ताजा अपडेट »

पुस्तक संकलन गरी विद्यार्थीले गरे मेला

विहीबार, ०३ फागुन २०८०, १३ : ३९
66 Shares

भैरहवा। रुपन्देहीको मायादेवी–४ मा अवस्थित लुम्बिनी शिक्षा निकेतनका विद्यार्थीहरुले पुस्तक मेला लगाएका छन् । सरस्वती पूजाको अवसर पारेर कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले एक विद्यार्थी एक पुस्तक संकलन गरी विद्यालय परिसरमा पुस्तक प्रदर्शन गरेका हुन् । 

सौद्धान्तिकभन्दा पनि अन्य पुस्तकहरु पढ्नमा प्रेरित गर्न, अतिरिक्त पुस्तकहरुको पढ्ने बानीको विकास गर्न र पछिल्लो समय विद्यार्थीहरुमा पुस्तकप्रतिको रुची घट्दो अवस्थामा पुस्तक मेलाले विद्यार्थीहरुमा पढाइप्रति रुची अभिबृद्धि गर्ने विश्वासका साथ विद्यार्थीहरुकै सक्रियतामा पुस्तक मेला आयोजना गरिएको हो ।

विद्यार्थीहरुले ल्याएका साहित्य, सास्कृतिक, धार्मिक र ऐतिहासिक लगायतका विभिन्न विधाका पुस्तकहरु विद्यालयले संग्रह बनाई पुस्तकालयमा राख्ने विद्यालयका प्रबन्ध निर्देशक पिताम्बर न्यौपानेले जानकारी दिए । अभिभावक, शिक्षक तथा विद्यार्थीहरुलाई उपयोगी सबै उमेरलाई सुहाउने प्रकारको उपयोगी पुस्तक मेलाका लागि संकलन भएको छ । ऐतिहासिहक पुस्तकहरु पनि विद्यार्थीहरुले संग्रहको रुपमा ल्याएका छन संकलित सबै पुस्तकहरु विद्यालयले सम्पतिको रुपमा राखी दर्ता र नामाकरण गरी संरक्षण गर्ने छ । विद्यार्थीहरुले खाली समयको सदुपयोग गर्ने, सैधान्तिक शिक्षा भन्दा बाहिरका विषयबस्तुको ज्ञान बढाउन र अभिभावकहरुले पनि अध्ययन गर्न पाउने छन् ।    

कोर्स बाहिरका किताबले सिकाइमा अहम भुमिका खेल्ने र यी पुस्तकले अध्यापनलाई सजिलो बनाउने विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गोविन्द ज्ञवालीले बताए । मेलाले विद्यार्थीको पठन संस्कृति विकास हुने पुस्तकबाट बढी भन्दा बढी फाइदा लिन सक्नु पर्ने अध्यक्ष ज्ञवालीले भने । मेला पश्चात संकलित पुस्तक विद्यार्थी, अभिभावकहरुले सहजै पढ्न पाउने व्यवस्था विद्यालयले मिलाउने र थप पुस्तकहरुको संग्रह बढाउदै लैजानेछ । पुस्तकालयले विद्यार्थीलाई पाठ्यपुस्तकसहित बाहिरी ज्ञान लिन सजिलो हुने अध्यक्ष ज्ञवालीले भने ।

विद्यालयले शैक्षिक क्रियाकलापसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिदै विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने गरेको छ ।  लुम्बिनी शिक्षा निकेतन बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको उत्कृष्ट विद्यालयको रुपमा रहेको छ । ९ सय बढि विद्यार्थी रहेको विद्यालयमा बालविकास देखि कक्षा १० सम्मको अध्यापन हुने गरेकोमा कक्षा ११ र १२ संचालनको लागि पालिकामा निवेदन दिएको छ ।

यस्तै श्रीपञ्चमी अर्थात सरस्वती पुजाको अवसरमा भैरहवा लागयत शैक्षिक संस्थाले सामुहिक पूजापाठ गरेका छन् । अधिकांस शैक्षिक संस्थाले पुजाको अवसर पारेर नि:शुल्क भर्ना लगायतका सुविधा दिइ सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वती माताको पूजा, भक्ती अनि आराधना गराउँदै साना साना भाइबहिनीहरुलाई अक्षराम्भ गर्दै सरस्वती पूजा मनाएका छन् । 

विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आआफ्ना कलासाधनाका उपादानहरु कापी, कलम, वाद्ययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गरेका छन् । यही दिन बालबालिकालाई अक्षर आरम्भगराउने सर्वोत्तम दिन मानेर पठनपठन पनि सुरु गराउने गरिन्छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने गरिन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने, विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने र आजैको दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।