ताजा अपडेट »

कार्यदलद्वारा प्रतिवेदनको मस्यौदा तयार

शुक्रबार, २५ माघ २०७५, ०४ : ११
6 Shares

माघ २५

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले साङ्गठनिक एकीकरणका लागि गठन गरेको कार्यदलले प्रतिवेदनको मस्यौदा तयार गरेको छ ।कार्यदलले पुस मसान्तभित्र प्रतिवेदन बुझाउनुपर्ने ‘म्याण्डेट’ पाएको थियो तर माघ बित्न लाग्दा पनि बुझाउन सकेको छैन । माघ २१ गते बसेको पार्टी सचिवालयको बैठकले कार्यदलले गरेको काम जे–जस्तो अवस्थामा छ सोही अवस्थामा प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।
सोही निर्देशन अनुसार बिहीबार बसेको कार्यदलको बैठकमा प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिएको छ । कार्यदलका संयोजक एवं गृहमन्त्री रामबहादुर थापाले हालसम्म भएका छलफलबाट निस्केका निष्कर्षहरू समेटेर प्रतिवेदनको मस्यौदा बैठकमा प्रस्तुत गर्नुभयो । कार्यदलका सदस्य बेदुराम भुसालले भन्नुभयो, ‘‘हालसम्म कार्यदलले गरेका छलफल तथा बैठकमा उठेका विषयलाई आधार मानेर प्रतिवेदन तयार भएको छ । त्यसलाई अध्ययन गरेर टुङ्ग्याएपछि चाँडै नै प्रतिवेदन बुझाउनेछौँ ।’’ मस्यौदामा के उल्लेख छ त्यो कुरा उहाँले बताउन चाहनुभएन ।


गत जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएपछि तीन महिनाभित्र सम्पूर्ण तहको एकीकरण टुङ्गो लगाउने निर्णय भएको थियो । त्यसका लागि विभिन्न कार्यदल पनि बनाइएको थियो तर प्रदेश कमिटी बाहेक अरु कुनैको एकीकरण टुङ्गो लगाउन सकिएको छैन । त्यसपछि पुस १३ गते सम्पन्न स्थायी कमिटीको बैठकले गृहमन्त्री थापाको संयोजकत्वमा नौ सदस्यीय शक्तिशाली कार्यदल गठन गरेको थियो । सो कार्यदललाई सम्पूर्ण साङ्गठनिक एकीकरण टुङ्गो लगाउन स्थायी कमिटीको बैठकले ‘म्याण्डेट’ दिएको थियो ।


तल्लो तहका कमिटी, जनवर्गीय सङ्गठन, विभाग लगायतको एकीकरण टुङ्गो लगाउनुको साथै प्रदेश कमिटीमा देखिएको विवाद तथा पार्टीको विधानमा देखिएको त्रुटि लगायतको विषयमा अध्ययन गरी प्रतिवेदन तयार गरी सचिवालयमा बुझाउन स्थायी समितिको बैठकले ‘म्याण्डेट’ दिएको थियो तर पाएको म्याण्डेट अनुसार कार्यदलले काम गर्न सकेको छैन । कार्यदल गठन भएको ४० दिनमा आठवटा मात्र बैठक बसेको छ । 


कार्यदलमा रहेका मन्त्रीको कार्यव्यस्तताले बैठक बस्नमा ढिलाइ भएकाले तोकिएको समयमा काम सम्पन्न गर्न नसकिएको कार्यदलका एक सदस्यले बताउनुभयो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।