडाई जित्नको लागि यो भिडियो संवाद थालिएको हो । यस अघि उपमहानगरका प्रमुख र जिल्ला सदरमुकामका नगरपालिका प्रमुखसँग भिडियो संवाद भइसकेको मुख्यमन्त्रीका प्रेस सल्लाकार शेरबहादुर केसीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।