ताजा अपडेट »

पीएम कप : आर्मीले दियो सुदूरपश्चिमलाई २६३ को बलियो लक्ष्य

सोमबार, १५ माघ २०८०, १३ : ०८
60 Shares

काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत टियु क्रिकेट मैदानमा आज भएको खेलमा विभागीय टोली नेपाल आर्मीले सुदुरपश्चिम प्रदेश विरुद्ध बलियो योगफल खडा गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको आर्मी ४८ दशमलव ३ ओभरमा २६२ रन बनाउन सफल भएको हो ।

आर्मीका लागि कुशल मल्लले सर्वाधिक ७५ रन बनाए । उनी ६७ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै भोजराज भत्ताको बलमा आउट भएका थिए । ८८÷६ को अवस्थामा क्रिज पुगेका कुशलले सातौं विकेटका लागि बसिर अहमदसंग ११३ रनको साझेदारी गरे । बसिर ६३ बलमा ३६ रन बनाएर नरेन साउदको बलमा आउट भएका थिए ।

ओपनर इमरान शेखको इनिङ ९ रनको मात्र रहन पुग्यो । उनलाई पाचौं ओभरमा भोजराज भट्टले क्याच आउट गराए । भिम शार्की पनि २ रन मात्र बनाएर पेभेलियन फर्किए । आइतबार कर्णाली प्रदेश विरुद्ध शतक प्रहार गरेका कप्तान विनोद भण्डारीले आज २ रन मात्र बनाउन सके । भिम र विनोद दुवैलाई भोजराजले नै आउट गरेका थिए ।

त्यसपछि आउट हुने ओपनर सन्तोष कार्की थिए । २८ बलमा ५ चौकाको मद्दतमा ३० रन बनाएर उनी १०औ ओभरमा बिकास आग्रीको शिकार बने । विवेक यादव पनि ४ रन मात्र बनाएर नरेन साउदको बलमा बोल्ड आउट भए ।  मध्यक्रमका ब्याटर सन्दिप रजालीले ३७ रन बनाएर नरेनको बलमा आउट भए । उनले ४ चौका र १ छक्का प्रहार गरे ।     

शाहब आलमले २५ बलमा २१ रन बनाएर भोजराजकै बलमा क्याच आउट भए । सोमपाल कामी पनि ३४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३१ रन बनाएर उनकै बलमा आउट भए । सुदुरका लागि भोजराज भट्ट एक्लैले ६ विकेट लिए । उनले ९।३ ओभरमा १ मेडन सहित ६३ रन दिँदै ६ विकेट लिएका हुन् । यस्तै नरेन साउदले ९ ओभरमा ३६ रन दिँदै ३ विकेट लिए । अर्को एक विकेट बिकाश आग्रीले लिएका थिए ।   

आर्मी ७ खेलमा ५ जित सहित १० अंक बटुल्दै तालिकाको चौथो स्थानमा छ । सुदुरपश्चिम भने ६ खेलमा ४ जित सहित ८ अंक बटुल्दै पाचौं स्थानमा छ । दुवै टोलीलाई फाइनल सम्भावना कायम राख्न आज जित्ने पर्ने दवाब छ ।  

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।