ताजा अपडेट »

भिमसेन नेवाः समाजको आयोजनामा तिलोत्तमा नेवारी खाजा महोत्सव

सोमबार, १९ मंसिर २०७९, ११ : ४३
16 Shares

बुटवल । भिमसेन नेवाः समाज तिलोत्तमाले नेवारी खाजा महोत्सव गर्ने भएको छ । ‘योमरी पुन्ही’ को अवसरमा समाजले यही मंसिर २१ र २२ गते तिलोत्तमा नगरपालिका–३ स्थित शान्ति चोकमा नेवारी खाजा महोत्सव–२०७९ आयोजना गर्ने भएको हो ।

नेवारी जातिय संस्कृति, परम्परागत खानपानहरुको संरक्षण गर्ने उद्देश्यका साथ नेवारी खाजा महोत्सव आयोजना गरिएको समाजका सचिव सितुप्रसाद श्रेष्ठले जानकारी दिए । नेवारी खाजाको आनन्द लिन सबै नेवारी खाजाका पारखीहरु समाजका सचिव श्रेष्ठले अनुरोध समेत गरेका छन् ।

२ वर्ष अघि तिलोत्तमामा देशभरीबाट बसाँइसराई गरी आएका र विभिन्न पेशा व्यवसायमा यहाँ आवद्ध भएका नेवारीहरुको सक्रियतामा भिमसेन नेवाः समाजको स्थापना भएको थियो ।

के हो योमरी ?

य अर्थात मनपर्ने मरी अर्थात रोटि यवमरी' अपभ्रंश भएर योमरी भएको मात्र हो। 'योमरी पुन्ही' नेवार समुदायको विशेष पर्व हो।
योमरी चामलको पिठोबाट बनाइन्छ । जसमा चाकु र खुवा भित्र हालेर अण्डाकार रुपमा डल्लो बनाइएको हुन्छ ।

नयाँ बालिका रूपमा भित्र्याइएको नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको एक किसिमको परिकार योमरी बनाएर नेवार समुदायले योमरी पुन्ही मनाउँछन् ।अण्डाकार रूपमा बनाइएको पीठोको रोटीभित्र चाकु र तिलको मिश्रणले तयार पारिएको खुवा हालेर योमरी बनाइन्छ ।

पछिल्लो समय काठमाडौं उपत्यकासहित नेवार समुदाय भएका क्षेत्रमा योमरीको आर्कषण बढ्दै गएको छ । परम्परादेखि कृषि पेशा गर्दै आएको नेवार समुदायका ज्यापुहरु र योमरीको अन्योन्याश्रित सम्बन्ध रहँदै आएको छ ।

यो पर्वमा चामलको पीठो, चाकु, कालो तिलको योमरी बनाएर बेलुकी यस वर्ष भित्र्याएको अन्नबाली, भकारी पूजा गर्ने चलन छ । त्यस्तै, भकारी पूजा गर्दा चामलको पीठोको कुबेर, लक्ष्मी र गणेशको मूर्ति बनाएर पूजा गर्ने गरिन्छ ।

यो दिनलाई लक्ष्मीपूजाको रूपमा मनाउने गरिन्छ । यसरी पूजा गरेमा वर्षभरी अन्न अभाव नहुने जनविश्वास छ ।जाडोमा मास र चाकुलगायतका शरीरमा ताप बढाउने सामग्रीबाट रोटी बनाएर खाने पर्वका रूपमा यो पूर्णिमा मनाउने गरिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।