ताजा अपडेट »

दाङको पातुखोला किनारस्थित अटोभिलेजमा व्यवसायीको गुनासै-गुनासा

विहीबार, ०८ चैत्र २०८०, ०७ : ५५
104 Shares

दाङ । करिब १० करोडको लगानीमा तुलसीपुर उपमहानगरपालिका ६ र ९ वडामा पर्ने पातुखोलामा नमुना अटोभिलेज बनेको बन्यो । २०७५ सालदेखि सञ्चालनमा आएको अटोभिलेजमा बर्खामा हिलो र हिउँदमा धुलोले गर्दा व्यवसायीदेखि सेवाग्राहीले सास्ती पाएका छन्, भने पातुखोला किनारमा रहेका अटोभिलेजलाई बर्खामा बाढीले बगाउला भन्ने डर समेत रहेको छ । तुलसीपुर उपमहानगरपालिका ६ र ९ वडामा पर्ने  पातुखोला किनारामा अतिक्रमण भएको क्षेत्रलाई अटोभिलेज बनाइएको हो । 

अटोभिलेजमा करिब १५० व्यवसायी छन् भने सयौँले रोजगारी पाएका छन् । विगत एक वर्षदेखि व्यवसाय गर्दै आएकी ध्रुबा शर्माले बर्खामा हिलो र हिउँदमा धुलोले गर्दा निकै समस्या हुने बताइन् । हिजो आज धुलो आएर पसलमा बस्न नसकिने र बर्खामा हिलोको उत्तिकै समस्या हुने उनको भनाइ छ । उनले भनिन्, ‘मास्क नलगाएर पसलमा बस्न सकिँदैन । एक दिन मास्क नलगाए बिरामी भइन्छ । हामी निकै समस्यामा परेका छौँ । हिउँदमा धुलो र बर्खामा हिलोको उत्तिकै समस्या छ । यस समस्याको लागि स्थानीय सरकारसँग पटक पटक पहल भएको छ । तर, अहिलेसम्म कुनै सुनुवाइ भएको छैन ।’ उनका अनुसार पसल भएको भवन आफैले  बनाएको र उपमहानगरलाई जग्गा वापत मासिक रुपमा भाडा व्यवसायी बुझाउँदै आएका छन्  ।

यस्तै विगत ६ वर्षदेखि अटोभिलेजमा व्यवसाय गर्दै आएका अर्का व्यवसायी घनश्याम बस्नेतले पनि थुप्रै समस्याहरू भोग्दै आएको बताए । उनले समस्या नै समस्याले भरिएको अटोभिलेजमा पहिलो कुरा पातुखोलाको किनारमा हुँदा बर्खामा बाढी आए सबै बगाएर लैजाला भन्ने डर रहेको बताए । उनले भने, ‘यहाँ करिब ढेड सय व्यवसायीहरू रहेका छौँ । तर, हामीलाई तिन तहको सरकारले कुनै पनि मतलब गरेको छैन् । अटोभिलेज खोलाको किनारमा हुँदा बर्खामा समयमा हामी कसरी बच्ने भन्ने चिन्ता हुन्छ । अहिले हिउँदमा हिलो र धुलोको समस्या  उस्तै रहेको छ । यो समस्या हामीले यो सञ्चालन भएदेखि भोग्दै आएका छौँ ।’

यस्तै उनले अटोभिलेज खोलाका दुई किनारमा हुँदा बर्खाको समय  पुल नहुँदा समस्या  हुने समेत बताए । यो समस्याको लागि अटोभिलेज समिति पटक पटक उपमहानगरपालिका र प्रदेश सरकारसँग गएको भएपनि अहिलेसम्म कुनै उपलब्धि नभएको उनको भनाई छ । उनले  भने, ‘हामी अटोभिलेजमा काम गर्नेहरू डाक्टर नै हौँ । मानिसहरू बिरामी भएपछि उपचार गर्न अस्पताल जाने गरेझैँ गाडीहरू बिरामी भएपछिउपचारको लागि आउने ठाउँ अटोभिलेज हो । तर, हामी अटोभिलेजका   डाक्टरहरूलाई राज्यले ध्यान दिँदैन ।’

उनले शहरलाई सुन्दर बनाउनको लागि आफूहरू खोलाको  किनारमा  आएर बसेको भन्दै राज्यले आफ्नो दायित्व पूरा नगर्दा धेरै समस्या भोगेको बताए । उनले पनि उपमहानगरलाई मासिक  रुपमा जग्गाको भाडा बुझाउँदै आएको बताए । शहरलाई व्यवस्थित गर्नको लागि अटोभिलेजको महत्व हुने  भएयता पनि राज्यले यसलाई बुझ्न नसकेको अर्का व्यवसायी यम प्रसाद भुसालले बताए । तुलसीपुरमा रहेको अटोभिलेजको दुरावस्था रहेको उनको भनाई छ । यसलाई राम्रो बनाउनको लागि आफूहरू लागि रहेको भन्दै त्यो व्यवसायीको बसमा नरहेको समेत उनले बताए ।  पातुखोलामा पुल नहुँदा बजार घुमेर आउनु पर्ने बाध्यता रहेको भन्दै उनले बर्खामा राती धेरै पानी परेमा धेरै चिन्ता हुने समेत बताए । यस्तै उनले राज्यले अब अटोभिलेजमा काम गर्ने मजदुरको सीपको विकास र भौतिक निर्माणमा ध्यान नदिए व्यवसायीहरू पलायन भएर जाने अवस्था आइरहेको बताए ।

अहिले करिब एक दर्जन व्यवसायीहरू पलायन भएको समेत उनको भनाई छ । उनले भने, ‘हामीले हाम्रो तर्फबाट व्यवस्थित र प्रदुषणरहित अटोभिलेज बनाउन खोजेका छौँ । तर, हाम्रो लागतले मात्र त्यो सम्भव छैन् । सञ्चालनमा आएको यति धेरै वर्ष हुँदा पनि अझै राज्यको आँखा पुगेको छैन् ।  करिब १० बिगाहा क्षेत्रमा रहेको अटोभिलेजमा पूर्वाधार विकासको लागि तिन वटै सरकारलाई पटक पटक आग्रह गर्दै आएको तुलसीपुर अटोभिलेज अध्यक्ष पदम पोख्रेल बताए । अतिक्रम भएको जग्गालाई व्यवसायीहरूको लगानीमा अटोभिलेज निर्माण भएता पनि राज्यले ध्यान नदिएको उनको भनाई छ । उनले भने, ‘हामीलाई मुख्य समस्या भनेको खोलाको वारिपारि अटोभिलेजहरु रहेका छन् । बर्खाको समयमा निकै समस्या हुन्छ । यहाँ पुलको आवश्यक छ । यसका लागि स्थानीय सरकार, प्रदेश सरकार हुँदै संघसम्म पनि पुगेका छौँ  । तर, अहिलेसम्म आश्वासन मात्र पाएका छौँ ।’ यस्तै हिलो,  धुलोको कारण सबैलाई समस्या भइरहेको उनको भनाई छ ।

यस्तै तुलसीपुर उपमहानगरका प्रवक्ता माधव वलीले व्यवसायी र उपमहानगर बीच सम्झौता भएको हुँदा अटोभिलेजलाई पब्लिक प्राइभेट पार्टनरसिप मोडेलबाट अगाडि बढाउन खोजेको बताए । उनले अटोभिलेज सञ्चालन गर्दा व्यवसायीहरूसँग सहमति भएको भन्दै उनले स्थानीय सरकारले  मात्र  लगानी गर्न नसक्ने भन्दै  पब्लिक प्राइभेट पार्टनरसिप मोडेलबाट अगाडि बढ्ने बताए । उनले भने, ‘व्यापारीहरूको पनि लगानी हुनु पर्ने र उपमहानगरले पनि आवश्यक परेको खण्डमा सहयोग गर्ने भन्ने सहमति रहेको छ ।’

सुमन केसी
लेखकको बारेमा
सुमन केसी