ताजा अपडेट »

मेलम्ची पछि तनहुँ हाइड्रोबाट पनि बाहिरियो सीएमसी

बुधबार, ०८ फागुन २०७५, ११ : ३३
46 Shares

फागुन ८,

काठमाडौँ । मेलम्ची खानेपानी आयोजना सम्पन्न नगर्दै काम छाडेको इटालियन निर्माण कम्पनी सीएमसीसँग तनहुँ हाइड्रोपावर लिमिटेडले पनि ठेक्का सम्झौता रद्द गरेको छ । साइटमा काम थाल्न २८ दिनको समय दिएर सूचना गर्दा पनि कम्पनी नआएपछि सम्झौता रद्द गरिएको लिमिटेडका प्रबन्ध निर्देशक प्रदीपकुमार थिकेले जानकारी दिनुभयो । लिमिटेडले मङ्गलबार टर्मिनेसन लेटर दिएको छ । 


मेलम्चीको शुरुङ निर्माणको काम छाडेपछि तनहुँ हाइड्रोपावरको काम पनि सीमसीले शुरु नगरेपछि सम्झौता रद्द गर्नु परेको हो । प्रबन्ध निर्देशक थिकेले भन्नुभयो, ‘सीएमसीसँगको सम्झौता आजबाट तोडिएको छ, पटकपटक आग्रह गर्दा र २८ दिनको म्यादसहितको सूचना गर्दा पनि सम्पर्कमा नआएपछि हामी रद्द गर्न बाध्य भएका हौँ, अब नयाँ प्रक्रियाबाट कम्पनी छनोट गरी काम अघि बढाउँछौँ । ’


हाइड्रोपावरको काम एसियाली विकास बैङ्क, जाइका लगायतका सहयागी संस्थाहरूसँगको छलफलपछि अघि बढाइने भएको छ । निर्देशक थिकेका अनुसार सीएमसीको कार्यसम्पादन जमानत जफत गर्न तयारी छ । सीएमसीले ठेक्का सम्झौता गर्दा एक अर्ब ९७ करोड रुपियाँ धरौटी राखेको छ ।


४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको नदी फर्काउने, बाँध निर्माण लगायतका पहिलो प्याकेजका संरचना (हेड वक्र्स) निर्माण गर्न सीएमसी छनोट भएको थियो । मेलम्चीको सुरुङ निर्माण गरिरहेको सीएमसीले बीचमै काम छाडेपछि तनहुँ जलविद्युत् आयोजनाको कामबाट पनि बाहिरिएको छ । कम्पनीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपियाँ (मूल्य अभिवृद्धि करसहित) मा सम्झौता भएको थियो । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड छनोट भइसकेको निर्देशक थिकेले बताउनुभयो । 


सन् २०२३ डिसेम्बरसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । तर, सीएमसीका कारण आयोजना समयमै सक्न कठिन हुने देखिएको छ । आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख छ । जसमा एसियाली विकास बैङ्कले अमेरिकी डलर १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अमेरिकी डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैङ्क 
(ईआईबी) ले अमेरिकी डलर ८५ मिलियन र नेपाल विद्युत् प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन सहयोग रहेको छ । 


तनहुँबाट प्राप्त समाचार अनुसार सीएमसीले काम गर्दा आयोजना नै नबन्ने हो कि भनी तनहुँवासी सशङ्कित थिए । सीएमसीसँगको ठेक्का सम्झौता रद्द भएपछि जिल्लावासी ढुक्क भएका छन् । सीएमसीसँग ठेक्का रद्द भएकोले काममा ढिलाइ नगर्न जिल्लावासीले आग्रह गरेका छन् । दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले महेशले बेइमानी गरिसकेको कम्पनी सीएमसी काममा नफर्किँदा जिल्लावासीलाई राम्रो भएको बताउनुभयो ।

‘दाग लागिसकेको, डुबिसकेको कम्पनी काममा फर्कँदा मेलम्चीजस्तै तनहुँ जलविद्युत्मा पनि काममा धोका दिने डर थियो त्यो टरेको छ,’ क्याम्पस प्रमुख हड्खलेले भन्नुभयो । 
क्याम्पस प्रमुख हड्खले जलविद्युत् आयोजना तनहुँको सपनासँग जोडिएको आयोजना भएकोले तुरुन्त नयाँ टेन्डर गरी काम दु्रत रूपमा काम अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो । -
लक्ष्मण दर्नाल/तनहुँबाट अमरराज नहर्की /गेरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।